प्रशिक्षक अब्दुल्लाह नेपाल फर्कन इच्छुक – Nepal Press

प्रशिक्षक अब्दुल्लाह नेपाल फर्कन इच्छुक

काठमाडौं । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै गत सोमबार पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ अध्यक्षमा निर्वाचित भए । बुढानिलकन्ठस्थित पार्क भिलेज रिसाेर्टमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको मात्रै पूर्ण नतिजा आएको थियो । सदस्यको भने गणना जारी थियो ।

यही समय नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबललाई भविष्यको कामनासहित नेपाली फ्यानलाई धन्यवाद दिँदै नेपाली टिमसँग काम नगर्ने संकेत गरेका थिए । तर, सामाजिक सञ्जालको स्टोरी अब्दुल्लाहले केही समयमै हटाए ।

प्रतिक्रिया स्वाभाविक थियो, नतिजा अब्दुल्लाहले चाहेको जस्तो थिएन । उनी निकट मानिएका अध्यक्ष शेर्पा पराजित भए । अब्दुल्लाहले यसअघि नै शेर्पाबाहेक नयाँ टिमसँग आफू काम नगर्ने बताएका थिए ।

नयाँ कार्यसमितिले बुधबार नै सपथ खायो । तत्काल बसेको कार्यसमितिको बैठकले एन्फाको महासचिव र कोषाध्यक्ष क्रमशः किरण राई र रवीन्द्र जोशीलाई नियुक्त गर्नेसँगै सात बुँदामा रहेर केहि निर्णय गर्‍यो ।

महत्वपूर्ण अर्को निर्णयमा प्रशिक्षक अब्दुल्लाहसँग विवादपछि टिम बाहिर रहेका १० खेलाडीलाई राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गर्‍यो । यस्तै, प्रशिक्षकको हकमा भने निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरी छानविन समितिको सुझाव कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दियो । अर्थात् उनको विकल्प खोज्न आग्रह गरियो ।

निर्णयसँगै एन्फाका नवनियुक्त महासचिव किरण राईले प्रशिक्षक अब्दुल्लाहसँग सम्पर्क भएको र अब्दुल्लाह नेपाल फर्कन इच्छुक भएको न्युज कारखानालाई बताएका छन् । ‘प्रशिक्षकसँग सम्पर्क भएको थियो । उहाँ नेपाल आउन इच्छुक हुनुहुन्छ,’ राईले भने ।

अब्दुल्लाहले शनिबार सामाजिक सञ्जालमार्फत पनि नेपाल फर्किने संकेत गरेका थिए । उनले फेसबुकमा स्टोरी राख्दै अबको लक्ष्य फिफा विश्वकप २०२६, एसिया कप २०२७ क्वालीफायर र साफ कप २०२३ रहेको उल्लेख गरेका थिए ।

गत महिना नेपाली टिमले पुराना १० खेलाडीलाई बाहिर राख्दै कुवेतमा भएको एएफसी एसियक कप २०२३ छनोट खेलेको थियो । तीन खेल खेलेर नेपाली टिम घर फर्कदा प्रशिक्षक अब्दुल्लाह भने कर्मभूमि फर्किएनन् । उनले तीन महिना बिदा मागेका छन् ।

महासबीच किरण राईले प्रशिक्षक अब्दुल्लाहसँग आगामी दिनको योजना मागेको र सो समेत प्राप्त भइसकेको न्युज कारखानालाई बताए । अबदुल्लाहकाे याेजनामा उनले सामाजिक ससञ्जालमा लेखे जस्तै फिफा विश्वकप २०२६, एसिया कप २०२७ क्वालीफायर र साफ कप २०२३ रहेको राईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *