नयाँ दलको केन्द्रीय समितिमा बसेपछि वामदेवपत्नीको सांसद पद जोखिममा, एमालेले के गर्ला ? – Nepal Press

नयाँ दलको केन्द्रीय समितिमा बसेपछि वामदेवपत्नीको सांसद पद जोखिममा, एमालेले के गर्ला ?

काठमाडौं । पूर्वएमाले नेता वामदेव गौतमले नेकपा (एकता राष्ट्रिय अभियान) नामक नयाँ पार्टी घोषणा गर्दैछन् । आज एक कार्यक्रमकाबीच नयाँ पार्टीको घोषणा हुने कार्यक्रम रहेको जनाइएको छ ।

गौतम आफै संयोजक रहने गरी घोषणा हुन लागेको पार्टीमा ६९ जनाको केन्द्रीय समिति बनाउने भनिएको छ ।

त्यसका लागि ‘नेकपा एकता समन्वय समितिका सदस्यहरू’ भनेर ६८ जनाको नाम सार्वजनिक नै भइसकेको छ । जसमा गौतमको नाम पहिलो नम्बरमा छ भने, दोस्रो नम्बरमा गौतम पत्नि तुल्सी थापाको नाम समावेश छ ।

नेकपा एमाले विभाजन हुँदा नेता गौतम आफैँ कुनैपनि दलमा नलागेर नेकपा एकता अभियान चलाउने बताएका थिए । तर, गौतमपत्नि थापा भने हालसम्म पनि एमालेकै सांसद छन् । एमालेकै सांसद रहेकै अवस्थामा उनी नयाँ दर्ता हुन लागेको पार्टीको सदस्य हुनलाग्दा उनको सांसद पद भने असुरक्षित देखिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ मा दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको व्यक्तिले पदावधि रहेसम्म निर्वाचित भएको दल त्याग गर्न नसक्ने व्यवस्था गरेको छ । यदि दल त्याग गरेको अवस्थामा दल त्याग गरेकै मितिदेखि निर्वाचित भएको पद स्वतः रिक्त भएको मानिने व्यवस्था छ ।

दफा ३२ को उपदफा (१) को (ख) मा ‘निजले अर्को दलको सदस्यता लिएमा’ र (ग) मा ‘निज आफैँले वा निजसमेत संलग्न भई अर्को दल गठन गरेमा’ दल त्याग गरेको मानिने व्यवस्था गरिएको छ ।

यही व्यवस्थाअनुसार नयाँ गठित दलमा गौतमपत्नीको संलग्नता आधिकारिकरूपमा अगाडि बढे उनको सांसद पद जाने निश्चित देखिन्छ ।

उता नेकपा एमाले प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अहिले नै सांसद थापालाई आफ्नो पार्टीले नहटाउने बताए । उनले भने,‘अहिल्यै हटाउँदैनौं । अर्को दलको सदस्य देखिए स्पष्टीकरण भने सोध्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर