मोदीको आलोचना गर्ने पत्रकार पक्राउ, धार्मिक आस्थामाथि चोट पुर्‍याएको आरोप – Nepal Press

मोदीको आलोचना गर्ने पत्रकार पक्राउ, धार्मिक आस्थामाथि चोट पुर्‍याएको आरोप

काठमाडौं । भारतको प्रख्यात न्यूज फ्याक्ट चेकिङ्ग वेबसाइट ‘अल्ट न्यूज’ का संस्थापक पत्रकार मोहम्मद जुबैरलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचकको रूपमा चिनिएका जुबैरलाई सामाजिक सञ्जालमार्फत धार्मिक आस्थामाथि आघात पुर्‍याएको र घृणा फैलाएको आरोपमा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

जुबैरले हालै भारतीय जनता पार्टीकी प्रवक्ताले एउटा टेलिभिजन बहसमा पैगम्बर मोहम्मदलाई अपमान गरेको भनिएको विषयलाई प्रमुखताका साथ उठाएका थिए भने विश्वका विभिन्न देशले उक्त विषयमा आपत्ति जनाउनका निमित्त उनको ट्वीटको पनि मुख्य भूमिका रहेको जनाइएको थियो ।

उनीद्वारा सञ्चालित वेबसाइट अल्ट न्यूजले भारतमा मिथ्या सूचना र समाचारलाई नियन्त्रण गर्न प्रभावशाली भूमिका खेल्दै आएको छ । अल्ट न्यूजका सूचनालाई उनले आफ्नो ट्वीटरमार्फत पनि सेयर गर्ने गरेका छन् । बीबीसीका अनुसार केही सातायता हिन्दू राष्ट्रवादीहरूले जुबैरले विगतमा व्यक्त गरेका प्रतिक्रियाहरूप्रति ध्यानाकर्षण गराउँदै आएका थिए र आफ्नो धार्मिक आस्थामा ठेस पुर्‍याएको भन्दै सरकारको निन्दा गरेका थिए ।

यता भारतका विपक्षी नेता तथा केही पत्रकारहरुले जुबैरको गिरफ्तारीलाई घृणा फैलाउने अभिव्यक्तिको विपक्षमा उभिएकाहरूलाई दमन गर्ने ‘हिन्दू राष्ट्रवादी सरकार’ को प्रयासका रूपमा व्याख्या गर्दै निन्दा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर