नेकपा एसमा ‘विद्रोह’ : मन्त्रीसहित १० सांसदको ८ बुँदे ‘लेटर बम’ मा के छ ? (पूर्णपाठ) – Nepal Press

नेकपा एसमा ‘विद्रोह’ : मन्त्रीसहित १० सांसदको ८ बुँदे ‘लेटर बम’ मा के छ ? (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा चारजना मन्त्रीसहितका १० जना सांसदहरूले विद्रोहको संकेत गरेका छन् । पार्टीको मन्त्री फेर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै उनीहरूले विद्रोहको संकेत गरेका हुन् ।

अध्यक्ष माधवकुमार नेपाललाई उनीहरूले संयुक्त हस्ताक्षर गर्दै ८ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । जसमा संसदीय दलको बैठकको पनि माग गरिएको छ ।

के छ आठ बुँदे ध्यानाकर्षण पत्रमा ?

१) आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न सकिन्न ।

२) पूर्वजानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठीक मान्न सकिँदैन ।

३) स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक-पटक आजै/भोलि नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न ।

४) मन्त्रीहरूले संसदमा बजेटसम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छोड्ने छौं भन्ने प्रतिबद्धतालाई कमजोरी ठानियो, यो व्यवहारप्रति हामी गम्भीर छौं ।

५) प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ । यसप्रति हामी गम्भीर असहमत छौं ।

६) पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सही मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागिता नभएको, गैरसांसद र एकै जिल्लाबाट दुईजना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं ।

७) मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टीम पूरै फिर्ता र नयाँ टीम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्न जोडदार माग गर्दछौं। यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउनसमेत माग गर्दछौं ।

८) यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउनसमेत माग गर्दछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर