आफ्नो पर्फमेन्सलाई प्रेसरको रूपमा लिदिनँ : अस्मिना – Nepal Press
एसीसी महिला टी-२०

आफ्नो पर्फमेन्सलाई प्रेसरको रूपमा लिदिनँ : अस्मिना

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनल खेलमा यूएईविरुद्ध उत्कृष्ट बलिङ गरेपनि वर्षाका कारण खेल पूरा हुन नसक्दा नेपाल बाहिरियो । योसँगै नेपाल एसियन कप २०२३ का लागि छनोट हुनबाट वञ्चित भएको थियो ।

प्रतियोगिताको उत्कृष्ट बलर घोषित भएकी तीब्र गतिकी बलर अस्मिना कर्माचार्यले स्वदेश फर्किएपछि कुरा गर्दै आफ्नो पर्फमेन्स कहिलेपनि प्रेसरको रूपमा नलिने बताएकी छिन् ।

‘मैले कहिले पनि आफ्नो पर्फमेन्सलाई प्रेसरको रूपमा लिदिनँ किनकी यो मेरो दायित्व हो । त्यसलाई पूरा गरेर नै अगाडि बढ्ने छु । च्याम्पियनसिपको बारेमा समग्रमा हेर्दा मिक्स इमोसन छ हामी राम्रो खेल्दा खेल्दै पनि बाहिरियौं । तर, हामीले हाम्रोतर्फबाट सत प्रतिशत दिएका थियौँ,’ उनले भनिन् ।

निर्णायक खेलमा पाँच विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेकी अस्मिना पानी परेका कारण खेल पूरा हुन नसकेर नेपाल बाहिरिँदा रोएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

त्यो क्षणलाई व्याख्या गर्दै उनी भन्छिन्,‘राम्रो गर्दागर्दै पनि बाहिरिनु पर्दा धरै दु:ख लागेको थियो । विभिन्न कुराहरू मनमा खेलिरहेका थिए । आफूले आफैँलाई सम्हाल्नै सकिनँ ।’

अस्मिनाले यो प्रतियोगिताले भविष्यका लागि राम्रो गर्ने प्रेरणा मिलेको र धेरै आत्माविश्वास बढेको बताइन् । यस्तै, महिला क्रिकेटको स्तर अझ बढाउन युगान्डासँगको सिरिजपछि जसरी निरन्तर बन्द प्रशिक्षण भयो त्यसलाई कायम राख्न र पछिल्लो समय महिला क्रिकेटलाई दिइएको प्राथमिकतालाई निरन्तरता दिनुपर्ने उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *