अचेल तपाईँहरू कहाँ हुनुहुन्छ ? – Nepal Press

अचेल तपाईँहरू कहाँ हुनुहुन्छ ?

गत वर्षको असार र अहिलेको असार बीचमा खासै केही फरक छैन । मौसम उस्तै छ, बेलाबेला झरी परिरहेको छ । गत वर्षको जस्तो बाढीले वितण्डा मच्चाएको खबर भने आएको छैन । जब गम्भीर भएर सोच्छु, मजस्तो आम मानिसका लागि त्यो असार र यो असारबीचमा यति धेरै फरक छ कि जसको कुनै हिसाबकिताब छैन ।

मजस्तो सामान्य जागिर गरेर जीविकोपार्जन गर्ने मानिसका लागि १२ महिनापछि आएको असार त्यति सहज छैन, जति सहज १२ महिनाअघिको असारमा थियो । यो असारमा मेरो चुल्होमा बल्ने एलपी ग्यासलाई १८ सय तिर्नुपर्छ । अघिल्लो असारमा १४५० मात्रै पर्थ्यो ।

यही असारमा ६० रुपैयाँ किलो पर्ने चामलको पिठो १३० पुग्यो । यही असारले ९० रुपैयाँ पर्ने ताइचिन चामललाई १५० पुर्‍याइदियो । २३० पर्ने सनफ्लावर तेललाई ३५० पुर्‍याइदियो । १४० पर्ने मुसुरो दाललाई १७५ पुर्‍याइदियो । २१० पर्ने डाल्डाको घिउ ३३० पुर्‍याइदियो ।

२४० पर्ने काँचो तोरीको तेल ३८० पुर्‍याइदियो यही असारले । अघिल्लो असारमा यति बेला केपी शर्मा ओली प्रधानमन्त्री थिए, अहिले शेरबहादुर देउवा हुनुसँग मेरो कुनै साइनो छैन। तर ओलीले छाडेर गएको बजार मूल्य एक वर्षमै यति सारो किन आकासियो ? नागरिकले देउवासँग प्रश्न गर्न पाउने कि नपाउने ? कि प्रश्न गर्दा प्रतिगमनको पक्षधर भइन्छ ?

जो पहुँचमा छ, जोसँग खर्च गर्न प्रशस्त पैसा छ, उनीहरूका लागि यी माथि उल्लेख गरेका मसिना सामानहरूको दर रेटले खासै फरक नपार्ला । लाखौँ, करोडौँको व्यापार व्यवसाय गर्नेहरूलाई यस्ता झिना मसिना दर रेटको उतारचढावले खास अर्थ नराख्ला । जो शक्ति र सत्ताको पहुँचमा छन्, उनीहरूलाई पनि फरक नपार्ला । तर, हामीजस्ता मजदुरका लागि ? पक्कै पनि आकासिएको खाद्यान्नको यो रेटले जरुर फरक पार्छ ।

तरकारीहरू छुनै सकिन्न । फलफूललाई किन्नै सकिन्न । हरियो धनियाँको पत्ती मात्रै १००० रुपैयाँ किलोभन्दा महँगो पर्छ । काउली, च्याउहरूलाई छुनै सकिन्न । पसलमा गएर रेट सोधेर मात्रै फर्कनुपर्ने स्थिति छ ।

मैतीदेवीमा तनहुँका एक मगर दाइको परिवार बस्छन् । उनी रिक्सा चलाउँछन् । परिवारको आयस्रोत नै त्यही तीन पाङ्ग्रे रिक्सा हो । जसमा दैनिक पाइडल नचलाए उनको परिवार भोकै पर्छ । पाइडल चलाउन पाउनका लागि पनि उसले काम पाउनुपर्‍यो ! म कोठा सर्दा तिनै दाइले सामानहरू रिक्सामा हालेर नयाँ कोठामा पुर्‍याइदिएका थिए ।

दुई जना छोरीहरूलाई मध्यबानेश्वरको रत्नराज्यलक्ष्मी स्कुलमा पढाइरहेका ती दाइ केही दिनअघिको एक साँझ किराना पसलमा भेटिए । पसलमा साहुजीसित बार्गेनिङ गरिरहेका थिए, ‘दाइ, अहिले काम भइरहेको छैन । भागेर कतै जाने होइन । चामल चाहिँ दिइराख्नु न । अर्को सातासम्म आधा पैसा तिर्छु ।’

तेल र मसला किन्न पुगेको मलाई ती मगर दाइको साहुजीसँगको याचनाले तीतो महसुस गरायो । म पनि ती दाइभन्दा फरक कहाँ छु र ! भलै साहुजीले ती दाइलाई भन्दा मलाई अलि बढी विश्वास गर्छन् । मलाई उधारो दिन हिचकिचाउँदैनन् । सहरमा कतै जागिरे छ भन्ने बुझाइ छ उनको । ती साहुजीलाई मेरो तलब आउने दिन पनि थाहा छ । उक्त दिन कटेको तीनचार दिनसम्म पनि पसल छिरिनँ भने मलाई घुरेर हेर्न थाल्छन् ।

सानो सपना, साना रहर र साधारण जीवन जिउन रुचाउने हामीजस्ताका लागि यो महँगीले नराम्रोसँग ढाड सेकाइरहेको छ । उकुसमुकुस बनाइरहेको छ । तर, यसको जिम्मा कसले लिन्छ ? कसका कारण आमनागरिककोे जीवन दिनप्रतिदिन यसरी जटिल बनेर गइरहेको छ । कसका कारण एउटा सामान्य नागरिकलाई किराना पसलेले पत्याइरहेको छैन ? किराना पसलको उधारो तिर्न सकिरहेका छैनन् ।

माइतीघरको सडकबाट सिंहदरबार छिरेको सरकारले शताब्दीऔंदेखि सडकमै रहेका नागरिकका जीवनलाई कति असहज बनाएका छन् भनेर बुझ्नलाई तपाईँ पेट्रोलपम्पअघि एक घण्टा मात्रै उभिनुहोस् । ११० पर्ने डिजेललाई १९२ तिरिरहेका नागरिकलाई हेर्नुहोस् जीवन कति असहज बनिरहेको छ । १२७ प्रतिलिटर तिरिरहेको पेट्रोललाई १९९ तिरिरहेका नागरिकलाई सोध्नुहोस्, महँगीले कहाँ कहाँ हिर्काएर थला पारेको छ ।

उत्तर सहज छैन । तर, त्यति जटिल पनि छैन कि जसको ठोस उत्तर पाउनका लागि रिसर्च नै गर्न परोस् । गत वर्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे । उक्त विघटन गैर संवैधानिक भयो भनेर उनको चर्को विरोध भयो । वृहत् नागरिक आन्दोलनले सडक सङ्घर्ष सुरु गर्‍यो ।

यही बीचमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको नेतृत्वमा पार्टीका आधा नेताहरू सडकमा आए । ‘हामी यहाँ छौँ’ भनेर सडकमा आएका नेताहरूको मूल उद्देश्य प्रतिनिधिसभा विघटन भन्दा पनि विघटनलाई कारण देखाएर सडकमा छरपस्ट पारिएको पार्टीको आन्तरिक अन्तरसंघर्ष थियो ।

जसको परिणति पाँच वर्षका लागि जनताको मत पाएको नेकपा तीन टुक्रामा विभाजित मात्रै बनेन, बहुमतको जनमत पाएको सरकार ढल्यो । ओली पदबाट पदच्युत भए । इतिहासकै विशाल पार्टी एकता गरेका नेताहरू एमाले, माओवादीमै फर्किए । एमालेभित्रकै नेपाल, झलनाथ खनाल लगायतले २३ जना प्रतिनिधसभा सांसद लिएर नेकपा समाजवादी पार्टी गठन गरे ।

पाँच वर्षसम्म सरकारमा जाने कल्पना पनि नगरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो । मधेस प्रदेशमा बाहेक सबै प्रदेशहरूमा सरकार बदलिए । यसपछि बदलिएको राजनीतिक कोर्सले आम नागरिकको जीवनमा कति प्रभाव पार्दै गयो, जम्मा किराना पसलमा एक घण्टा उभिएर हेरे पुग्छ । उधारोका लागि याचना गरिरहेका निमुखा नागरिकको सुकेको ओठलाई हेरे पुग्छ । उनीहरूको निन्याउरो अनुहारलाई हेरे पुग्छ ।

मेरो अफिसको गेटैमा एक जना काभ्रे तेमालका ६६ वर्षीय वृद्ध तामाङ गाडामा काठ, आगो र हरियो मकै लिएर बस्छन् । उसको साथमा श्रीमती पनि सँगै हुन्छिन्, सधैं । दुवैको काम बिहादेखि साँझसम्म मकै पोलेर बेच्नु छ । त्यसपछि कोठामा फर्किनु छ । र भोलिपल्ट त्यही दैनिकी सुरु गर्नु छ ।

अफिस ओहोरदोहोर गर्दा र बेलाबेला पोलेको मकै खान जाँदा ती तामाङ जोडीसित बातचित हुन थाल्यो । ती वृद्ध तामाङ बेलाबेला भन्छन्, ‘महँगीले साह्रै गाह्रो बनायो । कहिलेकाहीँ त हामी बूढाबूढी मकै नै खाएर सुतिदिन्छौ । चामलभन्दा मकै नै अलि सस्तो पर्छ । तरकारी पनि चाहिँदैन, नुन खुर्सानी भए हुन्छ ।’

ती तामाङ बूढाबूढीको नियति अहिलेको महँगीको सग्लो उदाहरण न हो । जो ३० रुपैयाँ घोगा मकै बेचेर कठिन जीवन निर्वाह गरिरहेका छन् । उनीलाई त थाहा पनि छैन कि उनीहरूले बाँचिरहेको त्यो कठिन जीवनको कारक हो को ? राज्य सञ्चालन गरिरहेकाहरूको रवैया नै आफूहरूले पाइरहेको सास्तीको प्रमुख कारक हो भनेर यी आम नागरिकलाई थाहा भएको दिन के होला ?

माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । सरकारी सूचना चुहाएको कथित आरोपमा गभर्नरलाई बर्खास्त गर्ने प्रयत्न गरेर नेपाललाई श्रीलंका बनाउन अर्थमन्त्री प्रयासरत छन् । कर्मचारीलाई कुटपिट र अश्लील गाली गलाैजबाट फुर्सदै नपाएका पर्यटनमन्त्री छन् । गृहमन्त्रीले प्रहरी प्रशासनमा आफ्नालाई काखी च्याप्नबाट फुर्सद पाएका छैनन् । मनलाग्दी बढुवा, घटुवा, सरुवा गरिरहेका छन् । उनलाई रात्रिकालीन व्यवसाय सञ्चालन गरिरहेका दरबारमार्ग र ठमेलका व्यवसायीले प्रहरी प्रशासनलाई कति रकम बुझाउँछन् भनेर निगरानी गर्ने फुर्सद छैन ।

दैनिक बालुवाटारमा बैठक बस्छन् । कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

आफ्नो पदको ओज र महत्त्वको लेस सम्म ज्ञान नभएको प्रदेश मन्त्री विवाहेत्तर सम्बन्धमा रहेको प्रेमीको घरमा बडी गार्डसहित गएर निर्दोष श्रीमती र छोरीमाथि कुटपिटमा उत्रिन्छिन् । उनको चोलो च्यातेर दुर्व्यवहार गर्छिन् ।

माइतीघरको सडकबाट सिंहदरबार छिरेको सरकारले शताब्दीऔंदेखि सडकमै रहेका नागरिकका जीवनलाई कति असहज बनाएका छन् भनेर बुझ्नलाई तपाईँ पेट्रोलपम्पअघि एक घण्टा मात्रै उभिनुहोस् । ११० पर्ने डिजेललाई १९२ तिरिरहेका नागरिकलाई हेर्नुहोस् जीवन कति असहज बनिरहेको छ । १२७ प्रतिलिटर तिरिरहेको पेट्रोललाई १९९ तिरिरहेका नागरिकलाई सोध्नुहोस्, महँगीले कहाँ कहाँ हिर्काएर थला पारेको छ ।

श्रीलंका टाट पल्टिएको अवस्था छ । विदेशी मुद्रास्फीति शून्यमा छ । महँगीले त्यहाँ जनता आकुल व्याकुल मात्रै छैनन्, भोक भोकै मर्ने अवस्थामा पुगेका छन् । हाम्रो मुलुक पनि यही अवस्था निरन्तर रहिरहेमा श्रीलंका हुन बेर छैन भनेर अर्थशास्त्रीहरूले भनिरहेका छन् । तर, सत्तामा रहेका राजनीतिक पार्टी र नेताहरूलाई सत्ता संघर्षको किचालोबाट मुक्ति मिलिरहेको छैन । नेकपा एसमा मन्त्री सहितका १० सांसदले अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । साथै पार्टीमा विद्रोह गर्ने संकेत गरेका छन् । यसको आन्तर्य भनेकै जम्माजम्मी पदको लोलुपता मात्रै हो भनेर बुझ्न गाह्रो छैन ।

दैनिक बालुवाटारमा बैठक बस्छन् । कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

फेरि उनीहरू माइतीघरमा आएर ‘हामी यहाँ छौँ’ भन्नका लागि के नयाँ सरकार गठनकै प्रक्रिया सुरु हुनुपर्ने हो ? यस वेला उनीहरूलाई आम नागरिक एकै प्रश्न सोधिरहेका छन्, ‘तपाईँहरू कहाँ हुनुहुन्छ ?’ जवाफ दिनु पर्छ कि पर्दैन ?

०००

प्रतिक्रिया

2 thoughts on “अचेल तपाईँहरू कहाँ हुनुहुन्छ ?

  1. समय सान्दर्भिक वास्तविक यहि नै भैरहेको छ जे नहुन पर्नी त्यही यहि नै भैरहेको छ यसरी दिन दुखी कति दिन कसरी बाच्नी जति हामी दुखी को कुरा राखेनी सुन्दैन के भैरछ कहिले सम्म यस्तै हो कसरि जिन्दगी चल्छ दिन दुखिको धनीगरु भ्रस्टाचारि हरु चोर दलाल को मात्र राज हो यिनिमात्र बाच्न पर्नी हैछ कि अरु त भोकमरी लागेरै महङी को कारण भिकमरी ले किन्न नसकेर मोर्छन त्🤔चोर दलाल भ्रस्टारि हरुको राज छ पैसा लुकाछन जति महङ्गो समान भयनी उनलाइ फरक पर्दैन पैसैले जनाउनी जति लुकायको हुन्छन साधारण जनता दिनदुखिको हालत बिरक्त लाग्छ देख को स्थिती देख्दा कानुन पनि फेरि उस्तै ठुलाइलाइ चैन लाग्दैन सानोलाइ ऐन हे प्रभु एक आपसमा असैय भयर दिन दुखि पिडित बाध्य भयए सडक मा उतृयर ती ठुला भनौदा को नियन्त्रण ब्यवस्थापन यहि दिन दुखिले नगर्दा सम्म भनेर लाग्दै लाग्दैन देश मा यहि गति हो भनी देश मा हानाहान काटाकट यस्तै सस्तै गति विधि हुन्छ….

Leave a Reply

Your email address will not be published.