काम गरेको पारिश्रमिक नपाएको भन्दै मजदुरद्वारा विद्यालयमा ताला, विद्यार्थी चौरमा – Nepal Press

काम गरेको पारिश्रमिक नपाएको भन्दै मजदुरद्वारा विद्यालयमा ताला, विद्यार्थी चौरमा

सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १२ सानखोलामा रहेको जनकल्याण माध्यमिक विद्यालयको नवनिर्मित दुई कोठे भवनमा मजदुरहरूले तालाबन्दी गरेका छन् ।

आर्थिक वर्ष २०७७/०७८मा उक्त विद्यालयमा दुई कोठे भवन निर्माणका लागि भन्दै नगरपालिकाबाट १३ लाख बजेट आएको थियो ।

भवन निर्माण गर्न भन्दै महेन्द्र नेपालीसँग सम्पूर्ण भवन निर्माण गर्ने गरी मजदुर मोतीराम आचार्य र श्याम प्रसाद शर्माले सम्झौता समेत गरेका थिए । उनीहरूले भवन निर्माण भएको एक वर्ष बित्दा समेत दुई लाख १६ हजार रुपैयाँ नपाएको भन्दै उक्त पैसा असुल नहुन्जेल विद्यालयमा ताला लगाइदिएका हुन ।

कक्षा नौ र दश का विद्यार्थीहरू अध्ययन गर्ने ती दुई कोठामा ताला लागेपछि विद्यालयले कक्षा एक र दुई मा पढ्ने विद्यार्थीलाई चारुमा राखेको छ भने नौ र दश मा पढ्ने विद्यार्थीलाई त्यहाँ लगेर अध्यापन गर्न थालेको हो ।

विज्ञप्ति अनुसार मोतीराम आचार्य, श्याम प्रसाद शर्मा, कृष्णबहादुर नेपाली, नीराजन आचार्य, भिमलाल शर्मा, टेकबहादुर खत्री, रामलाल शर्मा, आश्मण शर्मा र झुपे खत्रीले दुवै कोठामा ताला लगाइदिएका हुन ।

‘हामीले बारम्बार पैसा माग्दा समेत महेन्द्रले दिएनन् । उनले नगरपालिकाबाट गत वर्ष नै सबै बजेट ल्याइ सकेका छन्,’ उनले गुनासो गर्दै भने, ‘कतैबाट पैसा असुली नहुने देखिएपछि हामीले निर्माण गरेको कोठाहरूमा ताला लगाइदिएका हौँ । ताला लगाएपछि हाम्रो पैसा असुल हुने आशा हामीले गरेका छौँ ।’

विद्यालयका प्रधानाध्यापक झुपालाल शर्मालाई यसबारेमा बुझ्न फोन सम्पर्क गर्दा उनको फोन उठेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *