अन्योलमा अर्घाखाँचीको छत्रदेवको गाउँसभा – Nepal Press

अन्योलमा अर्घाखाँचीको छत्रदेवको गाउँसभा

रुपन्देही । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको गाउँसभा अन्योलमा परेको छ । नीति तथा कार्यक्रम र बजेट तथा विषयगत समितिमा अध्यक्षले एकलौटी गरेको भन्दै उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्यले विरोध गरेपछि गाउँसभा अन्योलमा परेको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष चन्द्रमान श्रेष्ठ र नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष मणि पन्थीबीच टकराब बढेपछि बहुमत कार्यपालिका सदस्यले गाउँसभा बहिस्कार गरेका थिए । जसले ६ दिनअघि रोकिएको गाउँसभा कहिले हुने भन्ने टुंगो लागेको छैन ।

गाउँसभामा एमालेको बहुमत भए पनि उपाध्यक्ष तथा अन्य कसैसँग सल्लाह नगरी अध्यक्षले एकलौटी गरेकाले यस्तो अवस्था आएको वडा नं ३ का अध्यक्ष तेजप्रसाद खनालले बताए ।

‘नीति तथा कार्यक्रम र बजेटमा विषयगत समितिको प्रसंग ल्याउनु आवश्यक नै थिएन, नीति तथा कार्यक्रममा पनि उपाध्यक्ष तथा अन्य कसैलाई सोधखोज नै गर्नुभएन । अध्यक्षले एक्लै हिंड्न खोजेका कारण यस्तो भयो । कार्यपालिकामा अल्पमतमा रहेको समयमा समन्वय खोज्न उहाँको कमजोरी भयो’, खनालले भने ।

उपाध्यक्ष पन्थीले अध्यक्ष श्रेष्ठसहितका कांग्रेस जनप्रतिनिधिले आफूहरूसँग कुनै छलफल, परामर्श नगरेकाले गाउँसभा बहिष्कार गरेको बताइन् । ‘नीति तथा कार्यक्रम तयारी र बजेट बनाउँदा पनि मलाई कुनै सोधखोज गर्ने काम भएन, यो मेरो अधिकारको विषय हो’, उनले भनिन्, ‘संयोजक तोक्दा छलफल हुनुपर्थ्यो, एकलौटी गरिएकाले बहिष्कार गर्नुपरेको हो ।’

उपाध्यक्ष पन्थीले आफूलाई नसोधी महत्वपूर्ण बजेट बाँडफाँट गरेकाले विरोध गरेको बताइन् ।

अध्यक्ष चन्द्रमान श्रेष्ठले कांग्रेसबाट निर्वाचित ६ नम्बर वडाका अध्यक्ष कमल पौडेललाई विकास समितिको संयोजक प्रस्ताव गरेपछि एमालेबाट निर्वाचित पालिका उपाध्यक्ष पन्थीसहितका जनप्रतिनिधिले विरोध जनाउँदै सभा बहिष्कार गरेका थिए ।

असार ९ र १० गते नीति कार्यक्रम र बजेट पेस गर्ने कार्यक्रम तय गरिएको थियो । कार्यपालिकामा एमालेको बहुमत भएकाले समितिको संयोजक पाउनुपर्ने उनीहरूको अडान छ ।

पालिका अध्यक्ष श्रेष्ठले समितिको संयोजक प्रस्ताव गर्ने अधिकार नियमतः आफूलाई भएकाले पौडेललाई सामाजिक विकास समिति र एमालेबाट निर्वाचित ३ नम्बर वडाका अध्यक्ष तेजप्रसाद खनाललाई आर्थिक समितिको संयोजक तोकेको बताए । पौडेल यसअघि पनि उक्त समितिका संयोजक थिए । खनाल पनि पुरानै हुन् । दुवै जना वडाध्यक्षमा दोहोरिएका हुन् ।

एमाले र कांग्रेसका नेताबीच बारम्बार छलफल र बैठक बसे पनि दुवै पक्षले अडान नछाड्दा सहमति जुट्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर