लुम्बिनीका ४ उपमहानगरमध्ये कसले कति ल्याए बजेट ? – Nepal Press

लुम्बिनीका ४ उपमहानगरमध्ये कसले कति ल्याए बजेट ?

रुपन्देही । लुम्बिनीका ४ उपमहानगरमध्ये बुटवलले सबैभन्दा ठूलो बजेट ल्याएको छ । रुपन्देहीको बुटवलले २ अर्ब ३५ करोड, दाङको घोराहीले २ अर्ब ३२ करोड, तुलसीपुरले १ अर्ब ८६ करोड, बाँकेको नेपालगन्ज उपमहानगरले १ अर्ब ६३ करोडको बजेट ल्याएका छन् ।

बुटवलले ल्यायो २ अर्ब ३५ करोडको बजेट

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेस गरेको छ ।

उपमहानगर नगर सभाको एघारौँ अधिवेशनमा शुक्रवार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेस गरेकी हुन् ।

बुटवलको बजेटको अंशमा आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानवापत् १ करोड ६१ लाख ३३ हजार, सशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपुरक अनुदान २ करोड ९९ लाख रहेको छ ।

यस्तै, राजस्व बाँडफाँटबाट ३१ करोड ९८ लाख र चालु आर्थिक वर्षको अ.ल्या. को ३४ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

नगर सभामा बजेट पेस गर्दै उपप्रमुख अर्यालले उपमहानगरले सञ्चालन गर्ने केही प्राथमिक कार्यक्रमहरू पनि घोषणा गरेकी छन् ।

बुटवल उपमहानगरले उपलब्ध श्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै नगरबासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने भनेको छ ।

घोराहीको २ अर्ब ३२ करोड ९० लाखको बजेट प्रस्तुत

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० नीति योजना कार्यान्वयनका लागि २ अर्ब ३२ करोड ९० लाख ९१ हजार विनियोजन गरेको छ । उपमहानगरपालिकाको ११ औँ नगर सभाले आगामी आर्थिक वर्षका लागि उक्त बजेट शुक्रवार विनियोजन गरेको हो ।

विनियोजित बजेटमध्ये उपमहानगरपालिकाले १ अर्ब, २५ करोड ४१ लाख ८१ हजार अर्थात् कुल बजेटको ५३.८५ प्रतिशत चालू गत र १ अर्ब ७ करोड ४९ लाख १० हजार अर्थात् कुल बजेटको ४६. १५ प्रतिशत बजेट पुँजीगत तर्फ विनियोजन गरेको छ ।

उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले आगामी आर्थिक वर्षका लागि नीति तथा योजना कार्यान्वयनका लागि बजेट सार्वजनिक गर्दै आन्तरिक आय तर्फ ३२ करोड, वित्तीय समानीकरण अनुदानतर्फ ३५ करोड ९५ लाख, राजश्व बाँडफाँडतर्फ २५ करोड ७६ लाख ५८ हजार, संघीय राजश्व बाँडफाँटतर्फ ७ लाख संघीय सशर्त अनुदानतर्फ ७१ करोड, २ लाख, समपूरक अनुदानतर्फ १ करोड र विशेष अनुदानतर्फ २ करोड रुपैयाँ विनियोजन गरेको हो ।

त्यस्तै प्रदेश सरकार समानीकरण अनुदानतर्फ १ करोड, ६७ लाख २५ हजार, राजश्व बाँडफाँडतर्फ ४ करोड ४४ लाख ५७ हजार अनुदानतर्फ १ करोड ६० लाख, समपूरक अनुदानबाट ३ करोड र विशेष अनुदान ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा अपुग हुन आउने रकम ५३ करोड ५८ लाख ५१ हजार गत आर्थिक वर्षको बैंक मौज्दातबाट उपमहानगरपालिकाले व्यहोर्ने समेत बजेट वक्तव्यमार्फत उपमहानगरपालिकाले सार्वजनिक गरेको हो ।

तुलसीपुरको १ अर्ब ८६ करोड ४६ लाखको बजेट प्रस्तुत

दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि एक अर्ब ८६ करोड ४७ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले ११ औँ नगर सभाको नीति तथा कार्यक्रममा आधार रहेर उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

उपमहानगरपालिकाले चालू गत तर्फका कार्यक्रमहरू, प्रशासनिक खर्च र कार्यालय सञ्चालनतर्फ कुल खर्च रु. ४७ करोड ७२ लाख ७७ हजार रहेको छ । कुल बजेटको चालू गत २५.५९ प्रतिशत रकम विनियोजन गरेको हो । त्यस्तै विकास र सशक्तीकरण कार्यक्रमहरू, सशर्त कार्यक्रमहरू तर्फ कुल खर्च १ अर्ब ३७ करोड ९७ लाख ७९ हजार रहेको छ । पुँजीगततर्फ उपमहानगरपालिकाले कुल बजेट खर्चको ७३.९९ प्रतिशत विनियोजन गरेको छ ।

जसमा उपमहानगरपालिकाले आन्तरिक श्रोतबाट ३० करोड १२ लाख, स्थानीय तह राजश्व बाँडफाँड, मालपोत रजिष्टेशनबाट १० करोड, बैक मौज्दात रु ४ करोड ५० लाख गरी कुल आन्तरिक आम्दानी ४४ करोड ६२ लाख विनियोजन गरेको छ ।

संघीय सरकारबाट प्राप्त हुने अनुदानहरूमा समानीकरण अनुदान ३३ करोड ६२ लाख, सशर्त अनुदान ६२ करोड ९१ लाख, समपूरक अनुदान १ करोड ६० लाख, विशेष अनुदान १ करोड ३० लाख र राजश्व बाँडफाँड रकम रु २३ करोड ५५ लाख ३ हजार रहेको छ ।

नेपालगन्जमा १ अर्ब ६३ करोड

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले १ अर्ब ६३ करोड ६५ लाख ४०० बराबरको बजेट ल्याएको छ । उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राईले नीति तथा कार्यक्रममा आधारित रहेर यो अंकको बजेट ल्याएका हुन् । बजेटमा शिक्षा, पूर्वाधार विकास, कृषिसहितका योजनालाई प्राथमिकतामा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर