बच्चालाई मोबाइल लागुऔषधभन्दा घातक – Nepal Press

बच्चालाई मोबाइल लागुऔषधभन्दा घातक

रुपन्देहीमा डाक्टरले थाले सचेतना अभियान

रुपन्देही । मोबाइल, टिभी, कम्युटरलगायतका विद्युतीय उपकरणमा भुल्दा आफ्ना छोराछोरीले पठनपाठन, खानपान र पारिवारिक तथा सामाजिक गतिविधिमा ध्यान नदिने अधिकांश अभिभावकका साझा समस्या हुन् हिजोआज ।

बच्चा भुलाउने नाममा मोबाइल/टिभी दिएका कारण बालबालिकामा गम्भीर असर परेको भन्दै चिकित्सकहरूले सचेत बनाएका छन् । बालबालिकामा बढ्दै गएको यो लत लागुऔषधभन्दा खतरनाक रहेको उनीहरूको भनाइ छ ।

मोबाइल/टिभी धेरै हेर्ने बालबालिकामा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरूले बेलैमा ध्यान पुर्‍याउनुपर्ने बताएका छन् ।

बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले बालबालिकाले धेरै समय मोबाइल हेर्दा निन्द्रा नपर्ने, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखामा समस्या हुने आफन्तजनसँग घुलमिल नहुनेजस्ता समस्या देखा पर्न थालेको बताए । अभिभावकले समेत बच्चाको अगाडि मोबाइल नचलाउन उनको आग्रह छ ।

‘पाँच-सात वर्षयता निकै गम्भीर तरिकाले यस खालको समस्या बढेको छ, बच्चाहरूमा स्मरण शक्ति गुमेको छ । योसँगै रचनात्मक काम गर्ने वातावरण नै हराउँछ, यो लागुऔषधभन्दा ठूलो कुलत बनिसक्यो’, पोखरेलले भने, ‘प्रविधिको दुरुपयोग नभइ पनि यसको सकारात्मक र सही सदुपयोगमा अभिभावकले ध्यान दिन जरुरी छ । हरेक विद्यालय, स्थानीय सरकार, टोल समूहले अभियानसहित योजना बनाउनुपर्छ, हामी डक्टरहरूले सचेतनाका लागि अभियान थालिसकेका छौँ । ’

यो अभियानका लागि चिकित्सकहरू आबद्ध रहेको रोटरी इ-क्लव अफ मेडिको फ्युजन हाइब्रिड नेपालले ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऊँ’ अभियान सुरू गरेको उनले बताए । यो क्लवले रुपन्देहीका स्थानीत तहसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम गर्ने डा. पोखरेलले जानकारी दिए । यो क्लबमा डक्टर र उनीहरूका परिवार मात्र सदस्य छन् ।

डा. विनिता भट्टराईले मोबाइलका कारण हरेक घरमा रहेका बच्चा खेलौनाजस्ता बनेको र उनीहरूमा रचनात्मक क्षमता हराउँदै गएको बताइन् ।
आफूहरूको सचेतना अभियानमा सबैले हातेमालो गर्न उनको आग्रह छ ।

डा. मञ्जु गुभाजु हेर्दा सामान्यजस्तो लागेपनि मोबाइलको प्रयोगले बालबालिकामा सोच्नसक्ने क्षमतामा नै कमी आएको, परिवार तथा आफन्तसँग भेटघाट र कुराकानी गर्न छाडेकाले यसमा विशेष चनाखो हुन आग्रह गर्छिन् । समय निकालेर बच्चासँग कुराकानी गर्ने, खेल्ने, घुम्ने गर्न अभिभावकलाई उनको विशेष आग्रह छ ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले चिकित्सकको अभियानको सराहना गरे । तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भैसकेको सन्दर्भमा ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऊँ’ अभियान पनि बालमैत्री कार्यक्रमसँगै अघि बढाइने उनको प्रतिबद्धता छ ।

देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले बालबालिकालाई मोबाइल नदेखाउने विषयमा अभिभावकहरु बढी सचेत हुनुपर्ने बताउँदै परिवर्तनको सुरुवात आफैंबाट गर्ने र नगरभर यो अभियान चलाउने आश्वस्त पारे ।

सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले क्लबले सुरु गरेको अभियान समाज सुधारको अभियान भएकोले यो अभियानले सामाजिक सचेतना जगाउने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर