प्रचण्ड-बाबुरामलाई ‘गिज्याइरहेको’ कृष्ण सेनको घर – Nepal Press

प्रचण्ड-बाबुरामलाई ‘गिज्याइरहेको’ कृष्ण सेनको घर

दाङ । दाङ र अर्घाखाँचीको सीमा भालुवाङको पुलले छुट्याउँछ । भालुवाङको पुल कट्नेबित्तिकै उत्तरपट्टि अर्घाखाँचीको जलुकेमा एउटा भत्किएको घर देखिन्छ । देख्नेले सोच्छन्, ‘पुरानो घर भत्काएर घरधनी अन्तै बसाइ सरेछन् ।’

तर, सर्वसाधारणले सोचे जस्तो होइन यो घरको वास्तविकता । यो घर नेपालमा गणतन्त्र स्थापना गर्न प्राण आहुति दिने पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को हो । २०२४ सालदेखि सेन यही घरमा बस्दै आएको २०४८ सालमा उनीसँग बिहे गरेकी तक्मा केसी बताउँछिन् ।

जनताका पक्षमा लेख्दा तत्कालीन राज्यको ‘तारो’ बनेका उनको २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबमा यातना दिएर हत्या गरिएको थियो । सेनले पार्टी र देशका लागि ज्यान दिए । उनको मृत्युपश्चात देशमा उनले देखेको गणतन्त्रको सपना साकार भयो । तर, उनी नमारिँदै घर मर्मत गर्ने सपना भने अझै पूरा भएको छैन ।

उनी आवद्ध माओवादी पटक–पटक सत्तामा मात्रै गएन, तीन पटक सत्ताको नेतृत्वसमेत ग¥यो । ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेझैं ओझेलमा परेको सेनको घर मर्मतमा कसैको ध्यान गएन । अहिले मर्मत नै गर्न नमिल्ने गरी घर भग्नावशेष भइसकेको छ । एकतिरको चुली र झ्यालको चौकोसबाहेक अरु सबै गल्र्यामगुर्लुम ढलिसकेको छ ।

कृष्ण सेन गणतन्त्र प्राप्त गर्न लडेका सहिदमात्रै होइनन्, नेपाली पत्रकारिता र साहित्यका एउटा इतिहास पनि हुन् । उनको घरको संरक्षण गर्नु उनको रगतले लत्पतिएर आएको गणतन्त्रमा सत्ता चलाउने शासक र उनको घरपरिवारको दायित्व हो । तर, न राज्यले देखेको छ न त उनकी जीवनसंगिनी तक्मा केसीले नै ध्यान दिएकी छन् ।

साहित्यकार तथा पत्रकार सुशील गौतम सेनको घर पुनर्निर्माण गरी साहित्यिक संग्रहालय बनाउनुपर्ने धारणा राख्छन् । ‘माओवादी सरकारमा जानेबित्तिकै सेनको घरको मर्मत गरिनुपर्थ्यो’, गौतमले भने, ‘जंगलबाट शहर पसेका माओवादी नेतालाई सुखशयलमा भुलेर सेनको घरमा ध्यान दिन फुर्सद भएन ।’

सेनको घरको संरक्षण गर्ने पहिलो दायित्व माओवादीको भए पनि गणतन्त्रमा शासन गर्ने अन्य दलका नेता पनि यो दायित्वबाट पछि हट्न नमिल्ने गौतमको भनाइ छ । सेनको भग्न घरले खासगरी सशस्त्र युद्धका नेतृत्वकर्ता प्रचण्ड र माओवादीलाई गिज्याइरहेको गौतमको बुझाइ छ ।

हत्या हुँदा सेन माओवादीका उच्च तहका नेता थिए । पार्टीमा लागेकै कारण ज्यान गुमाए पनि पटक-पटक सत्तामा पुग्दासमेत माओवादीले सेनको घरको संरक्षणमा खासै ध्यान नदिएको सरकारी जागिरे रहेकी सेनकी श्रीमती तक्माको गुनासो छ । आफू दाङ काठमाडौं ओहोरदोहोर गर्दा भत्केको घर देखेर मन कटक्क खाने तक्मा बताउँछिन् । ‘एकपटक तारबार त ग¥यो पार्टीले’, तक्माले भनिन्, ‘त्यसपछि फर्केर कहिल्यै हेरेन ।’

सेनको घरको संरक्षण गर्ने जिम्मा परिवारको भन्दा पनि पार्टी र राज्यको भएको तक्माको भनाइ छ । ‘उहाँ परिवारका लागि लड्दा मारिनुभएको होइन’, उनले थपिन्, ‘पार्टी र देशका लागि बोल्दा मारिनु भएको हो । त्यसैले घरको संरक्षण गर्ने जिम्मा पार्टी र राज्यको हो ।’

सेनको परिवार २०५८ सालमा उनका भाइको मृत्यु भएसँगै यो घरमा बस्न छोडेको थियो । यदि कसैले घरको संरक्षण नगरे साढे तीनवर्षमा पेन्सन भएपछि आफैंले यो भग्नावशेष बनेको घरको पुनर्निर्माण गर्ने तक्माले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर