किशोरीको पेटमा अड्किएको चम्चा नर्भिकका चिकित्सकले बिनाशल्यक्रिया निकाले – Nepal Press

किशोरीको पेटमा अड्किएको चम्चा नर्भिकका चिकित्सकले बिनाशल्यक्रिया निकाले

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन् ।

नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो ।

काठमाडौंकै एक १७ वर्षीया किशोरीले झुक्किएर चम्चा निलेपछि अस्पताल ल्याइएको थियो । निलेको चम्चालाई बिनाशल्यक्रिया र बिना कुनै चोट निकाल्ने सफलता प्राप्त भएको अस्पतालले जनाएको छ ।

चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल समस्या हो । यस्तो घटनामा अड्किएको चम्चालाई निकाल्न सामान्यतया शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

डा. कुँवर नेतृत्वको टिमले यसअघि बच्चाहरूले झुक्किएर निलेको सिक्का, पिन र ठूला मान्छेले झुक्किएर निल्दा अड्किएको हड्डी समेत बिना शल्यक्रिया नै निकाल्दै आएको छ ।

‘साइक्ट्रेकी इलनेश टाइपको बिरामीले पानी खाने क्रममा झुक्किएर चम्चा निलेको बताउनुभयो । तर, यस्तो बिरामीहरूलाई वाकवाक गरिरहन पर्ने र वाकवाकी गराउनका लागि चम्चा घाँटीतिर हाल्दा झुक्किएर निलेको देखिन्छ ।’

डा. कुँवरले भने, ‘आमाशयमा गएर अड्किएको रहेछ । आन्द्रातिर जान नपाएको अवस्थामा हामीले सुरक्षित ढंगले चम्चा निकालेका हौँ ।’

आमाशयमा अड्किएको चम्चा ४५ मिनेटको प्रयासमा बिनाशल्यक्रिया निकालिएको थियो ।

‘चम्चा निकाल्ने क्रममा कतै पनि कुनै चोट वा घाउसमेत लागेन,’ डा। कुँवरले भने, ‘हाम्रा लागि नयाँ सफलता र नयाँ अनुभव दिने घटना पनि हो यो ।’

आइतबार चम्चा निलेर आएकी बिरामीलाई रातभर अब्जरभेसनमा राखेर सबै अवस्था सामान्य देखिएपछि सोमबार बिहान डिस्चार्ज गरिसकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर