काठमाडौंमा दुई महिलालाई सहायक सीडीओको जिम्मेवारी – Nepal Press

काठमाडौंमा दुई महिलालाई सहायक सीडीओको जिम्मेवारी

काठमाडौं । काठमाडौं जिल्लाको प्रमुख प्रशासकीय अड्डाका रूपमा रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई जना महिलालाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

जिम्मेवारी पाउनेमा सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल र देवी पाण्डे रहेका छन् ।

खनाललाई सूचना अधिकारीको समेत जिम्मेवारी दिइएको छ । उनी प्रशासन शाखाको प्रमुख समेत हुन् । यस्तै पाण्डेलाई नागरिकता शाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

मोरङको विराटनगर महानगरपालिका ५ स्थायी घर भएकी सुप्रभा उपसचिव भएको करिब ७ वर्ष पुगिसकेको छ । उनी ९ महिनादेखि काठमाडाैंमै छिन् ।

उपसचिव नै हुँदा यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग विभाग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काम गरेको अनुभव छ ।

शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले निजामती सेवामा १२ वर्ष बिताइसकेकी छन् ।

यस्तै पाण्डेको स्थायी घर गुल्मीको गुल्मीदरवार गाउँपालिका वडा नम्बर ६ मा हो । राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणबाट काठमाडाै‌ं प्रशासनमा आएकी उनीसँग पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरेकाे अनुभव छ ।

२०६३ असोज ८ गते शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी पाण्डे शाखा अधिकृत हुँदा ५ वर्ष पर्यटन, नागरिक तथा उड्डयन मन्त्रालयमा काम गरेकी छन् ।

काठमाडौं उपत्यकामा रहेकी जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला प्रशासन कार्यालय भक्तपुरमा भने सहायक प्रमुख जिल्ला अधिकारी महिला छैनन् । यद्यपि भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी भने महिला रुद्रादेवी शर्मा रहेकी छन् ।


प्रतिक्रिया

One thought on “काठमाडौंमा दुई महिलालाई सहायक सीडीओको जिम्मेवारी

Leave a Reply to Digambar Amatya Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर