कांग्रेसले आफ्नो विचारको आधारमा शक्ति निर्माण गर्ने आत्मविश्वास गुमाइसक्यो : महासचिव पोखरेल – Nepal Press

कांग्रेसले आफ्नो विचारको आधारमा शक्ति निर्माण गर्ने आत्मविश्वास गुमाइसक्यो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले नेपालमा विकास र समृद्धिका लागि नीतिगत नेतृत्वको आवश्यक भएको बताएका छन् ।

प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘दुनियाँको राजनीतिक इतिहास पढ्दा प्रस्ट हुन्छ दलहरू मिलेर व्यवस्था बदलेका छन् । तर, दलहरू मिलेर राष्ट्र बनाएको कतै पाइँदैन,’ उनले भने, ‘हामी नेपालमा विकास र समृद्धिको कुरा गर्छौ भने त्यहाँ नीतिगत नेतृत्वको आवश्यक पर्छ । त्यसैले नेपाललाई विकास र समृद्धिकोको बाटोमा हिँडाउने हो भने राजनीतिक ध्रुविकरण आवश्यक छ ।’

उनले नेपालको राजनीतिमा अहिले दुई कित्तामा बाँडिएको सन्दर्भ पनि प्रस्तुत गरे ।

‘एउटा बुर्जुवा शक्तिले नेतृत्व गरेको पुँजिवादतर्फको कित्ता र अर्को वामपन्थी शक्तिले नेतृत्व गरेको समाजवादतर्फको कित्ता । अरू सबै विचार र श्रृखला भनेका त्यसैको वरिपरि छन्,’ पोखरेलले भने, ‘फरक विचारबिच ध्रुविकरण गर्ने हो भने यी दुई शक्तिबिचको ध्रुविकरण ऐतिहासिक आवश्यकता हो । जसले समृद्धिको नेतृत्व गर्न सक्छ ।’

यद्यपि, नेपाली कांग्रेस आफ्नो विचारको आधारमा शक्ति निर्माण गर्ने आत्मविश्वास गुमाइसकेको राजनीतिक दलका रूपमा रहेको भन्दै उनले आलोचना गरे ।

‘नेपाली काँग्रेस यति हतोत्साही र निराश छ कि ऊ गठबन्धन बाहेकको तरिकाबाट राजनीतिको नेतृत्व गर्न सकिन्न भन्छ,’ महासचिव पोखरेलले भने, ‘तर, गठबन्धनले नीतिगत विचलन पैदा गर्छ । गठबन्धनले राजनीतिक अस्थिरता पैदा गर्छ ।’

उनले कुनै दल मिलेर एमालेको त्यो यात्रालाई रोक्ने प्रयास गरे पनि मुलुकको समृद्धिको यात्रा यही बाटोबाट मात्रै सम्भव भएको प्रस्ट पारे ।

पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै मदन भण्डारी विद्रोही र वैचारिक नेता भएको बताए ।

नेतृत्वको होडवाजीमा नलागी मदन भण्डारीको पहलमा संयुक्त बाममोर्चा गठन गरी कम्युनिस्ट आन्दोलनलाई थप शक्तिशाली बनाएको पनि स्मरण गराए ।

त्यसै गरी सुधारिएको पञ्चायतको पक्षमा रहेका गिरिजाप्रसाद कोइरालालाई बहुदलीय व्यवस्थाको आकाक्षां जनताको आकाक्षां हो भन्दै भण्डारीले भित्री रूपमा विद्रोह गरेको र बहुदलीय व्यवस्था प्राप्त भएको पनि उनले स्मरण गराए ।

माले र माक्र्सवादीबीच एकता गर्दै दुई पुस्ताको राजनीति जोड्ने कामको अगुवाइ पनि मदनले नै गरेको उनले बताए । विकास र समृद्धि, परराष्ट्र नीतिमा पनि भण्डारीको दुरदृष्टि नीतिको प्रशंसा गरे ।

कार्यक्रममा सम्बोधन गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले विश्वबाटै कम्युनिस्ट व्यवस्था संकटको अवस्थामा गुज्रिरहेको बेला भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अघि बढाएको बताए ।

‘मदन भण्डारीले ४१ वर्षको युवा उमेरमै धेरै कुरा सम्पन्न गरेर हामीबाट बिदा हुनुभयो,’ उनले भने, ‘पार्टी नेतृत्वमा उहाँ जम्माजम्मी चार वर्ष मात्रै रहनुभयो । संसदीय राजनीतिमा उहाँ करिब २ वर्ष मात्रै रहनुभयो । तर, उहाँले छोटो समयमै नेपालको कम्युनिस्ट आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराउने काम गर्नुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर