१० महिनामा झाँक्रीका घाम छाया : दृढ कदम, उन्मुक्त हाँसो र विरक्त आँशु – Nepal Press

१० महिनामा झाँक्रीका घाम छाया : दृढ कदम, उन्मुक्त हाँसो र विरक्त आँशु

काठमाडौं । नेकपा एमालेको विभाजनका बेला एउटा तस्बिर आइकोनिक बनेको थियो । युवा नेतृ रामकुमारी झाँक्रीले वरिष्ठ नेता माधवकुमार नेपाललाई हातमै समातेर पार्टी दर्ताका लागि निर्वाचन आयोगतर्फ डोर्याएको दृष्य फोटोग्राफरले कैद गरेका थिए ।

उक्त तस्बिरको विभिन्न ढंगले व्याख्याहरू भए । झाँक्रीलाई समग्र युवापुस्ताको प्रतिनिधि मानियो, जसले हिम्मतसाथ पुरानो पुस्ताको नेतालाई दिशानिर्देश गरिरहेकी थिइन् ।

आलोचकहरूले चाहिँ नेपाललाई भड्खालोमा हाल्न रामकुमारीले प्रमुख भूमिका खेलेको अर्थमा उक्त तस्बिरलाई व्याख्या गरे । जे भए पनि यो दृश्यमा झाँक्रीको बोल्ड चरित्र नै झल्किएको थियो ।

झाँक्री तत्कालीन एमालेको तेस्रो पुस्ताकी नेता थिइन् । पार्टीमा उनीभन्दा सिनियर कयौँ नेताहरू छन् । तर, दोस्रो पुस्ताको अधिकांश नेताहरूले नेता नेपाललाई विभाजनमा साथ नदिएपछि झाँक्री फ्रन्टलाइनमा आइन् । उनी नेकपा एसको ‘कि फिगर’ बनिन् । पुरस्कार स्वरूप नेपालले पहिले पार्टीमा सचिव बनाए भने पछि मन्त्रीमा सिफारिस गरे ।

गत असोज २ गते शहरी विकासमन्त्री नियुक्त हुँदा औधी उत्साहित थिइन् झाँक्री । पदभार ग्रहण गर्दै गर्दा उनको अनुहारमा अनवरत हाँसो छाएको थियो । पहिलोपल्ट मन्त्री पदमा पुगेको खुसी र केही गरेर देखाउने अठोट देखिएको थियो, उनको अनुहारमा ।

शहरी विकास मन्त्रालयमा मन्त्री झाँक्रीको कार्यसम्पादन सन्तोषजनक नै थियो । पछिल्लोसमय काठमाडौंको फोहोर व्यवस्थापनमा मेयर बालेन्द्र साहसँग सहकार्य गरेर उनले आफ्नो लोकप्रियता बढाएकी थिइन् । तर, यहीबीचमा पदबाट हात धुनुपर्दा उनी मर्माहत बनेकी छन् ।

आज मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीको अर्को भावुक रूप देखियो । माधवकुमार नेपाललाई डोहोर्याएर पार्टी फुटाउने ‘साहसी’ झाँक्री आज निकै निर्बल र विक्षिप्त अवस्थामा प्रस्तुत भइन् ।

कार्यक्रममा सुरुदेखि उदास देखिएकी उनी आँशु लुकाउन सकिरहेकी थिइनन् । मन्तव्यका क्रममा त उनी बर्बरी आँशु खसालेर रोइन् । उनले पत्रकारको प्रश्नको राम्ररी जवाफसमेत दिन सकिनन् ।

मन्त्री पद आफैँमा एउटा शक्ति मात्र नभएर अवसर पनि हो । कुनै पनि राजनीतिज्ञको जीवनको अभीष्ट हो । मन्त्रीको कुर्सीमा पुगिसकेपछि कोही पनि हत्पत्ति ओर्लिन चाहँदैन । तर, यो पद कसैले पनि सँधैका लागि ओगट्न सक्दैन । मन्त्री झाँक्रीले यो यथार्थ नबुझेकी पक्कै होइनन् । तर, आफूले ‘राम्रो काम गर्दागर्दै अपमानजनक तरिकाले हटाइएको’ मा उनको चित्त दुखाइ देखिन्छ । त्योभन्दा पनि बढी जुन नेतालाई हातमा समातेर उनले पार्टी निर्माणमा डोर्‍याइन उनले नै आफूलाई मन्त्रीमा निरन्तरता दिन नचाहेकोमा झाँक्री प्रताडित बनेकी हुन सक्छिन् ।

मात्रै १० महिनाको अवधिमा रामकुमारी झाँक्रीको मनोदशामा आएको परिवर्तन तीन तस्बिरहरूले वर्णन गर्छन् । अघिल्लो तस्बिरमा उनी दृढ छिन् । फोकस्ड छिन् । दोस्रोमा उनी कमजोर छिन् । पिन्चे छिन् । विक्षिप्त छिन् ।

पत्रकार सम्मेलनमा झाँक्रीले एउटा प्रश्नको मात्रै खुलेर जवाफ दिन सकिन् । नेपाल प्रेसका संवाददाता केशव भुलले सोधेका थिए, ‘पार्टीले फिर्ता बोलाउँदा हस्ताक्षर अभियान चलाउनुभयो । आज के साइत आएर पत्रकार सम्मेलन गरेर राजीनामा दिनुपर्ने अवस्था आयो ?’

‘सम्हालिने प्रश्न गर्नुभयो’ भन्दै झाँक्रीले यस्तो जवाफ दिइन् ।

‘हामी पार्टीबाट निर्णय भएरै आएका थियौँ । साथीभाइहरूले ५–६ महिनाको काउन्ट डाउन सुरु गरेको थाहा भएपछि अध्यक्षलाई भेटेर मिडियाबाट थाहा पाउनुपर्‍यो भने रमाइलो हुँदैन, हामीलाई जानकारी गराए आफै वातावरण बनाएर छोड्छौँ भनेका थियौँ । चैततिरैको कुरा हो ।

एमसीसी फेल भए गठबन्धन के हुन्छ भन्ने स्ट्रेस थियो । केही मन्त्री बनाउने र बन्ने साथीहरूले शपथ खाएको कहिले हो रे भन्दै फोन गरे । असोज/कात्तिकतिर भनेपछि असोज कति गते भनेर सोधियो । २२ गते भन्नुपर्‍यो । अनि असोज, कात्तिक, मंसिर भनेर गनेको थाहा भएपछि काउन्ट डाउन सुरु गरेछन् भन्ने लाग्यो ।

यसबिचमा स्थानीय चुनाव भयो र बजेट आयो । अनि मेरो पार्टीले निर्वाचनको समीक्षा गर्न बैठक बोलाएको भनेर मिडियामा पढियो । तर, मन्त्री फेर्ने निर्णय भएछ । हामीलाई थाहै भएन । तर पनि बजेटमा आफ्नो कार्यक्रमको डिफेन्स गरेर छोड्छौँ भनेर आयौँ । त्यो कुरा प्रधानमन्त्रीलाई पनि भन्यौँ । बजेटसम्म डिफेन्स गर्न पाउने वा छाड्ने भन्दा प्रधानमन्त्रीले बजेटसम्म काम गर्नुस् भन्नुभयो । मुख्य सचिवलाई पनि वातावरण बनाउन निर्देशन दिनुभयो । त्यसपछि हामी काममा लाग्यौँ ।

मलाई अलिक धेरै रहर थियो आफूले गरेको कामको बारेमा व्याख्या गर्न संसद्मा । त्यसैले समय मागिएको हो । यो बीचमा अनेक अड्कलबाजीहरू भए । आज राष्ट्रियसभामा जवाफ दिएपछि साथीहरूलाई धन्यवाद भनेर हिँड्न चाहन्थेँ । त्यसैले प्रेसमिट आयोजना गरेका हौँ । भरे–भोलि मन्त्रीमण्डल पुनर्गठन होला । हामीले राजीनामा दिनुपर्दैन भन्नुभयो प्रधानमन्त्रीले ।’

राजनीतिको घामछायाँ यस्तै रहेछ रामकुमारी झाँक्री जी ।


प्रतिक्रिया

2 thoughts on “१० महिनामा झाँक्रीका घाम छाया : दृढ कदम, उन्मुक्त हाँसो र विरक्त आँशु

  1. नेपालको सम्प्रभुता परिभाषित गरेको, २४० वर्षको लिगेसी बोकेको राज्तन्त्रले केवल जनता र देशप्रति शुभेच्छा थियो र राजाले गद्दी छोडदा मुस्कुरायेर छोडेका थिय । न्युन सान्स्कृतिक चेतना भयेका र कपोलकल्पित नाराले जनतालाई बेवकुफ बनाउने नेताहरू पदछोडदा व्हा।।।।।।।वहाँ।।।।व्हा।।।।।गरेर रुन्दा रहेछन । वास्तवमा यिनिहरु निकृश्ट पशुहरु हुन।

  2. जस्ले जे भनुन यो कुरा मानुन या नमानुन झांक्री र आले मंत्री ले केहि गरेकै हुन, गर्न खोजेकै हुन। पहिले नै नपठाउनु थियो।नेताले पठाई हाले। बांकी ५-६महिनाको लागि फिर्ता नबोलाएको भए राम्रो हुन्थ्यो।काम गर्ने बाटो र सोचले पकड लिएको थियो। अहिलेका मन्त्रीहरु त मात्रै मंत्री को लागि मंत्री बन्नलाई मात्रै हो।

Leave a Reply to Tilak Bahadur subba Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर