जीवनरामको जीवनयात्रा- वडाध्यक्षदेखि पर्यटनमन्त्रीसम्म – Nepal Press

जीवनरामको जीवनयात्रा- वडाध्यक्षदेखि पर्यटनमन्त्रीसम्म

काठमाडौं । जीवनराम श्रेष्ठको राष्ट्रिय पहिचान खेल क्षेत्रबाट भए पनि उनको राजनीतिक जीवन पनि कमजोर छैन । दुईपटक राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव र नेपाल ओलम्पिक कमिटीको अध्यक्ष भएका कारण उनी खेल क्षेत्रबाट स्थापित भए । तर, उनलाई खेल क्षेत्रमा स्थापित गर्न पनि राजनीतिकै देन छ ।

२०५४ सालमा तत्कालीन युवा तथा खेलकुदमन्त्री विष्णु पौडेलको पालामा उनी पहिलोपटक राखेपको सदस्य सचिव बनेपछि चर्चामा आए । तर, त्यसअघि नै उनी एक कार्यकाल जनप्रतिनिधिको भूमिकामा स्थापित भइसकेका थिए । केशव स्थापितपछि राखेपको सदस्य सचिवका रुपमा जीवनराम पनि निर्विवाद रुपमा सफल भए ।

पहिलो पुस्ताका सहाना प्रधान, अष्टलक्ष्मी शाक्यदेखि दोस्रो पुस्ताका राजेन्द्र श्रेष्ठ, केशव स्थापितलगायतका नेताहरुसँगै जीवनरामले काठमाडौंको नेवार समुदायबाट राजनीतिमा पाइला अघि बढाएका थिए । जुन बेला उनी राजनीतिमा होमिए, त्यो बेला निकै चुनौती थियो ।
२०२२ सालमा काठमाडौंको स्वयम्भूस्थित धिमेल्हो टोलमा जन्मिएका जीवनराम श्रेष्ठ २०३६ सालको विद्यार्थी आन्दोलनबाट अनेरास्ववियुमा जोडिएका हुन् । त्यसबेला उनी १४ वर्षका थिए ।

पद्मरत्न तुलाधर नेतृत्वको भाषा आन्दोलन (मंका खलः) को अभियानले उपत्यकावासीबीच जीवनराम चिनिएका थिए । उनी तत्कालीन मालेको १५ नं वडा सक्रिय दलको सचिवका रुपमा ०४३ सालबाट पार्टीमा जोडिए । २०४७ मा केपी ओली प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष हुँदा उनी त्यसको संस्थापक सदस्य भए । उनले युवा संघमा उपाध्यक्षसम्मको जिम्मेवारी बहन गरे ।

एमालेको जनसंगठनका रुपमा नेपाल खेलकुद महासंघ स्थापनामा उनको महत्वपूर्ण भूमिका थियो । उनले त्यसको इञ्चार्ज भएर काम गरे । २०४९ सालको स्थानीय निर्वाचनमा उनले वडा नं १५ काे अध्यक्ष जिते । जितेको वडामा त उनले काम गरे नै, छिमेकी वडा नं १३ का अध्यक्ष जीवन मानन्धर बिरामी हुँदा उक्त वडाको काम पनि उनैले सम्हाले ।

संयोग नै मान्नुपर्छ जीवनरामपछि १५ नम्बर वडाको अध्यक्ष बनेका ईश्वरमान डंगोल अहिले पनि निर्वाचित भएका छन् । नेकपा एसले काठमाडौं महानगरपालिकामा एकमात्र वडाध्यक्ष जित्दा जीवनरामकै वडामा जितेको छ ।

२०६३ सालमा उनी पुनः राष्ट्रिय खेलकूद परिषद्को सदस्य सचिव नियुक्त भए । १० वर्षदेखि हुन नसकेको बृहत पाँचौं राष्ट्रिय खेलकुद उनकै कार्यकालमा आयोजना भयो । अहिले पनि उनी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष हुन् ।

२०६४ सालमा अष्टलक्ष्मी शाक्यको चुनावी कमाण्डर बनेका श्रेष्ठ २०७० मा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार थिए । उनी नेपाली कांग्रेसका नवीन्द्रराज जोशीसँग पराजित भए । २०७४ सालको चुनावमा क्षेत्र नम्बर ८ मा वाम गठबन्धनबाट माओवादीले पाउने भनिए पनि अन्तिममा एमालेले पायो र श्रेष्ठ उम्मेदवार बनेर नवीन्द्रराजलाई पराजित गरे ।

उनी पार्टीभित्रको अन्तरसंघर्षमा एमालेमा पनि ओलीको विपक्षी खेमामा थिए । २०५४ सालमा नेकपा एमाले विभाजन हुँदा वामदेव गौतमसँगै मालेमा लागेका श्रेष्ठ पछिल्लो पटक एमाले विभाजन हुँदा माधव नेपालतिर लागे ।

एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका उनले नवौ‌ महाधिवेशनमा लोकप्रिय मत ल्याएर फेरि केन्द्रीय सदस्यको चुनाव जितेका थिए । अहिले नेकपा एसको सचिव र संसदीय दलमा प्रमुख सचेतकको जिम्मेवारीमा छन् ।

नेकपा एसको तर्फबाट संस्कृति पर्यटन तथा नगारिक उड्डयनमन्त्रीको जिम्मेवारी पाएका श्रेष्ठ खेलकुद पृष्ठभूमिको भए पनि पर्यटन क्षेत्रमा पनि उनको लगाव छ । विश्व सम्पदा सूचीका स्वयम्भूको काखमा जन्मिएर हुर्किएका श्रेष्ठले आफूलाई पर्यटनमन्त्रीका रुपमा कसरी स्थापित गर्छन्, अब उनी परीक्षणमा छन् ।


प्रतिक्रिया

2 thoughts on “जीवनरामको जीवनयात्रा- वडाध्यक्षदेखि पर्यटनमन्त्रीसम्म

  1. MCC को ओकालत गरेर देशलाइ घात गर्ने मान्छे

  2. ल ल ६ महिनाको म्यादी मन्त्री बन्नु भयेको छ। शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर