बाराका सहायक सीडीओमाथि भ्रष्टाचार मुद्दा, सवा दुइ करोड बिगो दाबी – Nepal Press

बाराका सहायक सीडीओमाथि भ्रष्टाचार मुद्दा, सवा दुइ करोड बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईँविरुद्ध अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

न्यू पाथिभरा सप्लायर्स, हेटौंडासँग सम्झौता पत्रमा उल्लेख भएबमोजिमको सर्त पूरा नगर्दा पनि नियमित रूपमा गिट्टी बालुवा उत्खनन, बिक्री वितरण कार्य गर्न दिएको भन्दै आयोगले उनी विरुद्ध सवा एक करोड रुपैयाँ बिगो दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाईंले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गर्ने गरी न्यू पाथिभरा सप्लायर्स, हेटौंडा–४, मकवानपुरसँग सम्झौता गर्दा दुई किस्ताबापत हुन आउने रकमको ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत लिनुपर्नेमा नलिएर सम्झौता गरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ठेकेदारको तर्फबाट कबोल बमोजिमको रकममध्ये अहिलेसम्म दाखिला गर्न बाँकी रकम एक करोड २० लाख २८ हजार ९० रुपैयाँ नगरपालिकाको राजस्व रकम चुहावट गरेको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाईलाई बिगो एक करोड २० लाख २८ हजार ९० रुपैयाँ नै बिगो दाबी गर्दै कैद सजाय माग गरिएको छ ।

साथै न्यू पाथिभरा सप्लायर्स, हेटौंडा–४, मकवानपुरले कबोल गरेको अङ्कमा बाँकी दाखिला नगरेको रकम र ठेक्का कबोल रकमको हुन आउने मूल्य अभिवृद्धि कर रकम ४६ लाख ४४ हजार पाँच सय १० रुपैयाँ दाखिला गरेको नदेखिएकोले सोही रकमसमेत गरी एक करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ सार्वजनिक निकायलाई हानिनोक्सानी गरेकोले न्यू पाथिभरा सप्लायर्स, हेटौंडा४ मकवानपुर र त्यसका प्रोपाइटर मिराकुमारी श्रेष्ठलाई एक करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ नै बिगो दाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

यस्तै आर्थिक वर्ष २०७६-०७७ मा नै उपमहानगरपालिकाको वडा नम्बर १६ मा रहेको पसाहा खोलाको खोलाजन्य सामाग्री उत्खननको लागि ओम सप्लायर्सलाई ठेक्का दिएकोमा उक्त सप्लायर्सले ठेक्का सम्झौता अनुरुपको कार्य नगरी गैरकानूनी तरिकाले उत्खनन् गरेको भन्दै उनै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सेढाईँ विरुद्ध नै अर्को मुद्धा पनि आयोगले बिशेष अदालत काठमाडौंमा नै मुद्धा दर्ता गरेको छ ।

अनुसन्धानका क्रममा उनले ओम सप्लायर्स, कलैया उपमहानगरपालिका–६ बारासँग सम्झौता गर्दा बाँकी दुई किस्ताको हुन आउने रकमको ठेकेदार कम्पनीबाट कार्यसम्पादन जमानत लिनुपर्नेमा नलिई सम्झौता गरेको खुलेको छ । उक्त आर्थिक वर्षमा ठेकेदारको तर्फबाट कबोल बमोजिमको रकममध्ये बाँकी रकम ९९ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ अहिलेसम्म पनि दाखिला हुन नसकी उपमहानगरपालिकाको राजस्व रकम चुहावट हुन पुगेको देखिएको आयोगले जनाएको छ । त्यसैले सो कार्य भ«ष्टाचारजन्य कसुर भएकोले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाईलाई ९९ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ कायम गरी कैद सजाय माग दावी गरिएको छ ।

साथै खोलाजन्य पदार्थको उत्खनन तथा बिक्री वितरणको ठेक्का लिएवापत सम्झौताबमोजिम तिर्न बाँकी तेस्रो किस्तावापतको ९९ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ र बिक्री ठेक्का कबोल हुन आउने मूल्य अभिवृद्धि कर रकम ३८ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ दाखिला नगरेको देखिएको छ । सोहि रकमसहित जम्मा रकम एक करोड ३८ लाख ९९ हजार नौ सय ९८ रुपैयाँ सार्वजनिक निकायसमक्ष गरेको कबुलियत, सम्झौता पालना नगरी सार्वजनिक निकायलाई हानिनोक्सानी पुर्‍याएको पाइएको छ । त्यसैले ओम सप्लायर्स, कलैया–६, बाराका प्रोप्राइटर ओमशंकर प्रसादलाई एक करोड ३८ लाख ९९ हजार नौ सय ९८ रुपैयाँ विगो गर्न माग दावीसहित बिशेष अदालत काठमाडौंमा मुद्धा दर्ता भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *