वीरेन्द्रनगरले ल्यायो झण्डै दुई अर्बको बजेट (पूर्ण विवरण) – Nepal Press

वीरेन्द्रनगरले ल्यायो झण्डै दुई अर्बको बजेट (पूर्ण विवरण)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक रूपले सम्पन्न, भौतिक रूपले योजनाबद्ध सहरी सुविधायुक्त, लैंगिक रूपमा महिलामैत्री, सामाजिक रूपले समावेशी र सहभागितात्मक, वातावरणीय रूपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रूपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरको रूपमा निर्माण गर्ने योजना प्राथमिकतामा छन् ।

सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार पाँच सय, चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड २० लाख रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको भन्दा ३७ करोड ५८ लाख ४९ हजार ९ सय रुपैयाँले बढी बजेट हो ।यो चालू आर्थिक वर्षको तुलनामा ३७ करोड ५८ लाख ४९ हजार ९०० ले बढी हो ।

शुक्रबार नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रमुख नीलकण्ठ खनालले शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर भन्ने सोचका साथ बजेट ल्याइएको बताए ।

बजेटमा भेरी लिफ्टिङ आयोजना सञ्चालनका लागि संघ, प्रदेश र विकास साझेदारसंग सहकार्य गर्दै पहुँच निर्माण लगायतका आधारभूत पूर्वाधार निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ ।

खानेपानी डिप बोरिङ, ओभरहेड ट्यांकी निर्माणमा रु। एक करोड, मुख्य बजारका सडकलाई व्यवस्थित, ट्राफिक लाइट व्यवस्थापन गर्न १५ लाख, नगरका महत्वपूर्ण सडकलाई रु। एक करोड, फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइटसम्म जाने पहुँच मार्ग सुधारका लागि ८० लाख, विद्युतीकरण नपुगेका वडा नं १५ र १६ मा विद्युतीकरण कार्यक्रमका लागि एक करोड बजेट विनियोजन गरिएको हो ।

‘त्यस्तै म बनाउँछु मेरो शैक्षिक हब’ अभियानमार्फत शैक्षिक कोष स्थापना गर्ने, सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच विस्तार गर्ने, जीर्ण छाना र टिन विस्थापित गर्ने, घरेलु हिंसा पीडित महिला तथा बालबालिकाका लागि सेफ हाउस सञ्चालन गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।

महिला स्वरोजगार लक्षित कार्यक्रमका लागि रु। ७० लाख ५० हजार, जनजाति लक्षितका लागि २० लाख, दलित लक्षितका लागि २० लाख, युवा लक्षित १५ लाख, अपांगलक्षित पाँच लाख विनियोजन गरिएको छ । ज्येष्ठ नागरिकका लागि नगर प्रमुख संवाद कार्यक्रम, नगर नासो कार्यक्रमका लागि २५ लाख र सुत्केरी तथा बालबालिकाको पोषण कार्यक्रमका लागि ३५ लाख ८० हजार विनियोजन गरिएको छ ।

बजेट वक्तव्यमा ‘आलीदेखि थालीसम्म, गोठदेखि ओठसम्म’ नारालाई आत्मसाथ गर्दै कृषकलाई पुँजी तथा उपकरणमा अनुदान उपलब्ध गराउने, पशु तथा बाली बिमा कार्यक्रम सञ्चालन गर्ने, कम्तीमा पाँच कठ्ठा जग्गामा कृषि तथा तरकारी खेती गर्ने कृषकलाई विशेष सहुलियत प्रदान गर्ने, कृषि उपजको ढुवानी तथा बिक्री वितरणमा बिचौलिया हाबी हुन नदिन कृषि एम्बुलेन्स सञ्चालन गर्ने, उद्योग प्रर्वद्धन, उद्यमशिलता र रोजगारी अभिवृद्धिका विभिन्न कार्यक्रमका लागि रु। २५ लाख बजेट विनियोजन गरिएको उल्लेख छ ।

त्यस्तै वीरेन्द्रनगरले आगामी वर्ष नगरभित्रका सुकुम्बासी, भूमीहिनलाई जग्गा उपलब्ध गराउने कार्यमा भूमि आयोगलाई सहयोग गर्ने, नगरभित्रका सार्वजनिक जग्गाको लगत संकलन गरी संरक्षण गर्ने, घण्टाघर व्यवस्थापन गर्ने, गढीलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, कांक्रेविहार, बुलबुले ताल लगायतमा संरक्षणका कार्यक्रम सञ्चालन गर्ने, साहसिक खेलको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समेटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *