दाइ हरिशरणबारे रविको टिप्पणी- जसले मलाई उठ्न सिकायो उविरुद्ध उठुँला र ? – Nepal Press

दाइ हरिशरणबारे रविको टिप्पणी- जसले मलाई उठ्न सिकायो उविरुद्ध उठुँला र ?

काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछानेले आफ्नो दाइ हरिशरण लामिछानेसँग एउटै निर्वाचन क्षेत्रबाट चुनाव नलड्ने संकेत गरेका छन् । आफूले पारिवारिक सल्लाह गरेर नै राजनीतिमा आउने निर्णय लिएको उनले प्रष्टीकरण दिए ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरेका रविका दाजु हरिशरणले भाइको कदमप्रति सार्वजनिक असन्तुष्टि जनाउँदै आएका छन् । भाइले आफूसँग सल्लाह नगरी राजनीतिमा आउने निर्णय लिएको उनको आरोप छ । रविले भने आरोप अस्वीकार गरे ।

‘सल्लाह नगर्ने कुरा आउँदैन, क्रमिकरूपमा सबैसँग सल्लाह गरिन्छ र गरिएको पनि छ,’ उनले भने, ‘म सबैसँग आशीर्वाद लिएरै आएको हुँ ।’
उनले दाजु हरिशरणका बारेमा भने, ‘म उहाँसँग सिकेर यहाँसम्म आएको हुँ । मलाई जसले उठ्न सिकायो उविरुद्ध नै कसरी उठ्न सक्छु ?’

रविले चुनाव आउँदासम्म परिस्थितिमा फेरबदल हुन सक्ने बताए । आफ्नो परिवारसमेत लोकतान्त्रिक अभ्यासमा चलेको भन्दै उनले यसलाई सकारात्मकरुपमा लिइदिन आग्रह गरे ।

‘हामीले परिवारभित्र कुनै साँठगाँठ गर्नुका साटो स्वतन्त्र ढंगले आआफ्नो निर्णय लियौं । यो पनि लोकतान्त्रिक अभ्यास नै हो । हाम्रो व्यक्तिगत सम्वन्धमा कुनै समस्या छैन । हामी परिवारभित्र खुलेर कुरा गर्छौँ । कतिपय कुराहरूमा सार्वजनिकरूपमा नै बोल्छौँ । हामी सँगै बेथितिविरुद्ध लड्ने छौँ, एकअर्काविरुद्ध लड्दैनौँ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर