सुबिना मृत्यु प्रकरणः पोष्टमार्टम रिपोर्टमा घाँटी थिचेर हत्या, बुबाले दिए किटानी जाहेरी – Nepal Press

सुबिना मृत्यु प्रकरणः पोष्टमार्टम रिपोर्टमा घाँटी थिचेर हत्या, बुबाले दिए किटानी जाहेरी

रुपन्देही । जेठ ३० गते रहस्यमय तरिकाले मृत्यु भएकी रुपन्देहीको तिलोत्तमाकी २५ वर्षीय धनकुमारी गिरी (सुविना)को पोष्टमार्टम रिपोर्टले माइती पक्षले दावी गर्दै आएको हत्या भएको आधारलाई बलियो बनाएको छ ।

पोस्टमार्टम रिपोर्टअनुसार ‘नेक प्रेसर’ का कारण मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएकाले माइती पक्षले लगाएको आरोप बलियो बनेको बताएका छन् । पोस्टमार्टम रिपोर्टसँगै सुविनाको हत्या दाबी गर्दै माइती तथा आफन्तले कर्तव्य ज्यान मुद्दा दर्ता गराएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले सुविनाको पोस्टमार्टम रिपोर्टअनुसार ‘नेक प्रेसर’ का कारण मृत्यु भएको प्रारम्भिक रिपोर्टमा देखिएको जानकारी दिएका छन् ।

पोष्टमार्टमको रिपोर्ट आएपनि शवको फरेन्सिक रिपोर्ट आउन भने बाँकी रहेको छ । केसीले पोस्टमार्टम रिपोर्टमा झुण्डिएर नभई घाँटी थिचिएर मृत्यु भएको आएकाले घाँटी के–कसरी थिचिएको हो भन्ने पूर्ण विवरण अनुसन्धान तथा फरेन्सिक रिपोर्टपछि मात्रै बताउन सकिने बताएका छन् ।

सुविनाको घाँटीमा दायाँ–बायाँ औंलाका डाँम र शरिरका विभिन्न ठाउँमा पनि डामहरु देखिएकाले आत्महत्या नभई हत्या भएको दाबी आफन्तको छ ।

तिलोत्तमा–६ घर भएकी सुविनाको उनका श्रीमान संजयले सञ्चालन गर्दै आएको मिलन रेष्टुरेन्टमा गएको जेष्ठ ३० गते झुण्डिएर आत्महत्या प्रयासमा मृत्यु भएको परिवारले बताउँदै आएको छ ।

घरदेखि करिब १ किलोमिटर दुरीमा रहेको होटलमा झुण्डिएकी सुविनालाई उद्दार गरी उपचारका लागि तिलोत्तमाकै मणिग्रामस्थित क्रिमसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको श्रीमान संजय गिरीले प्रहरी समक्ष बयान दिएका छन् ।

यद्यपि घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको भन्दै सुरुदेखि नै दाबी गर्दै आएको माइती पक्षले पोस्टमार्टम रिपोर्टपछि हत्याको आधार थप बलियो भएपछि इलाका प्रहरी कार्यालय बुटवलमा बुधबार ज्यान सम्बन्धि कसुरमा मुद्दामा पुरक जाहेरी दर्ता गराएका छन् ।

सुविनाका बुवा नवलपरासीको कावासोती नगरपालिका–१६ का नरु गिरीले जाहेरी दर्ता गराएका हुन् । सुविनाका श्रीमान अन्दाजी ३८ वर्षीय संजय र कञ्चन गाउँपालिका–१ घर भई मामा (संजय)को घरमा बस्दै आएका २१ वर्षीय कुसल गिरीलाई मुख्य अभियुक्त बनाई मुद्दा दर्ता भएको हो ।

सुविनाको घाँटी यांकेर, थिचेर, दबाएर मृत्यु भएको पुष्टि भएकोले अब सोही अनुरुप अनुसन्धानलाई अगाडि बढाउन सुविनाका बाबू नरु गिरीले प्रहरी समक्ष आग्रह गरेका छन । उनले गत जेठ ३१ गते नै इलाका प्रहरी कार्यालय बुटवलमा ज्यान सम्बन्धी कसुरमा छानबिन गरि कारबाही गरियोस् भनि जाहेरी दिएका थिए । सोही जाहेरीलाई बल पुग्नेगरी थप पूरक जाहेरी बुधबार दर्ता गराएका हुन् ।

झुण्डिएको अवस्थामा देख्ने कोही नभएको र पतिकै व्यवहार शंकास्पद लागेपछि माइतीले सुरुदेखि नै गहिरो अनुसन्धान गर्न माग गरेका थिए ।

लुम्बिनी प्रादेशिक हस्पिटलमा भएको पोस्टमार्टम रिपोर्टमा झुण्डिएर मृत्यु नभएको प्रष्ट भएपछि पतिको दाबी झुठो ठहर भएको सुविनाका बुवाले बताए । ८ वर्षअघि मागि विवाह गरेका संजयले बेला–बेलामा श्रीमातिमाथि कुटपिट समेत गर्ने गरेको आरोप छ ।

छोरी र ३ वर्षको छोरासहित भएकी सुविनाले आत्महत्याकै लागि घरदेखि करिब १ किलोमिटर दुरीमा रहेको होटलको कोठामा पुग्नु नै आश्चार्यजनक कुरा रहेको स्थानीयहरुले समेत बताउँदै आएका छन् ।

८ वर्षअघि मागी विवाह भएकी सुबिनाका ७ वर्ष र ४ वर्षका छोराछोरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर