गृहजिल्ला पुगेका पूर्णबहादुर सहभागी कार्यक्रम शेखर समूहले गर्‍यो बहिष्कार – Nepal Press

गृहजिल्ला पुगेका पूर्णबहादुर सहभागी कार्यक्रम शेखर समूहले गर्‍यो बहिष्कार

सुर्खेत । नेपाली कांग्रेस प्रदेश समितिले आज सुर्खेत सभाहलमा जनप्रतिनिधिलाई राखेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुने उपसभापति पूर्णबहादुर खड्का सुर्खेत आइपुगेका छन् ।

आज बिहान बुद्ध एअरको जहाजबाट सुर्खेत आएका उपसभापति खड्का भीआईपी कक्षमा छिर्दै गर्दा कांग्रेसका अर्का प्रभावशाली नेता पूर्वमन्त्री हृदयराम थानी भने त्यही विमानबाट काठमाडौंतिर लागे ।

जनप्रतिनिधिका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई शेखर समूहले बहिष्कार गरेका छन् । ‘नेता नै काठमाडौं गइसक्नु भएको छ । हाम्रा समूहका कोही पनि सदस्य समेत निर्वाचित भएर आएका छैनन् । हामी के मुख लिएर त्यो कार्यक्रममा जानु ?’ संस्थापनइतरका एक नेताले भने, ‘यो कार्यक्रम एक हिसाबले भन्दा हाम्रो विचार समूहबाट बहिष्कार नै हो ।’

थानीनिकटका नेता नारायण कोइरालाले संस्थापन पक्षले झुटको खेती गरेको आरोप लगाए । आज सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै कोइरालाले भनेका छन्, ‘लेख्ने मन त थियन तर झुटको अफबाह यसरी फैलाइयो, जसले गर्दा पार्टीका आम साथीहरूको दिनहुँजसो जिज्ञासै जिज्ञासा आइरहेकाले त्यसलाई चिर्न साँचो कुरा भन्नैपर्ने भएर लेख्न बाध्य भएको हो ।’

‘वीरेन्द्रनगरको मेयरको टिकट नारायण कोइरालालाई दिएको उसले उमेदवार बन्न मानेन भन्दै मेरो बारेमा गलत धारणा निर्माण गर्ने षडयन्त्र गरिनुले दु:खी बनाएको छ । म पर्टीको हरेक निर्णय र आदेशलाई शिरोधार्य गर्दै आएको व्यक्ति हुँ ‘, उनको भनाइ छ ।

कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले नेता थानीलाई समेत कार्यक्रममा सहभागी हुन भन्दै खबर गरिएको बताए । ‘उहाँलाई पनि हामीले खबर गरेका थियौँ । उहाँ काम विशेषले काठमाडौं जानु भयो होला । त्यस्तो केही छैन ।’

भर्खरै सकिएको स्थानीय चुनावमा गठबन्धनबाट भागबण्डा गर्दा कांग्रेसले पाउने सिटमा शेखर समूहले ४० प्रतिशत दाबी गरेको थियो । त्यहीँबाट दुई समूहबीच तिक्तता सुरू भएको थियो । ९ वटामध्ये अघिल्लोपटक कांग्रेसले एक्लै ६ पालिकासहित जिसस एकलौटी जितेको थियो । तर, यसपटक गठबन्धन हुँदा पनि जिसस गुमायो । कांग्रेसले गुर्भाकोट नगरपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिका जितेको थियो ।

जिल्लाको आन्तरिक विवादले आगामी संघीय र प्रदेश निर्वाचनमा समेत असर पर्न सक्ने भन्दै स्वयं कांग्रेस नेता-कार्यकर्ता चिन्तित छन् ।


प्रतिक्रिया

One thought on “गृहजिल्ला पुगेका पूर्णबहादुर सहभागी कार्यक्रम शेखर समूहले गर्‍यो बहिष्कार

  1. थुक्क मुलाकासाग पाख्ण्डिहेरु ।

Leave a Reply to झाङ्क्रीको भिनाजु Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर