आन्तरिक स्रोत कमी भएपछि तुलसीपुरमा घट्यो आधा बजेट – Nepal Press

आन्तरिक स्रोत कमी भएपछि तुलसीपुरमा घट्यो आधा बजेट

रुपन्देही । दाङको तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ४५ प्रतिशत कम बजेट ल्याएको छ । उपमहानगरका उपप्रमुख स्यानी चौधरीले शुक्रबार आगामी आर्थिक वर्षका लागि १ अर्ब ८६ करोड ४८ लाख ७९ हजारको बजेट सार्वजनिक गरेकी हुन्।

तुल्सीपुरमा चालु आर्थिक वर्षभन्दा १ अर्ब ५३ करोडले कम हो। चालु आर्थिक वर्षको लागि एक वर्षअघि असारमा तुलसीपुर उपमहानगरपालिकाले ३ अर्ब ३९ करोड ४६ लाख विनियोजन भएको थियो ।

तुलसीपुरमा आगामी आर्थिक वर्षका लागि चालुतर्फ २५.५९ प्रतिशत अर्थात् ४७ करोड ७२ लाख ७७ हजार विनियोजन भएको छ। त्यस्तै पुँजीगततर्फ ७३.९९ प्रतिशत अर्थात् १ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ छुट्याइएको नगर उपप्रमुख स्यानी चौधरीले बताइन्।

चालु आर्थिक वर्ष २०७८/७९ को तुलनामा शुक्रबार सार्वजनिक भएको बजेट ४५ प्रतिशतले कम हो। बजेटको आकार ४५ प्रतिशतले घट्नुको मुख्य कारण आन्तरिक स्रोतको कमी हो । मेयर टिकाराम खड्काले आन्तरिक स्रोतकै कमी भएकाले बजेट घटेको नेपाल प्रेसलाई बताए ।

‘चालु वर्षमा ६० करोड राजश्व उठ्ने आंकलन गरिएको थियो, तर ३० को हाराहारीमा उठ्दैछ, स्रोत कै कम भएपछि बजेट ठूलो ल्याएर मात्रै भएन, स्रोतकै आधारमा बजेट कम आएको हो’ उनले भने ।

बजेट घट्नुको अर्को कारण स्मार्ट सिटी कार्यान्वयन नहुनु पनि हो । अघिल्लो आर्थिक वर्षमा संघीय सरकारले तुलसीपुरलाई स्मार्ट सिटी बनाउन भनेर १ अर्ब रुपैयाँ विनियोजन गरेको थियो। जसलाई चालु आर्थिक वर्षको बजेटमा तुलसीपुरले आफ्नो बजेटमा जोडेको थियो। स्मार्ट सिटीको बजेट आएन र कार्यक्रम पनि अघि बढेन।

केपी ओली सरकारबाट हटेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि स्मार्ट सिटीको कार्यक्रम हटाइएको थियो। यो वर्ष स्मार्ट सिटीको नभएकाले बजेटमा ठूलो अन्तर आएको तुलसीपुरका सूचना अधिकारी तथा तथ्यांक अधिकृत बाबुराम न्यौपानेले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *