बुढीगंगाको मतगणना मुद्दा- सुनुवाइअघि जब कामु प्रधानन्यायाधीशको च्याम्बरमा महान्यायाधिवक्ता छिरे – Nepal Press

बुढीगंगाको मतगणना मुद्दा- सुनुवाइअघि जब कामु प्रधानन्यायाधीशको च्याम्बरमा महान्यायाधिवक्ता छिरे

काठमाडौं । देशका ७५३ स्थानीय तहमध्ये यस पटक सर्वाधिक चर्चामा रहेको बाजुराको बुढीगंगा नगरपालिकाको पुनः निर्वाचन कि मतगणना भन्ने विवादमा अन्ततः महान्यायाधिवक्ता खम्म खातीले सर्वोच्च अदालत र निर्वाचन आयोग दुवै संवैधानिक अंगलाई आफ्नो पक्षमा उभ्याउन सफल भएका छन् ।

बुढीगंगा नगरपालिकाको मेयरमा खम्क खातीका सहोदर दाजु रंगबहादुर खाती उम्मेदवार छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रंग खातीको अनुकूल निर्वाचन आयोगबाट निर्णय गराउन सफल भएका खातीले मंगलवार कामु प्रधान न्यायाधीश दीपक कुमार कार्कीलाई भेटेर निस्के लगत्तै सर्वोच्चबाट पनि सोही अनुरूपको आदेश आएको छ ।

मंगलवार कामु प्रधान न्यायाधीश कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासमा बुढीगंगाको मतगणना गर्न अन्तरिम आदेश माग गर्दै वडाध्यक्षका उम्मेदवार दलबहादुर साउदले दायर गरेको रिटमाथिको सुनुवाइ थियो ।

टि ब्रेकपछि सुनुवाइ हुने भनेर इजलासबाट बाहिरिएका प्रधान न्यायाधीशको कार्यकक्षमा महान्यायाधिवक्ता खाती छिरेपछि अन्य आदेश आउने आङ्कलन साउद पक्षका वकिलहरुले गरिसकेका थिए ।

नभन्दै टि ब्रेकपछि सो मुद्दाको सुनुवाइ गर्दै कार्कीले अन्तरिम आदेश जारी नहुने आदेश सुनाए । सुनुवाइको ठिक अघि मुद्दाका विपक्षी (झगडिया) रंग खातीका सहोदर भाइ महान्यायाधिवक्ता खम्क खाती कामु प्रधान न्यायाधीशको च्याम्बरमा पस्नु र लामो छलफलपछि उनको पक्षमा आदेश दिइनुलाई संयोग मात्र मान्न नसकिने वकिल समेत रहेका एमाले स्थायी कमिटी सदस्य तथा बाजुराका नेता कर्णबहादुर थापाले बताए ।

यो पनि पढ्नुहोस् : महान्यायाधिवक्तालाई स्पष्टीकरण माग्न आयोगको सिफारिस, दाजुलाई मेयर जिताउन पदको दुरुपयोग गरेको निष्कर्ष

खम्क खातीले बुढीगंगा नगरपालिकाको निर्वाचनकै दिन मतदान रद्द गर्न नसकेपछि मतदान केन्द्रबाट प्रहरी फिर्ता गराउनेदेखि पुनः मतदानको लागि जिल्ला सुरक्षा समितिलाई दबाब दिएको र पदीय दुरुपयोग गरेको प्रतिवेदन निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबरा नेतृत्वको छानबिन समितिले नै दिएको थियो ।

आयोगको टोलीले मतगणना गर्न सुझाव दिए पनि खम्म खातीमार्फत सरकारको दबाबमा आयोगले पुनः मतदानको निर्णय गरेको आरोप छ ।

निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दामा अदालतलाई समेत खातीले प्रभावित पारेको आरोप रिट निवेदकको छ । मुख्य निर्वाचन अधिकृतले बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदानको मिति तोकिसकेका छन् ।


प्रतिक्रिया

2 thoughts on “बुढीगंगाको मतगणना मुद्दा- सुनुवाइअघि जब कामु प्रधानन्यायाधीशको च्याम्बरमा महान्यायाधिवक्ता छिरे

  1. अपराधीहरूको comfortable government का अनुयायी जति सक्छौ ऐनकानुन मिचेर खाओ ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर