पाकेको मासुभात यत्तिकै थियो कोठामा, दिलमायाको हत्या कि आत्महत्या ? – Nepal Press

पाकेको मासुभात यत्तिकै थियो कोठामा, दिलमायाको हत्या कि आत्महत्या ?

केही महिनाअघि टीका पुनलाई भिडिओ कल गरेर खाएकी थिइन् विष

काठमाडौं । पहिलो लकडाउन सुरु भएको केही महिना भइसकेको थियो, गायिका टीका पुनले स्टाटस लेख्दै कोरोना महामारीले संकटमा परेका कर्णाली क्षेत्रका कलाकारलाई सहयोग गर्ने इच्छा देखाइन् ।

त्यति बेला कर्णाली कलाकार समाजकी अध्यक्ष रहेकी पुनलाई कसैले दिलमाया सुनारको सम्पर्क नम्बर दिँदै उनी निकै अप्ठेरोमा रहेको बताए । दिलमायाको फेसबुक खोलेर हेर्दा मर्ने कुरा लेखेको देखेपछि टीकाले तत्कालै उनलाई फोन गरिन् ।

‘संयोग कस्तो भयो भने मैले फोन गर्दा उनी विष नै हातमा लिएर आत्महत्याका लागि तयार भएकी रहिछन् । मैले तिमीलाई जस्तोसुकै सहयोग गर्छु भनेपछि रोकिइन्,’ टीका सम्झिन्छिन् ।

त्यति बेला नयाँ बसपार्क क्षेत्रमा एक्लै डेरा लिएर बस्ने गरेकी दिलमाया खाना खान नपाएर ओछ्यानबाटै उठ्नै नसक्ने स्थितिमा रहेको टीकालाई पछि जानकारी भयो । त्यसपछि उनले चामलदेखि ग्याँस र पैसासम्म दिलमायालाई उपलब्ध गराइन् ।

एक दिन दिलमाया आफैँले टीकालाई फोन गरेर भेट्ने इच्छा व्यक्त गरिन् । टीकाले आफ्नै घरमा बोलाइन् । थापाथलीस्थित टीका बस्दै आएको ठाउँमा पुगेपछि दिलमायाले आफ्ना सारा वेदनाको पोको खोलिन् ।

टीकाका अनुसार दिलमायालाई पहिलो श्रीमानले कुटेका निशानाहरू खुट्टादेखि उनको शिरसम्मै देखिन्थे । केही महिना टीकाले दिलमायालाई आफ्नै घरमा राखिन् । बेला–बेला मात्र कोठामा जान्थिन् । तर एक्कासिटीकालाई छोडेर हिँडिन् दिलमाया । त्यसपछि उनको सम्पर्क पातलियो । तारकेश्वर–११ नेपालटारमा कोठा लिएर बस्न थालेको टीकाले सुनिन् ।

‘केही महिनाअघि मलाई भिडियो कल गर्दै उनले दिदीको अनुहार अन्तिम पटक हेर्ने भन्दै हातमा विषको बोतल देखाएर मोबाइल राखिन्,’ टीकाभन्छिन्, ‘नजिकै अर्जुन सुनाम दाजुको घर भएकाले मैले भाउजूलाई तत्कालै त्यहाँ जान भनेँ । कोठा पुग्दा दिलमायाले विष खाइसकेकी रहिछन्,।’ तत्कालै उनलाई ग्रीन सिटी अस्पताल पुर्‍याएर ज्यान बचाउन उनीहरू सफल भए ।

टीकाहरूको एउटा समूह छ, जसले महिनामा एक पटक लाइभ दोहोरी गर्छ । दिलमाया पनि यसकी सदस्य हुन् । दर्पण नामको उक्त लाइभ दोहोरीका लागि शनिवार बिहान बैठक बोलाइएको थियो । सबै जना बैठकमा उपस्थित भए । तर दिलमाया आइनन् । उनी नआएपछि उनले अघिल्लो साँझ लेखेको फेसबुक स्टाटसबारे चर्चा भयो ।

दिलमायालाई टिचिङ अस्पताल ल्याएका कलाकार प्रकाश केसीले भने, ‘उहाँले यस्ता निराशाजनक स्टाटसहरु लेखिरहनु हुन्थ्यो । त्यसैले उहाँलाई फोन लगाउँदै हामी आफ्नो काममा केन्द्रित भइरह्यौँ । तर लामो समयसम्म पनि फोन नउठेपछि अर्जुन सुनाम दाइको श्रीमतीलाई दिलमायाको कोठामा पुगेर हेर्न भन्यौँ । भाउजूले एक छिनमा कोठा खुल्लै रहेको र दिलमाया ओछ्यानमै लडिरहेको भन्दै आत्तिएर खबर गर्नुभयो ।

दिलमायाको घाँटीको अगाडिको भागमा नीलडामबाहेक कतै चोटपटक छैन । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेकोजस्तो देखिने अवस्था नरहेको प्रहरी अधिकारी बताउँछन् । न झुन्डिएको कतै संके‍त छ न त विषको बोतल नै भेटिएको छ ।

000

आइतबार दिउँसो टिचिङ अस्पतालको पोस्टमार्टम हुने ठाउँमा नेपाल प्रेसको टिम पुग्दा दिलमायाका आफन्त कोही पनि थिएनन् । भित्र उनको मृत शरीर लडिरहेको थियो । पोस्टमार्टम कहिले हुने निश्चित थिएन ।

‘उहाँहरूको आफन्त सुर्खेतबाट आउँदै हुनुहुन्छ । अहिले आफन्त भनेको हामी नै हौँ । बालाजु प्रहरी वृत्तबाट पत्र लगेपछि मात्र पोस्टमार्टम हुने रहेछ । अहिले हामी प्रहरीकहाँ जाँदै छौँ,’ टिचिङ अस्पतालमा पोस्टमार्टमका लागि शव दर्ताको बुक हेर्दा दिलमायाको सनाखत गर्ने प्रकाशले मोबाइल सम्पर्कमा भने ।

त्यसपछि हामी सोझै बालाजु प्रहरी वृत्त पुग्यौँ । प्रहरी कार्यालयमा भिडभाड थियो । कलाकार र युट्युबरहरु जम्मा भएका रहेछन् । शंकर बिसी, टीका पुन, कृष्ण कँडेललगायत कलाकारहरू थिए । अनुसन्धान के भइरहेको छ र आफन्त कति बेला काठमाडौं आइपुग्छन् भन्नेमा उनीहरूको चासो थियो ।

दिलमाया काठमाडौं पहिलो पटक कहिले आइन् भनेर यकिन कसैले भन्न सकेन । तर उनको पहिलो श्रीमानबाट १३ वर्षको छोरा रहेको नजिककालाई बताएकी थिइन् । पहिलो श्रीमानसँग सम्बन्ध बिग्रिएपछि उनको एक्लो संघर्ष सुरु भएको थियो । उनको श्रीमानले अर्को विवाह गरेर बसेका छन् ।

कुवेतमा दुई वर्ष र ओमानमा एक वर्ष रोजगारी गरेपछि दिलमायाले काठमाडौंमै बसेर कलाकार बन्न संघर्ष गर्ने निर्णय गरिन् । पोखरा दोहोरी साँझदेखि नयाँ बसपार्कका दोहोरी साँझसम्म दिलमायाले दोहोरी गाएको उनका निकटहरूलाई जानकारी छ । तर लकडाउन सुरु भएसँगै दोहोरी साँझहरू बन्दजस्तै भए । दिलमायाका अझ अँध्यारा रातहरू सुरु भए ।

‘दिलमाया जहिल्यै पनि छोराको कुरा गर्थी । उसलाई आमाले मान्छे मारेर जेलमा रहेको भनिएको रहेछ । थाहा पाउने भएपछि छोराले पनि दिलमायालाई आमाजस्तो व्यवहार नदेखाउने रहेछ’, दिलमायाको वेदना एक कलाकारले सुनाइन् । पछिल्लो समय छोराले आफूलाई बुबा र कान्छी आमाले राम्रो व्यवहार नगरेको बताउने गरेपछि दिलमाया उनलाई काठमाडौं ल्याउने योजनामा थिइन् ।

‘छोराको स्थिति बताएपछि मैले कक्षा १२ सम्मका लागि एउटा स्कुलमा कुरा गरिदिएको थिएँ । उनी छोरा लिन सुर्खेत गएकी पनि थिइन् । तर केही साताअघि एक्लै फर्किइन्,’ टीकाको भनाइ छ ।

चर्चित दोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले दिलमायाको दोहोरी आफूले दोहोर्‍याई तेहेर्याई सुनेको बताए ।

‘उनी निकै मिठो स्वर भएकी कलाकार थिइन् । टुबोर्ग दोहोरी प्रतियोगितामा उत्कृष्ट स्वरको अवार्ड पनि जितेको सुनेको थिएँ । इन्द्रेणीमा पनि आएकी थिइन् । दुई दिनअगाडि मात्र इन्द्रेणीमा फेरि आउनुपर्‍यो भन्दै फोन गरेकी थिइन्,’ उनले भने ।

तर कँडेलका अनुसार पछिल्लो एक वर्षयता उनी दोहोरी साँझहरूमा गाउन जान छाडेकी थिइन् । आफू पछिल्लो एक वर्षदेखि एक व्यक्तिसँग विवाह गरे जसरी बसिरहेको र ती पुरुषले दोहोरी साँझमा पनि जानु पर्दैन भनेको उनले नजिककालाई भन्थिन् । आफू अविवाहित रहेको भन्दै नजिकिएका ती व्यक्ति पछि विवाहित रहेको दिलमायालाई थाहा पाएपछि उनमा निराशा अझ बढेको थियो ।

ती व्यक्ति नियमित रूपमा आउने तर सँगै भने नबस्ने गरेको दिलमायाको गुनासो हुने गर्थ्यो । ‘श्रीमती मरेको र सानो छोरा मात्र भएकाले आफू जसरी पनि घर जानुपर्ने भन्दै गइहाल्ने गरेको,’ दिलमायाले सुनाउने गर्थिन् । सुर्खेतमा भएको छोरा पनि नल्याऊ भन्ने, आफूलाई पनि घर लिएर नजानेलगायतका व्यवहारका कारण दिलमायाको चिन्ता थप बढ्दो थियो । दिक्क बनेकी दिलमायाले फेरि विदेश जान्छु भन्दै एक महिना अघि मात्र विद्युतीय राहदानीसमेत बनाएकी थिइन् ।

दिलमायाले श्रीमान् बताउने ती पुरुष शुक्रवार साँझ उनको कोठामा आएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । श्रीमान् आएको भन्दै उनी मासु र मदिरा किन्न निस्किएकी थिइन् । राती दुवै जना कोठाबाट निस्किएको र केही बेरमा फेरि फर्किएको प्राविधिक अनुसन्धानबाट खुलेको छ ।

‘म राती १२ बजे नै त्यहाँबाट निस्किएको थिएँ,’ हाल प्रहरी नियन्त्रणमा रहेका ती व्यक्तिको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । सिन्धुपाल्चोक स्थायी घर भएका ती पुरुष काठमाडौंमा सुनको काम गर्दै आएको बुझिएको छ ।

‘कोठा खुलै थियो । रक्सीको बोतल नजिकै देखिन्छ । साँझ पकाएको भात पनि खाएको देखिँदैन । पकाएको मासु पनि त्यत्तिकै छ,’ घटनास्थलको विवरण सुनाउँदै एक अनुसन्धान अधिकृतले भने ।

दिलमाया निकटस्थका अनुसार उनमा पाठेघरको समस्या थियो । मृत अवस्थामा भेटिँदा उनले प्याड लगाएकाले उनमा रजस्वलाको समय चलिरहेको एक प्रहरी अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर