विमला राईले आधा घण्टा उभिएर प्रश्न सोधिरहिन्, मन्त्री आले जवाफ नदिई ‘टाप’ (भिडिओ) – Nepal Press
संसद्को दृष्यः

विमला राईले आधा घण्टा उभिएर प्रश्न सोधिरहिन्, मन्त्री आले जवाफ नदिई ‘टाप’ (भिडिओ)

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले पर्यटनमन्त्री प्रेम आलेलाई विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन आइतबार समय उपलब्ध गराए । त्यस लगत्तै राष्ट्रिय सभाकी सदस्य विमला राईले आपत्ति जनाइन् ।

राईले टेबुल ठोकेपछि अध्यक्ष तिमिल्सेनाले सोधे, ‘माननीय विमला राई, के भन्न खोज्नुभएको हो ?’

संसद् बैठकमा सहभागी मन्त्रीदेखि सांसदसम्मले कान ठाडा गर्दै उनीतिर हेरे ।

राईले उभिएर सम्बोधन सुरु गरिन्, ‘सम्माननीय अध्यक्षज्यू, पर्यटमन्त्री जो बोल्न लागिरहनुभएको छ संसद्मा, उहाँले बोलेको असाध्यै अभद्र र कसैले पनि सुन्न नसक्ने अपाच्य अडियो सार्वजनिक भएको छ । त्यो हामी धेरैले सुन्न सक्ने अवस्था पनि छैन सामाजिक सञ्जालमा । त्यो अडिओले सबैको ध्यानाकर्षण गरेको छ ।सबैले प्रश्न उठाइराखेका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले यसरी बोल्न मिल्छ कि मिल्दैन ?’

उनले थपिन्, ‘उहाँले जुन किसिमको गालीगलौज गर्नुभएको छ, त्यो सर्वसाधारण मानिसले समेत गर्न सक्दैनन् । सार्वजनिक व्यक्तिले गरेको यो गाली सुन्दा क्षम्य नै नहुने खालको काम गरेको मलाई महसुस भएको छ । हुन त यस्तै खालका कुरा यसअघि नभएका पनि होइनन् । सुशील कोइराला मन्त्री हुँदा एक जना मन्त्रीले एक महिलासँग हिलो छ्यापाछ्याप गरेर खेल्दा असार १५ मा यसरी नै विरोध भएका थियो । तत्कालीन प्रधानमन्त्रीले नै उनलाई राजीनामा दिन लगाउनुभएको थियो । मन्त्री आफैले पनि सार्वजनिक रूपमा माफी माग्नुभएको थियो र राजीनामासमेत दिनुभएको थियो ।  त्यसै गरी पछि फेरी कानूनमन्त्रीले विदेश जाने महिलाको बारेमा बोलेका टिप्पणीले गर्दा उहाँले सार्वजनिक रूपमा माफी माग्नुभएको थियो । त्यसपछि उहाँ सम्बद्ध पार्टीले पनि उहाँलाई कारबाही गरेर निकालेको थियो ।’

जवाफ दिनका लागि रोष्टममा पुगेका मन्त्री आले भने टुलुटुलु सांसद राईले बोलेको सुनिरहेका थिए ।

उनले थप्दै भनिन्, ‘अहिलेको मन्त्रीले जसरी बोल्नुभएको अडियो आएको छ । यो अडियो कारणले हामीलाई सबैले प्रश्न गर्न थालेका छन् । प्रधानमन्त्री ज्यूले त सुन्नुभएन, बुझ्नु भएन । अथवा पचाउनुभयो मलाई थाहा छैन । उहाँ सम्बद्ध राजनीतिक दलले पनि यसलाई एकदमै सामान्य ठान्यो कि ? त्यो पनि मलाई थाहा छैन । तर संसद्ले यसलाई सामान्य ठान्न सक्दैन सम्माननीय अध्यक्ष ज्यू । उहाँले महिलालाई नै केन्द्रित गरेर गाली गर्नुभएको छ फेरि । पुरुषलाई गाली गर्नुभएको छ, तर शब्दहरू स्त्रीद्वैषी छन् ।’

राईले यति बोलिरहँदा राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिना पनि गम्भीर भएर सुनिरहेका थिए ।

उनले थप्दै भनिन्, ‘यो अभद्रता सैह्य हुँदैन । आज यो संसद्मा मन्त्रीज्यूले जवाफ दिनुभन्दा पहिले सार्वजनिक रूपमा उहाँले माफी माग्नुपर्छ धन्यवाद ।’

सांसद राईले बोली टुङ्ग्याउँदै गर्दा अधिकांश सांसदले टेबुल ठटाएका थिए ।

त्यसपछि अध्यक्ष तिमल्सिनाले बोल्दै भने, ‘माननीय सदस्यज्यू तपाई अब बस्नुस् । माननीय मन्त्री ज्यूको ध्यान गएकै होला । माननीय मन्त्री ज्यूलाई समय उपलब्ध गराउँछु ।’

मन्त्री आलेले भने सांसद राईले राखेको प्रश्नमा कुनै जवाफ दिएनन् । उनले सिधै विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिन सुरु गरे । सांसद राई आफ्नो सिटमा उभिइरहिन् । अध्यक्ष तिमल्सिना उनलाई बस्न अनुरोध गरे । त्यसपछि अन्य महिला सांसद पनि उभिए । मन्त्री आलेले बोलेर सक्दासमेत उभिएका महिला सांसदले उठेर विरोध जनाइ रहे ।

मन्त्री ओलेले रोष्टमबाट जवाफ दिएर फर्किसके पनि महिला सांसद नबसेपछि अध्यक्ष तिम्ल्सिेनाले पटक–पटक उनीहरूलाई बस्नका लागि आग्रह गरे । तर, सांसद राईले बोल्नका लागि माइक सोझ्याइन् ।

त्यसपछि अध्यक्ष तिमिल्सेनाले नै जवाफ दिए ।

उनले भने, ‘माननीय सदस्य ज्यू तपाईँहरूले राख्नुभएको प्रश्नले सिंगो सदनको ध्यानाकर्षण भएको छ । सम्बन्धित मन्त्रीले पनि सुन्नु भएकै छ । बोल्ने पालो पनि उहाँकै छ । फेरी पनि यहाँहरूले केही जिज्ञासा राख्नुभयो भने उहाँले जवाफ दिनुहुनेछ । आफ्ना विषयमा उठेको प्रश्नको जवाफ दिनु मन्त्री ज्यूको कर्तव्य पनि हो । यस कारण माननीय ज्यूलाई बस्नका लागि आग्रह गर्दछु,’ तर पनि उनीहरू महिला सांसद बसेनन् ।

त्यसपछि अध्यक्ष तिम्ल्सिेनाले पर्यटनमन्त्रीलाई विनियोजन विधेयकबारेको जवाफबारे प्रश्न राख्न आग्रह गरे । कसैले पनि प्रश्न नराखेपछि फेरि पनि उनले महिला सांसदलाई बस्न आग्रह गरे । तर पनि बस्न नमानेपछि सांसद विमला राईलाई अध्यक्षले बोल्ने मौका दिए ।

सांसद राईले प्रश्न राख्नै भनिन्, ‘सम्माननीय अध्यक्ष ज्यू, मन्त्रीहरू, सांसदहरू, कर्मचारीहरू, न्यायाधीशहरू, सार्वजनिक पद धारण गरेको व्यक्तिहरू हो । उहाँहरूले देखाएको चरित्रले समाजलाई कसरी अगाडी बढाउने भन्ने कुराको निर्धारण गर्छ । यस्तो संवेदनशील विषयमा मन्त्रीज्यूले गल्ती गरेँ भनेर माफी माग्न पनि नसक्ने । गल्ती पनि गरिराख्ने । अनि हामी सांसदहरू केही पनि भएको छैन भनेजस्तै गरेर मन्त्री ज्यूले बोलेको सुनिरहने र पत्याइराख्ने हो भने त यो राजनीतिक संस्कृति तथा संसदीय प्रणाली कतातिर लैजाँदै छौ भन्ने कुरामा एकदमै धेरै चिन्ता उत्पन्न भएको छ ।’

‘गल्ती हुन्छ मान्छेबाट । तर गल्ती भइसकेपछि स्वीकार्न सक्नुपर्छ । यदि स्वीकार्न सकिँदैन भनेदेखि राजीनामा दिनुपर्छ । माननीय अध्यक्षज्यू यो हाम्रो माग हो । यो मैले मेरो आफ्नो लागि मात्र भनिरहेको छैन । यो संसदीय अभ्यासमा सार्वजनिक पद धारण गरेको व्यक्तिको दिनहुँ दिन आचरण खस्किँदै गइरहेको छ । यो प्रवृत्तिको अन्त्य गर्नका लागि पनि यो माग आज मैले राखेको हो । यो माग मेरो निरन्तर रहिरहेको छ । अहिलेको मन्त्री ज्यूले फेरी पनि सम्बोधन गर्नुभयो भने मेरो यो प्रश्न उहाँमाथि तेर्सिइरहनेछ । किनभने उहाँमा अलिकति पनि नैतिकता छ भने त राजीनामा दिनुपर्थ्यो । नभए पनि कम्तीमा गल्ती गरे भनेर भन्न पनि नसक्ने हो भनेदेखि यो हाम्रो संसदीय व्यवस्थाप्रति कै खतरा हो भनेर मैले बुझ्छु । त्यस कारण पनि म बस्न सकिरहेको छैन ।’

त्यसपछि अध्यक्ष तिम्ल्सिेनाले भने, ‘माननीय सदस्यज्यू, सम्बन्धित मन्त्री र सिंगो सदनको यसमा ध्यान गएको छ र अर्को मन्त्रीको पालो भएको हुनाले यहाँलाई बस्नका लागि फेरी पनि अनुरोध गर्छु ।’ त्यसपछि भने महिला सांसद बस्न बाध्य भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर