दिक्दार छन् हुनेवाला मन्त्री : हट्नेवालासँग आँखा जुध्छ, बोलचाल हुँदैन – Nepal Press

दिक्दार छन् हुनेवाला मन्त्री : हट्नेवालासँग आँखा जुध्छ, बोलचाल हुँदैन

काठमाडौं । जब बिहान हुन्छ, तब हुनेवाला मन्त्रीका कार्यकर्ता, आफन्त र शुभचिन्तकले एउटै कुरा सोधिरहन्छन्, शपथ कति बजे हो ? २१ दिन भयो, मन्त्री नियुक्त हुने भनिएका नेकपा (एकीकृत समाजवादी) का चार नेताले यस्तो तनावपूर्ण समय बिताइरहेको ।

उक्त पार्टीले २२ जेठमा बहालवाला मन्त्रीलाई फिर्ता बोलाई तीन नयाँ र एक राज्यमन्त्रीलाई मन्त्री बनाउने निर्णय गरेको थियो । एक जनालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ ।

पार्टीले भवानी खापुङ स्वास्थ्य राज्यमन्त्रीबाट फुल मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रम, मेटमणि चौधरी सहरी र हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री हुने गरी सिफारिस गरेको थियो ।

राज्यमन्त्री बनाउने गरी पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई नाम बुझाउँदा हिराचन्द्र केसी दाङमा थिए ।

मन्त्री बन्ने खबर पाएको भोलिपल्टै काठमाडौं छिरेका उनी आज २१ दिनसम्म ‘अहिले होला’, ‘भरे होला’ भन्दै शपथ पर्खिरहेका छन् । त्यसो त मन्त्रीमा नाम सिफारिस नभए पनि सदन चलिरहेको कारण उनी काठमाडौं आउँथे नै, तर मन्त्री बनिहाल्ने कुराले जुन हतारोसाथ काठमाडौं छिरे, आएपछि तनावबाहेक केही पाएका छैनन् ।

फागुन २० मा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि आगामी संसदीय निर्वाचनको तयारीका लागि शेरबहादुर कुँवर प्रायः जिल्लामै हुन्थे । तर, स्थानीय निर्वाचन लगत्तै जिल्लामा बढी आयोजना र बजेट पार्ने लविङका लागि उनी काठमाडौं आइपुगेका थिए ।

अपेक्षा गरिएजति योजना र बजेट नपरेका कारण उनी निराश भएर अछाम फर्किने तयारी गर्दै थिए । तर, पार्टीको सचिवालय बैठकले मन्त्रीका रूपमा सिफारिस गरेपछि जहाजको टिकट बुक गरेका कुँवरले टिकट रद्द गरे ।

उता, कुँवर धनगढी ओर्लिएपछि अछाम जाने व्यवस्था मिलाउँदै थिए, स्वकीय सचिव विनोद धामी । तर, कुरा उल्टो भइदियो । स्वकीय सचिव भोलिपल्टै काठमाडौं आइपुगे, कुँवर यतै रहे । २१ दिन भयो, ‘अहिले’, ‘भरे’, ‘भोलि’ भन्दै तनावपूर्ण दिन बितेको ।

पर्यटन मन्त्रीमा सिफारिस भएका जीवनराम श्रेष्ठ अहिलेको तनावपूर्ण परिस्थितिलाई सामना गर्नुबाहेक अर्को विकल्प नभएको बताउँछन् । तर, यो घटनाले मान्छेहरू चिनाएको र कतिपयको अनुहार छर्लङ्ग भएको उनले बताए । ‘साथीहरू कस्ता रहेछन् भन्ने पनि चिन्न पाइयो’, उनले भने, ‘ठिकै छ, अब भरे, भोलि त भइहाल्ला (शपथ) ।’

नेपालको संसदीय इतिहासमा थुप्रै पटक अहिलेकोजस्तो साझेदारी सरकार बनेको, तर अहिलेजस्तो एउटा दलले फिर्ता बोलाएका आफ्ना मन्त्री फिर्ता नहुने र सिफारिस गरिएका नयाँ मन्त्रीको शपथ नगराउने घटना पहिलो भएको उनी बताउँछन् । ‘संसदीय व्यवस्था र गठबन्धन संस्कृतिको जुन मर्यादा एवं संस्कार हुनुपर्थ्यो, त्यस्तो भएन’, शपथ ढिला भएकोबारे उनले भने, ‘अरूलाई के भन्नु, हाम्रै साथीहरू (बहालवाला मन्त्री) का कुरा बुझ्न सकिएन ।’

‘आँखा जुध्यो, बोलचाल भएन’

बहालवाला सहरी विकास मन्त्री रामकुमारी झाँक्री र त्यही मन्त्रालयका हुनेवाला मन्त्री मेटमणि चौधरीबीच पार्टीको पोलिट्व्युरो बैठकमा भेट भयो । उनीहरूको आँखा जुध्यो, तर कुरा भएन ।

‘म के छ कमरेड भन्न खोज्दै थिएँ, उहाँले त वास्तै गर्नुभएन’, चौधरीले भने, ‘बोलेर के बिग्रिन्थ्यो र, आखिर हामी पार्टीले जे निर्णय गर्छ, त्यहीअनुसार चल्ने न हो ।’

रमाइलो छ, आलोक नगर

१० असारदेखि पार्टी केन्द्रीय कार्यालयमा चलेको स्थायी कमिटी, पोलिट्व्युरो र केन्द्रीय कमिटीका बैठकमा बहालवाला र हुनेवाला मन्त्रीबीच प्रशस्तै जम्काभेट भए । तर, एकापसमा राम्रो बोलचाल छैन ।

खासमा दुवै पक्ष तनावमा छन् । बहालवाला मन्त्रीहरू छाड्नुपर्ने कारण तनावमा छन् भने हुनेवाला मन्त्री कहिले हुने भन्ने तनावमा छन् । छाड्नुपर्नेहरु छाड्न नपरोस् भनेर दौडधुप गर्दैछन्, हुने भनी सिफारिस भएकाहरू पार्टी निर्णय कार्यान्वयन नभएकोमा आक्रोशित छन् ।

बहालवाला श्रम मन्त्री किसान श्रेष्ठसँग पार्टीको केन्द्रीय कमिटी बैठकमा भेट हुने अपेक्षा थियो, शेरबहादुर कुँवरको । तर, मन्त्री श्रेष्ठ उक्त बैठकमा गएनन् । ‘आउनुभएको भए भेट होला भन्ने लागेको थियो, तर नदेखेपछि मैले पनि सोधखोज गरिरहने कुरा भएन’, कुँवरले भने ।

हुनेवाला सबै मन्त्रीका सचिवालयहरू करिब करिब तयार भइसकेको छ । सबैका पुरानै स्वकीय सचिवहरू छन् । अहिले ती स्वकीय सचिवहरू नेताको फोनमा शपथबारे सोधिने जवाफ दिएर हैरान छन् ।

‘कुनै नयाँ नम्बरबाट फोन आयो कि राष्ट्रपति कार्यालयबाट पो हो कि भन्ने भइसक्यो’, पार्टी केन्द्रीय सचिवसमेत रहेका जीवनराम श्रेष्ठको सचिवालय सम्हालेका पूर्व पत्रकार भीमसेन राजवाहक भन्छन्, ‘फोन गर्नेलाई हुने निश्चित हो, कहिले भनेर नसोध्नुस् भन्ने गरेको छु ।’

हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङसँग अहिलेकै स्वकीय सचिव भक्त खड्का, मेटमणिका गौरव महरा, हिराचन्द्रका सन्तोष ओली, शेरबहादुरका विनोद धामीहरूको पीडा पनि उस्तै हो ।

‘बधाई दिनेहरूले दिइसके, अब शपथ लिएर बहाली हुन मात्रै बाँकी छ’, पार्टी कार्यालयमा भेटिएका एक जना हुनेवाला मन्त्रीले भने ‘मन्त्रालय, विभाग र विभिन्न निकायका कर्मचारीले बिहानैदेखि घर घेर्न थालिसके, तर शपथको अझै टुङ्गो भएन ।’


प्रतिक्रिया

2 thoughts on “दिक्दार छन् हुनेवाला मन्त्री : हट्नेवालासँग आँखा जुध्छ, बोलचाल हुँदैन

  1. किन पार्टी फुटाएका रहेछन् भनेर स्पष्ट भैहाल्याे नि । मन्त्री खान नपाउनेकाे र खाएकाहरूले छाेडनुपर्दाकाे पीडा देखाएबाट नै थाहा पाईयाे कि कुन हदसम्मका अनैतिक रहेछन् भनेर । उच्च नेता मन्त्री र राजनैतिक नियुक्ति सिफारिश गरेर कमाउने अरू मन्त्री भएर कमाउनेभन्दा बाहेक एसकाे कुनै उद्देश्य रहेनछ ।

  2. यिनिहरु जनताको भलाइको लागि होइन, केवल आफ्नो मोजमस्तिको लागी जनतालाई मुर्गा हानेर पदमा जाने पाखण्डी र न्यून कोटिका पशुहरु हुन।

Leave a Reply to झाङ्क्रीको भिनाजु Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर