नवलपरासीमा दुई मिटरब्याजी पक्राउ – Nepal Press

नवलपरासीमा दुई मिटरब्याजी पक्राउ

रूपन्देही । दृष्टिबन्धकबाट स्थानीयलाई ऋण दिएका नवलपरासीका दुई जना मिटरब्याजी साहुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका बेलाटारीका सुनिल बानियाँ र जगदीश बानियाँ रहेका छन् ।

स्थानीयलाई ऋण दिएका दुई साहुलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिएका छन् । उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र वास्तविकता बुझेर प्रक्रिया अघि बढाइने उनले बताए ।

उनीहरूसँग ऋण लिएका ४० जनाले काठमाडौं पुगेर आन्दोलन गरेका थिए । आफूले लिएको ऋणको मिटरब्याजसरह ब्याज लिएर उठिबास बनाएको भन्दै नवलपरासीका प्रतापपुर र सुस्ता गाउँपालिकाका ४० बढी ऋणीले ८ दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।

ऋणीहरुले तोकिएको ऋणभन्दा बढी बुझाएको रकम फिर्ता हुनुपर्ने र रकम दिन नसकेर साहुले लिएको जग्गा फिर्ता हुनुपर्ने माग राखेका छन् । उनीहरुले आफूले लिएको रकमको सात गुणा बढी तिरिसक्दा पनि अझै बाँकी रहेको भन्दै भएको जग्गा पनि हड्पन खोजेपछि आन्दोलन गर्नुपरेको बताएका छन् ।

मिटरब्याजीविरुद्ध काठमाडाैंमा आन्दोलन थालेपछि गृह मन्त्रालयले जिल्लामा निगरानी बढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो ।

यता साहुहरुले भने मालपोत कार्यालयबाट राजस्व दिएर दृष्टिबन्धकबाट ऋण दिएको र साँवा दिए ब्याज छाडिदिने बताएका छन् । कानूनी प्रक्रिया पूरा गरेर लिइएको ऋणीको जग्गासमेत साँवा पाए फिर्ता गर्ने बानियाँले नेपालप्रेसलाई बताएका थिए ।

तर, आन्दोलनकारीहरुले साहुले साँवा रकम नै बढाएको, डबल कागजमा हस्ताक्षर गराएकोलगायतका गम्भीर गल्ती गरेकाले कारबाहीको माग गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर