आईजीपी सचिवालयकै एसएसपीलाई बढुवामा अन्याय ! – Nepal Press

आईजीपी सचिवालयकै एसएसपीलाई बढुवामा अन्याय !

काठमाडौं। नेपाल प्रहरीका रिक्त १७ नायब महानिरीक्षक (डीआईजी) दरबन्दीमा बुधबार बढुवा सिफारिस हुँदा आईजीपी सचिवालयमै रहेका एसएसपी ‘हेरेको हेरै’ भएका छन् ।

१५ महिना जुनियर ४ जना एसएसपी सिफारिसमा पर्दा विष्णुकुमार केसी भने छुटेका छन् । केसी नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता हुन् ।

केसीले एसपी रहँदा झापा प्रहरी प्रमुखका रुपमा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखको अवार्ड पाएका थिए । त्यसका बाबजुत आफ्नो एसपी ब्याचबाट पहिलो लटमा बढुवा हुनबाट रोकिएका केसी २०७७ वैशाखमा १९ जना एसपीको बढुवा हुँदा तेस्रो नम्बरमा थिए ।

पहिलो नम्बरमा रहेका वीरेन्द्रकुमार बस्यालले अवकाश पाइसकेका छन् भने दोस्रो नम्बरमा जनक भट्टराई थिए । त्यतिबेलाको बढुवामा सातौँ नम्बरमा रहेका अशोक सिंह, आठौँ नम्बरमा रहेका सुदीप गिरी, नवौँ नम्बरमा रहेका दुर्गा सिंह र १२ औँ नम्बरमा रहेका किरण राणा भने डीआईजी बढुवा सिफारिसमा परेका छन् ।

२०५१ सालमा प्रहरी सेवा प्रवेश गरेका  केसीले त्यसै वर्षको चैतमा प्रहरी निरीक्षकमा नाम निकाले पनि २०५२ मंसिरमा मात्र नियुक्ति पाएका थिए । त्यतिबेला प्रहरी निरीक्षकमा नाम निकाल्नेलाई २०५१ चैत, २०५२ भदौ र २०५२ मंसिर गरी तीन फरक मितिमा नियुक्ति दिइएको थियो ।

एसपीमा बढुवा हुँदा २०५१ चैतको टोलीसँगै पहिलो लटमा बढुवा भएका केसीलाई त्यसपछि लगातार दुईवटा दर्जामा जुनियरले उछिनेका हुन् । एसएसपी रहँदा केसी भरतपुर तालिम केन्द्र प्रमुख रहेका थिए । अन्यायमा परेका जनक भट्टाईले पनि एसएसपीका रुपमा काठमाडौं उपत्यका ट्राफिक कार्यालयको जिम्मेवारी सम्हालेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *