बुटवल उपमहानगरको निर्णयविरुद्ध व्यापार संघको आपत्ति – Nepal Press

बुटवल उपमहानगरको निर्णयविरुद्ध व्यापार संघको आपत्ति

रुपन्देही । बुटवलमा निर्माण सम्पन्न हुन लागेको राष्ट्रिय गौरवको आयोजना बुटवल मण्डपको नाम परिवर्तन गर्ने बुटवल उपमहानगरपालिकाको प्रस्तावप्रति रुपन्देही व्यापार संघले आपत्ति जनाएको छ ।

आइतबार बसेको संघको बैठकले बुटवल मण्डपको नाम परिवर्तन गर्ने उपमहानगरपालिकाको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नाम परिवर्तन गर्ने प्रस्ताव तत्काल फिर्ता लिएर सहकार्य र सामूहिक अपनत्वको संस्कृति अगाडि बढाउन आग्रह गर्ने गरेको अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए ।

उपमहानगरपालिकाको एघारौँ नगरसभामा प्रस्तुत तथा पारित नीति तथा कार्यक्रममा निर्माण सम्पन्न हुन लागेको यो आयोजनाको नाम परिवर्तन गर्ने प्रस्तावले आयोजनालाई अनावश्यक विवादमा तानेको संघका महासचिव दयानिधि भण्डारीले जनाएका छन् ।

संघको बैठकले यहाँका सबै व्यावसायिक संघसंस्था र दलहरूको संयुक्त प्रयासबाट सामूहिक सहकार्य र सबैको अपनत्व हुने गरी ऐतिहासिक नाममा मण्डपको नामाकरण गरी केन्द्रीय सरकारको लगानीमा निर्माण थालिएको अवस्थामा सामूहिक सहकार्यको संस्कृतिलाई भत्काउने गरी नगरसभाले नाम परिवर्तन गर्ने निर्णय गरेकोमा सम्पूर्ण व्यवसायीहरूको भावनामा चोट पुगेको ठहर गर्दै नाम परिवर्तन गर्ने प्रस्ताव तत्काल फिर्ता लिएर उपमहानगरपालिकालाई सहकार्य र सामूहिक अपनत्वको संस्कृति अगाडि बढाउन आग्रह गरेको छ ।

उपमहानगरपालिकाले यो आयोजनाको नाममा गिरिजाप्रसादको नाम जोडेपछि कांग्रेसका केही नेताकार्यकर्ताहरु बाहेक सबै क्षेत्रबाट यसको विरोध भएको छ ।

कांग्रेसबाट निर्वाचित नगर प्रमुख खेलराज पाण्डेले पार्टीभित्रै छलफल नगरी यो प्रस्ताव अगाडि लगेकाले पार्टीभित्रै आलोचना बढेको छ भने अन्य पार्टी तथा व्यावसायिक संघसंस्था सबैले सबैको अपनत्व भएको नाम फेरेर अनावश्यक विवादमा तानिएको बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर