एमाले र नेकपा एस निकट वकिलहरूबिच संयुक्त उम्मेदवारी दिने सहमति – Nepal Press

एमाले र नेकपा एस निकट वकिलहरूबिच संयुक्त उम्मेदवारी दिने सहमति

काठमाडौं । नेपाल बार एशोसिएशनको चुनावमा गठबन्धनसँग मिलेको नेकपा एकीकृत समाजवादी निकट वकिलहरूको संगठन समाजवादी प्रगतिशील कानून व्यवसायी संगठन (एसपीएलए) उच्च अदालत बार एशोसिएशन पाटनको चुनावमा भने एमालेसँग मिलेको छ ।

सर्वोच्च बार, काठमाडौं जिल्ला बार, ललितपुर जिल्ला बार र उच्च अदालत पाटन बारको चुनावलाई लक्षित गरेर एमाले र नेकपा एस निकट वकिलहरूबिच सहमति भएको छ ।

दुवै पक्षबीच आइतबार भएको सहमति अनुसार उच्च अदालत बार एशोसिएशन पाटनको १९ सदस्यीय कार्य समितिको लागि एमाले निकट पिपिएलएबाट अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ११ सदस्य उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै नेकपा एस निकट एपीएलएले उपाध्यक्ष, सहसचिव र ३ सदस्य पाएर संयुक्त उम्मेदवारी दिने गरी सहमति भएको छ ।

त्यस्तै जिल्ला बार र सर्वोच्च बारमा पनि संयुक्त उम्मेदवारी दिन दुवै दल निकट वकिल सहमत भएका छन् ।

४ बुँदे सहमतिमा पिपिएलएको तर्फबाट शिव अर्याल, सेवन्तराज निरौला र सरला मोक्तानले हस्ताक्षर गरेका छन् । त्यस्तै एपीएलएको पक्षबाट मेजर थापा, गोपाल श्रेष्ठ, कपिलदेव ढकाल र अन्जु केसीले हस्ताक्षर गरेका छन् ।

माउ पार्टीहरुबीच संवादहीनता र एकले अर्कोलाई निषेध गर्ने नीति रहेका बेला एमाले र र नेकपा एस निकट वकिल संगठन भने लिखित सहमति सहित चुनावी मैदानमा उत्रिएका छन् ।

उच्च बार पाटनमा कांग्रेस र माओवादीको गठबन्धन छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर