नयाँ क्याबिनेटमा दुई मन्त्रीसहित दाङलाई ‘बोनस’, को हुन् मेटमणि र हिराचन्द्र ? – Nepal Press

नयाँ क्याबिनेटमा दुई मन्त्रीसहित दाङलाई ‘बोनस’, को हुन् मेटमणि र हिराचन्द्र ?

रुपन्देही । नेकपा एसले मन्त्री हेरफेर गर्दा दाङका दुईजनाले अवसर पाएका छन् । नेकपा एसका पोलिब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरी सहरी विकास मन्त्री बनेका छन् भने केन्द्रीय सदस्य हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री बने । नयाँ मन्त्रीहरूको सपथ आज हुँदैछ ।

चौधरी दाङको क्षेत्र नं १ बाट र केसी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

भर्खर सकिएको स्थानीय निर्वाचनमा जिल्लाका १० पालिका र १ सय वडामध्ये एक वडाअध्यक्ष र एक सदस्यमात्रै जितेको नेकपा एसलाई नयाँ यी दुई मन्त्रीका कारण आगामी चुनावी रणनीतिमा सहयोग पुग्ने सो पार्टीका स्थानीय नेता-कार्यकर्ताले आशा जनाएका छन् ।

को हुन् मेटमणि ?

एमालेभित्र अन्तरसंघर्ष चलिरहँदा अध्यक्ष केपी ओलीका कडा आलोचकका रूपमा चिनिएका दङ्गाली नेता हुन् मेटमणि चौधरी । नेकपा एसको पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष रहेका उनी यसअघि नै मन्त्री बन्ने करिब निश्चित भएपनि अन्तिम समयमा फालिएका थिए ।

दाङको गढवा गाउँमा भगवतीप्रसाद चौधरी र शिवरात्रिदेवी चौधरी दम्पतीबाट २०२९ चैत १० गते जन्मेका मेटमणिको राजनीतिक इतिहास संघर्षमय छ । २०५८ सालमा खुमाकुमारी चौधरीसँग प्रेम विवाह गरेका उनीहरू दुवै राजनीतिमै क्रियाशील छन् । राजनीतिक परिवारमा जन्मकाले उनको सानै उमेदेखि राजनीतिप्रति चासो रहेको थियो । बुबा पनि राजनीति लागेकोले सानैदेखि राजनीतिमा रुचि भएको उनले बताउँदै आएका छन् ।

मेटमणिको बुबा २०५१ सालको चुनावमा उम्मेदवार बनेका थिए । उनकी ठूलो दिदी दाङको गढवा गाउँपालिका निवर्तमान उपाध्यक्ष हुन् । अर्की दिदी पार्टीको शिक्षक सङ्गठनमा छन् । राजनीतिक र सामान्य परिवारमा हुर्केको उनको राजनीति यात्रा भने विद्यार्थी राजनीतिबाट २०४६ सालपछि मात्रै सुरू भएको हो । मेटमणि दाङ देउखुरीका स्थायी बासिन्दा हुन् । उनले अनेरास्ववियू छैटौँबाट राजनीति सुरू गरेपनि पछि प्रवेश गरे ।

अनेरास्ववियूको प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला सदस्य, अध्यक्ष, राप्ती अञ्चल कमिटीको सदस्य, कोषाध्यक्ष, सचिव, संयोजक र केन्द्रीय सदस्य बनेर उनले विद्यार्थी राजनीतिमा काम गरेका थिए । पार्टी राजनीतिमा नेकपा एमाले दाङ क्षेत्रीय कमिटी १ को सचिवको जिम्मेवारीबाट सुरू गरेका उनी क्षेत्रीय कमिटी सचिव, अध्यक्ष हुँदै २०५५ सालमा दाङ जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए । केन्द्रीय स्कुल विभागको सदस्य हुँदै पार्टीको नवौं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि दाङ जिल्लाको इन्चार्ज बनेका थिए । राजनीति यात्राकै क्रममा उनी २०५९ सालमा पक्राउ परेका थिए ।

नेपालमा रहेका तत्कालीन दुई ठूला कम्युनिष्ट पार्टीको एकता भएर बनेको नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर मेटमणिले काम गरे । सानैदेखि खरो स्वभावका उनी नेकपा विभाजनपश्चात एमालेमै रहेका थिए । तर, माधवकुमार नेपालले एमाले विभाजनपछि बनाएको नयाँ पार्टी नेकपा एसमा उनी रहे ।

२०७४ सालमा दाङ १ बाट करिब १४ हजार मतान्तरले प्रतिनिधिसभामा चौधरी निर्वाचित भएका हुन् ।

मानव अधिकार जागरण मञ्च दाङको संयोजक, कमैया मुक्ति समाजको केन्द्रीय सदस्य, थारु विद्यार्थी समितिको केन्द्रीय कोषाध्यक्ष, थारू कल्याणकारी संघको केन्द्रीय सदस्यलगायत जिल्लामा रहेका विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत संलग्न रहेर उनले काम गरेका छन् ।

अर्थशास्त्र र राजनीति शास्त्रमा एमए गरेका चौधरीले अहिले त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्दैरहेको उनको सचिवालयले जनाएको छ । चौधरीका १ श्रीमती १ छोरी र १ छोरा छन् ।

हिराचन्द्र केसीबारे संक्षिप्त जानकारी

नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका हिराचन्द्र केसी पनि दङ्गाली नै हुन् । दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले पनि यो पटक मन्त्री बन्ने अवसर पाएका छन् ।

गत निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री दीपक गिरीलाई पराजित गरेपछि उनी चर्चामा आएका थिए । ६ हजार ५ सय बढी मतान्तरले उनी विजयी भएका थिए । केसी एमालेको जिल्ला सचिवसमेत भए ।

युवा संघबाट राजनीतिमा आएका उनी दुई दशकयता निरन्तर एमालेमा रहेपनि एमाले विभाजनपछि नेकपा एसमा लागे । नेकपाभित्र विवाद बढ्दै जाँदा नेपाल पक्षमा रहेपनि उनले अन्तिम समयसम्म पार्टीभित्रै अन्तरसंघर्ष गर्नुपर्ने बताउँदै आएका थिए ।

दाङको तुल्सीपुर उपमहानगरपालिकाका ५ स्थायी बासिन्दा केसी प्ररायुसंघको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य, एमाले जिल्ला कमिटी सदस्य हुँदै विभाजनअघि जिल्ला सचिव बनेका हुन् । उनी तुलसीपुरका सुन व्यवसायीसमेत हुन् ।

क्षेत्र नं ३ मा नेतृत्वको खडेरी भएको बेला एमाले नेता शंकर पोखरेलले उनलाई ठाउँ दिएका थिए । केसी एमालेको जिल्ला सचिव हुँदा अध्यक्ष रहेका टिकाराम खड्का बल्ल तुल्सीपुरको मेयर बनेका छन् तर केसी संघीय संसद हुँदै मन्त्री बनेर फड्को मारेका छन् ।


प्रतिक्रिया

2 thoughts on “नयाँ क्याबिनेटमा दुई मन्त्रीसहित दाङलाई ‘बोनस’, को हुन् मेटमणि र हिराचन्द्र ?

  1. दाङकालाई मन्त्री बनाएर कमाउन दिने अनि कमाएकाे पैसा खर्च गराएर एमाले हराउने माकुनेकाे ईच्छा हाे । माकुने जस्ता गद्दारलाई पनि अझै नेता मान्ने ?

  2. ठिक कुरा। माकुने नेता हुने मान्छे नै होइन।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर