गठबन्धनका शीर्ष नेतालाई शंकर पोखरेलका प्रश्नैप्रश्न- ८ खर्ब रुपैयाँ खोइ ? (भिडिओ) – Nepal Press

गठबन्धनका शीर्ष नेतालाई शंकर पोखरेलका प्रश्नैप्रश्न- ८ खर्ब रुपैयाँ खोइ ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुलाई एउटै मञ्चमा उभिएर मुलुकलाई संकटग्रस्त बनाउन गठबन्धनको वकालत गरिरहेको आरोप लगाएका छन् । गठबन्धनको उद्देश्य मुलुकलाई आर्थिक संकटबाट जोगाउनेभन्दा पनि एमालेलाई घेराबन्दीमा पार्नेमात्र रहेको दाबी पोखरेलले गरेका छन् ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले गठबन्धनका शीर्ष नेताहरुलाई पाँचवटा प्रश्नसमेत गरे । प्रचण्ड, रामचन्द्र पौडेल, झलनाथ खनाल, उपेन्द्र यादव र चित्रबहादुर केसीलाई प्रश्न गर्दै पोखरेलले गठबन्धन निरन्तर लैजानुपर्छ भन्नेहरुको उद्देश्य मुलुकलाई अझ कमजोर बनाउनेमात्र रहेको आरोप लगाए ।

पोखरेलले नेकपा एमालेले सत्ता छाडेको एक वर्षमा सोधनान्तर घाटाको तथ्यांक पेश गर्दै यसबाट उत्तर खोजिनुपर्ने बताए । महासचिव पोखरेलले एमालेले सत्ता छाड्दा ११ महिनाको लागि सञ्चिती रहेको विदेशी मुद्रा गठबन्धन सरकारले ९ महिनामै ६ महिनाको सञ्चितीमा झारेको आरोप लगाए ।

त्यस्तै महासचिव पोखरेलले कोभिड १९ को महामारी र लकडाउनको बेलामा जति पनि पूँजीगत खर्च पाँच दलको सरकारले गर्न नसकेको आरोप लगाए । यस कुराको जवाफ गठबन्धन दलले खोज्न जरुरी रहेको भन्दै पोखरेलले को सत्तामा पुग्ने भन्ने कुराले देश नबन्ने दाबी गरे ।

पोखरेलले भने, ‘सत्तादेखि सत्तासम्मको गोलचक्करबाट समाजवादका आधार निर्माण हुन सक्दैन । एउटा रोचक प्रसंग सुनाउँछु, कसले उत्तर दिने हो ? नेपाली पैसा कहाँ गयो, ८ खर्बका नोट राष्ट्र बैंकले जारी गरेको छ । तर, त्यो पैसा न बैंकमा छ न त बजारमा, कहाँ गयो त्यो ?
आज बैंकहरुले ठूला लगानीका परियोजनाका किस्ता दिइरहेका छैनन् । आर्थिक क्रियाकलाप अवरुद्ध भएको छ । यसको जवाफ छ ?’

बचतकर्ताले बैंकबाट आफ्नो पैसा निकाल्न सक्ने अवस्थासमेत नरहेको भन्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री पोखरेलले बजेट बनाउने वेला राजस्वका दर हेरफेर गर्न अवान्छित व्यक्तिसँग सौदाबाजी गरिएको आरोप लगाए ।

पोखरेलको प्रश्न थियो, ‘देशको अवस्था यस्तो छ । तर, हामी भन्दैछौं गठबन्धन जारी राख्नुपर्छ । यसैका लागि चाहिएको हो गठबन्धन ? यही अर्थतन्त्र कमजोर बनाउन गठबन्धनको पैरवी गर्दैर्छौं ? व्यापारिक पूँजीवादलाई प्रवर्द्धन गरेर स्वार्थसिद्धिका लागि अग्रसर बनाउँछौं भने यात्रा समाजवादको यही हो ?’

गठबन्धनको उद्देश्य नै गलत रहेकाले यसबाट कही पनि नपुगिने दाबी पोखरेलले गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर