…. त्यसपछि मैले इजलासमै विष खाइदिएँ (भिडिओसहित) – Nepal Press

…. त्यसपछि मैले इजलासमै विष खाइदिएँ (भिडिओसहित)

मेरो नाम बिनु यादव । घर सिरहा हो । तर, बुवाको जागिरका कारण म सोलुखुम्बुको नेलेमा हुर्किएँ, बढेँ र पढेँ । पछि काठमाडौं आएँ ।

म काठमाडौंमा पढिरहेकी थिएँ र काम पनि गरिरहेकी थिएँ । एकदिन रामेछाप, मन्थलीका प्रदीप कठायतसँग मेरो साथी सुदर्शन थापामार्फत भेट भयो । प्रदीप क्वेस्ट इन्टरनेशनल कलेजमा पढ्थ्यो । ठिमीमा पनि उसको घर थियो । हामी चाँडै साथी भयौं । नियमित कुराकानी हुन थाल्यो । ऊ मेरोबारेमा एकदमै चासो लिन्थ्यो । मलाई केयर गर्थ्याे । मैले फोन उठाइनँ या बिरामी भएँ भने कलेज छाडेर भेट्न आउँथ्यो ।

मेरो बाबा बितिसक्नुभयो । उहाँ सरकारी जागिरे हुनुहुन्थ्यो । आमा अक्सिजनको सहारामा बाँचिरहनुभएको छ । उहाँ पनि सरकारी जागिरे हुनुहुन्थ्यो । भाइ र बहिनी सानै छन् । बुवा र आमाको पेन्सनबाट घर चलिरहेको छ ।

२०७५ सालमा मैले साथीहरुसँग सल्लाह गरेर जापान जाने तयारी गरेकी थिएँ । सबै डकुमेन्ट रेडी थियो । तर, उसले बाहिर नजान सल्लाह दियो । मलाई धेरै माया देखाउँथ्यो । त्यसैले उसको सल्लाह मानेँ ।

त्यसबेलासम्म हामी रिलेसनमा बसेको दुई वर्ष भइसकेको थियो । हामीबीच नियमित शारीरिक सम्बन्धसमेत हुन्थ्यो । उसले ठिमीमा रहेको आफ्नो घरमै लगेर शारीरिक सम्बन्ध राख्थ्यो । हरेक शुक्रबार लान्थ्यो, आइतबार मलाई कपनमा छाडिदिन्थ्यो । उसको परिवारको मसित र मेरो परिवारको ऊसित राम्रो चिनजान भइसकेको थियो ।

यसैबीचमा म प्रेगनेन्ट भएँ । मैले सुरुमा उसलाई नै बताएँ । उसले बच्चा फाल्नुपर्छ भन्यो । अहिले विवाह गर्ने वेला भएको छैन भनेर एबोर्सन गर्ने सल्लाह दिँदा मैले मानिनँ । बच्चा पेटमा आएपछि फाल्नु हुँदैन भनेँ ।

२०७५ साल चैत १९ गते अफिसबाट घर जाँदै गर्दा मलाई गाह्रो भयो । रातभर सुत्न सकिनँ । बिहानै टिचिङ अस्पताल जाँदा थाहा भयो, बच्चा पाठेघरको देब्रो नलीमा गएर बसेको रहेछ । अप्रेसन नगर्दा मेरो ज्यानै जाने अवस्था आयो । त्यसपछि अप्रेसन गरियो ।

मेरी आमाले सबै उपचार खर्च व्यहोर्नुभयो । प्रदीप मन्थलीमा थियो । मैले बोलाएपछि ऊ आयो । मैले २० गते अप्रेसन गरेँ । ऊ २१ गते आयो । २२ गते बच्चा आफ्नो हो भनेर उसले कागज गर्‍यो । त्यसपछि मलाई सिनामंगलको होटेलमा लगेर राख्यो । त्यहाँ दुई दिनसम्म बसेँ ।

मेरो पेटमा ९ टाँका लगाइएका थिए । २४ गते टाँका फुकाउने भनिएको थियो । त्यसै दिन बिहानै ७ बजेतिर ऊ आयो । म शरीर पनि चलाउन नसक्ने अवस्थामा थिएँ । त्यस्तै अवस्थामा पनि उसले मसित जबरजस्ती यौनप्यास मेट्यो । उसले जबरजस्ती रेप गर्दा मेरो पेटबाट टाँकाहरु नै खुस्कियो । म धेरै रोएँ । पछि अस्पताल गएँ ।

उसले फकाएर भन्यो, ‘भर्‍याङबाट लडेको भन है ।’ मैले अस्पतालमा उसले जे भनेको थियो, त्यही भनेँ । त्यसपछि उसले मलाई जडिबुटीको होटलमा राख्यो । घरमा कुरा गर्छु भन्यो । त्यसपछि ऊ हरायो ।

मसँग पैसा थिएन । मैले काम गर्ने अफिसको चाबी मसँग थियो । जतिवेला फुर्सद भयो, त्यहाँ जान्थेँ । मलाई घर जान अप्ठ्यारो लाग्यो, आमालाई के भन्ने ! अनि रुँदै अफिसमा १५ दिनसम्म बिस्कुट र चिया पिएर बसेँ ।

लगत्तै पछि फेसबुकमा देखेँ, प्रदीपले त नगरकोटतिर गएर केटीसँग रमाइलो गरेको फोटो हालेको रहेछ । त्यसपछि मैले ऊसँग फेसबुक आइडी मागेँ । सुरुमा दिएन । मैले झगडा गरेपछि दियो । झुक्किएर केटीसँगको च्याट डिलिट गर्न बिर्सेको रहेछ । मलाई यत्तिकै छाडिदिएर त्यो केटीसँग बिहे गर्ने उसको योजना मैले थाहा पाएँ ।

त्यसपछि मेरो टाउको रन्थनियो । म प्रयोगमात्रै भएको थाहा भएपछि सहनै सकिनँ । त्यसपछि न्याय खोज्दै भौतारिन थालेँ । बौद्ध, चक्रपथ, कपन प्रहरी चौकीमा गएँ । उनीहरुले महिलाको केस भएकाले टेकु पठाए । टेकुले कालीमाटी पठायो । मैले आफूमाथि जबरजस्ती करणी भएको जाहेरी दिएँ ।

सुरुमा त मैले उसको परिवारको सम्पर्कमा जान चाहेको थिएँ । तर, परिवारले ‘इग्नोर’ गर्‍यो । ठिमीमा उसको घर पनि गएको थिएँ । उसको मामाले मलाई धम्क्याए ।

‘तँ जस्तो केटी कति राखेको छ, के सक्छस् गर ! हामी पैसावाला मान्छे हो । तँ पैसामा बिक्ने मान्छे हो’, भनेर धम्याएपछि म रुँदै फर्किएँ ।
त्यसपछि मैले कालीमाटीमा किटानी जाहेरी दिएको हुँ । मेडिकल टेस्ट पनि भयो । प्रदीपको अर्को मामा डीएसपी रहेछन् । मैले जाहेरी दिएको थाहा पाएपछि डीएसपी मामाले पटकपटक मलाई पैसाको प्रलोभन दिए । मैले नमानेपछि ज्यान मारिदिने धम्कीसमेत दिए । अनि मैले भनेँ, ‘मलाई मारे पनि मार, यो केटाले मेरो जिन्दगी बर्बाद पारिदिएकै हो । भागेर लुकेर उन्मुक्ति पाउँदैन ।’

कालीमाटीमा जाहेरी दर्ता गर्ने ठाउँमा गीता थापा म्याम हुनुहुन्थ्यो । डीएसपीले उहाँलाई फोन गरेर ‘त्यो बलात्कार होइन, सहमतिमा भएको हो’ भनेर मेरै अघि भने । तर, एकपटक त मेरो बलात्कार भएकै थियो, त्यो पनि बिरामी अवस्थामा । मैले सबुद प्रमाण लिएर गएपछि दर्ता गरे ।
प्रदीपलाई मेरो कोठा थाहा थियो । एक दिन डीएसपी मामा सिल्भर कलरको कारमा चढेर सिभिल ड्रेसमा मेरो कोठामै आए ।

भाइ र बहिनी कलेज गइसकेका थिए । म अफिस जान लागेकी थिएँ । मेरो कोठामा पसेर हातमा पेस्तोल खेलाउँदै उनले भने, ‘म तेरो भाइलाई दश वर्ष जेल हालिदिन्छु । केटाहरु कसैलाई भन्यो भने त्यसको ब्यागमा हेरोइन, चरेस हालिदिन्छन् । पक्रेर थुनेपछि पुलिस केस हुन्छ । तेरो बहिनी यो कलेजमा पढ्छ । साँझमा घर फिर्छ कि फिर्दैन, बाटोमा गाडीले हान्यो भने के हुन्छ ?’

डीएसपीको कुराले मम्मी एकदमै रुनुभयो । आमाले मलाई भन्नुभयो, ‘तेरो कारणले भाइबहिनीलाई केही भयो भने जिन्दगीभर तेरो अनुहार हेर्दिनँ ।’

उनले साँझसम्म मुद्दा फिर्ता लिनेबारे सोच्नू भने । भोलिपल्ट प्रदीपको बुवा, मामा, मेरो साथी सुदर्शन थापा र प्रदीप आएर हामीलाई सिल्भर कलरको गाडीमा अपहरण शैलीमा लगे । पुलिसलाई खबर गर्लास् भनेर धम्की दिए । हामीले चाहेर पनि प्रहरीलाई खबर गर्न सकेनौं ।
हामीलाई कालीमाटी पुर्‍याइयो । मलाई कागजमा सिग्नेचर गर्न लगाइयो । त्यो पेपरमा के लेखेको छ भनेर थाहा पनि छैन । सायद जाहेरी फिर्ताको कागज थियो । अनि हामीलाई चाबहिलमा छाडिदिए ।

त्यसको दश दिनपछि २०७६ साल जेठ १९ गते मलाई ठिमीको घरमा लिएर गए । त्यहाँ मलाई घरभित्रै थुनेर राखियो । आफन्तहरु आउने, कुरा गर्ने गर्थे । तर, मलाई चाहिँ बाहिर निस्किन नदिने । अन्तिममा बुवा र मामाले प्रदीप र मेरो विवाह गराइदिए । मेरो परिवारको सदस्य र आफन्त कोही पनि नबोलाइकन मंसिर २५ गते विवाह भयो । घरमा भित्राउँदा पनि कुनै संस्कार गरेनन् । बिहेमा धन्न मैले एक दुईजना साथीहरु बोलाएको थिएँ र उनीहरुले फोटो खिचिदिए ।

दशैंको बेला उनीहरु रामेछापको मन्थली गए । प्रदीपले आफन्त बितेको छ, तिमीलाई लान मिल्दैन भन्यो । म मम्मीकहाँ आएँ । पछि फेसबुकमा हेर्छु त उनीहरुले रमाइलो गरेर दशैं मनाएका छन्, टीका लगाएका छन् । तिहार मनाएका छन् ।

यसवेलासम्म हाम्रो विवाह दर्ता भएकै थिएन । उनीहरुको मन्थलीको बसपार्कमा मनकामना एयरपोर्ट भ्यु होटल छ । त्यहाँ मेरो श्रीमान् प्रदीप बस्ने भएकाले म पनि त्यहाँ गएँ । त्यहाँ दिनरात होटलको काममा बिजी भएँ । मेरो पढाइ छुट्यो । मैले आमासँग पनि कुरा गर्न सक्दिनँ थिए । काममा डिस्टर्व हुन्छ भनेर मलाई मोबाइल चलाउन पनि दिँदैनथे । मलाई काठमाडौं फलोअपका लागि अस्पताल आउनुपर्ने थियो, त्यो पनि ल्याएनन् । तर पनि श्रीमान्ले राम्रै गरेका छन् भनेर चित्त बुझाएँ ।

समय बित्दै जाँदा परिवारको सदस्य मसँग कोही नबोल्ने । काका ससुरा मसँग अलि बोल्ने, क्लोज हुने गर्थे । तर, उनले मलाई सेक्सुअल ह्यारेसमेन्ट गर्न थाले । कुराहरु पनि त्यस्तै अश्लील खालको गर्ने । किचनमा उभिएर काम गरिरहँदा प्राइभेट पार्टमा छुने । अनि आन्टी भनेर झुक्किएँ भन्ने । बाथरुममा बोलाएर चिसो पानी, तातो पानी मिलाउन आएन भनेर जताततै छुने ।

मैले यो कुरा श्रीमान् प्रदीपलाई भनेँ । त्यसपछि उसले मलाई मेरो सासू–ससुरा भएको ठाउँमा लगेर राख्यो । तर, त्यहाँ पनि सासूले भूइँमा थाल राखेर खुट्टाले सारेर भात दिने । मलाई त्यहाँ पनि राम्रोसँग बस्न दिएनन् ।

यही बीचमा म दोस्रोपटक प्रेगनेन्ट भएँ । त्यहाँको माया दिदीलाई किट ल्याइमागेर चेक गर्दा पोजिटिभ आयो । मैले प्रदीपलाई प्रेगनेन्ट भएको बताएँ । खोइ किन हो, ऊ निराश भयो । बच्चा फाल्नुपर्छ भन्यो । मैले मानिनँ । फेरि फालेपछि के गर्ने ? तर ससुरा विमल कठायतले भने, ‘यो बच्चा जन्माइस् भने रोडमा गाडिदिन्छु । तँलाई तामाकोशीमा बगाइदिन्छु ।’

तर मैले जिद्दी गरेँ । मैले बच्चा फाल्न नमानिरहेको वेला प्रदीप सेल्सका लागि दुईवटा ट्रक लिएर गयो । ऊ सामान सप्लाइ गर्न जान्थ्यो । दिउँसो ३ बजेतिर उनीहरु आए । अनि सबै मिलेर मेरो हातमा प्लास्टिकको डोरीले बाँधेर घाँटी थिचेर एभोर्सनको औषधि खुवाए । प्रदीपको बहिनी प्रमिला कठायत जो अहिले के एण्ड के इन्टरनेशनल कलेजमा पढ्छ, ऊ, मेरो हजुरबा ससुरा जो भुपु सैनिकको सभापति हुनुहुन्छ र काका ससुराले जबरजस्ती खुवाए ।

श्रीमान दिउँसोभरि कता जान्थ्यो, राति उसको काम पर्थ्याे । एक दिन ज्वरो आएर सुतिरहेकी थिएँ । राति ११ बजे काकाससुरा आए । मलाई जबरजस्ती समाउन खोजेपछि म चिच्याएँ । उसको छोरी, श्रीमती, काम गर्नेहरु आए । मैले मलाई जबरजस्ती गर्न खोजेको भनेपछि उनीहरु सबै मिलेर मलाई नै कुटपिट गरे ।

म बन्धक बनेर बसेको धेरै भइसकेको थियो । अति भएपछि म भागेर तामाकोशी अस्पताल गएँ अटोमा । लकडाउनको वेला थियो । मैले डाक्टर केशव धामीलाई प्रहरी प्रशासन वा सुरक्षित ठाउँमा पुर्‍याइदिनु भनेर भनेँ । उनले मलाई स्लाइन पानी दिए । मैले डाक्टरलाई सबै कुरा बताएँ । डाक्टरको कठायत परिवारमा राम्रो सम्बन्ध छ भनेर थाहै थिएन । यसपछि त अचानक काका ससुरा आएर ‘तँ खातेनी, प्लास्टिक टिप्ने जातलाई मैले महलमा लिएर राख्दा भएन, बेइज्जत गरिस्’ भनेर लिएर गए । घरमा लगेर कुटपिट गरे । रडले हाने । पेटमा लातले कति हाने, हिसाब छैन । रडले पिटेको घाउहरु अझै मेरो जिउमा छन् ।

एक दिन मैले जिल्लाको डीएसपी वसन्त पाठकलाई म्यासेज पठाएँ श्रीमानकाे मोबाइलबाट । म फलानोको बुहारी हुँ, मलाई यहाँबाट उद्दार गर्नुस् भनेर लेखेँ । उनले मेरो घरमा आएर त्यो म्यासेज देखाइदिए । फेरि ममाथि कुटपिट भयो ।

त्यही बीचमा मेरो माइतीबाट मेरो खोजी भयो, कि लास देखाउ कि सास देखाउ भनेर । लकडाउनको समयमा मलाई अण्डा बोक्ने गाडीमा अस्पताल पठाए । तामाकोशी अस्पतालका डाक्टरले डिप्रेसनमा गएको भनिदिए । स्लिपिङ ट्याबलेट डबल डोज खुवाए । मेरो एभोेसर्न गराउने औषधि पनि उनैले गैरकानुनी रुपमा प्रदीपको परिवारलाई दिए । डाक्टरले फोनमा ‘यसलाई डबल डोज दिनू । यसलाई डिप्रेसन भएको छ’ भनेको रेकर्ड मसँगै छ ।

काठमाडौं आएर पाटनमा गएर चेक गराएँ । तर तामाकोशीका डाक्टरले भनेजस्तो केही पुष्टि भएन । ऊ साइक्रेटिक त होइन नि !
उनीहरुले विवाह गर्ने र जाहेरीको हदम्याद कटेपछि मलाई केही पैसा दिएर घरबाट लखेट्ने योजना बनाएका रहेछन् । मेरो विवाह दर्ता पनि वडामा नगई, वडा सचिवको सिफारिसविना गरिएको थियो । मलाई जबरजस्ती कोठामा थुनेर उनीहरुले भनेको मितिमा सहीछाप गराइएको थियो । मैले वडा सचिवलाई सोधेँ, ‘बिहे भनेको छ, साक्षी पनि कोही छैन । केही थाहा नपाई तपाईंहरुले कसरी बिहे दर्ता गराउन मिल्छ ?’
सचिवले भने, ‘यो कानूनविपरीत हो । तपाईंको परिवारका मान्छेले दबाब दिनुभयो ।’

उनले डकुमेन्ट सबै देऊ, तिमीलाई अप्ठ्यारो पर्दैन भनेपछि दिएँ । सचिवसँग कुरा गरेको फोन रेकर्ड पनि मसँग छ ।

लकडाउनलगत्तै प्रदीपले जिल्ला अदालतमा डिभोर्स केस फाइल गरेछ, मानसिक तनाव दिएको भनेर । वैवाहिक बलात्कारमा मुद्दा हाल्छु भनेर तनाव दिएको भनेर मुद्दा हालेछ । यसले मेरो कानुनी प्रक्रियालाई पनि कमजोर बनाइदियो । यसपछि मैले वैवाहिक बलात्कारको केस हाल्न मिलेन । मलाई शरीर बन्धक बनाएको केस हाल्न मिलेन । मेरो बच्चा तुहाइदिएको केस हाल्न मिलेन ।

मेरो ज्यानै लिने गरी औषधि चलाइदिएका छन् । यसको हिसाबकिताब कसले दिन्छ ? अब त मेरो पाठेघर यसरी बिग्रेको छ कि बच्चा पनि कहिल्यै नबस्ने डाक्टरहरुले बताएका छन् । म अब आमा बन्न नसक्नुमा त्यो कठायत परिवारको त हात छँदैछ । साथै त्यो तामाकोशीका डाक्टरको पनि हात छ । त्यो डीएसपीको पनि हात छ । उसको भान्जाले रेप गर्दा चाहिँ केस फिर्ता गराउने, अनि अरुकोमा के गर्छन् ?

मैले डीएसपीमाथि अनुसन्धान गरियोस् भनेर प्रहरीको हेडक्वार्टरमा निवेदन पनि दिएँ । तर, उनीहरुले अनुसन्धान नै गरेनन् । तामाकोशीको डाक्टर आज पनि मसँग भागेर हिँडेको छ ।

उनीहरुले मुद्दा हालेपछि मैले सम्बन्ध विच्छेद गर्दिनँ भनेँ । मेरो जिन्दगी खेलौना होइन भनेँ । अदालत धाउन मसँग पैसा थिएन । राम्रो वकिल राख्ने हैसियत थिएन हाम्रो । ‘हामी नेपाली, हाम्रो नेपाल नामक’ अभियानमा जाँदा सञ्जयराज अधिकारी भन्ने वकिल उहाँहरुले दिनुभएको थियो । पछि बल्लतल्ल उहाँलाई रामेछापको जिल्ला अदालत लगेँ । जसरी पनि बकपत्र गराइदिनुस् भनेर । तर, सञ्जयराज अधिकारीलाई कठायत परिवारले भेटेपछि मेरो मुद्दा लथालिङ छाडिदिए ।

अदालतका न्यायाधीश बद्रीप्रसाद वलीले ‘तिमी राम्री छौ, अर्को बिहे गर, उमेर छ’ मात्रै भनिरहे । इजलासको वेला पनि ‘तिमीलाई रुने दश मिनेट’ भन्दै बाहिरिन्थे । त्यहाँ गयो कि मलाई रुनमात्रै आउँथ्यो । मेरो एकमात्रै आशा पनि अदालत नै थियो ।

तर, मेरो वकिल सञ्जयराज अधिकारीले राम्रोसँग हेरिदिएनन् । अदालतले प्रदीपको पक्षमा फैसला गरिदियो । मैले न्याय पाइनँ । गएको बैशाख ७ गते अदालतले फैसला गरिदियो । प्रदीपलाई सफाइ दिइयो ।

अदालतको फैसला हुनुभन्दा एकसाता अघिबाटै घरमा टर्चर आएको थियो । आफ्नो विपक्षमा फैसला आउने छनक पाइसकेको थिएँ । अन्तिम आशाको रुपमा हेरेको अदालतले पनि न्याय नदिए के गर्ने ? बरु मर्छु भन्ने माइन्ड मेकअप बनाएर । फैसला आउने दिन विष किनेर ब्यागमा हालेरै अदालत गएँ ।

मैले इजलासकै अघि विष खाइदिएँ । त्यसपछि मलाई तामाकोशी अस्पतालमा लगेर वान्ता हुने केके औषधि खुवाए । मैले न्यायाधीशकै अघि मर्छु भनेर विष पिएकी थिएँ । त्यसपछि मलाई काठमाडौं ल्याउने भए, मैले त मलाई नलैजाऊ, बद्रीप्रसाद वलीकै अगाडि मर्छु भनेकी थिएँ ।
पछि काठमाडौंमा आएर १९ दिन आईसीयूमा बसेँ । अहिले विस्तारै स्वस्थ हुँदैछु । अब म उच्च अदालतमा मुद्दा हाल्ने तयारीमा छु । मेरो जम्मा माग भनेको कि मैले मर्नुपर्‍यो, कि त मैले न्याय पाउनुपर्‍यो ।

(विनुले नेपालप्रेसको कार्यालयमै आएर आफू हिंसामा परेको भन्दै सुनाएको कथा हामीले यहाँ जस्ताको तस्तै प्रस्तुत गरेका हौं । हामीले आरोपित प्रदीप कठायतलाई पनि फोन सम्पर्क गरी बिनुले लगाएका आरोपहरुबारे सोध्यौं । प्रदीपले सबै आरोप अस्वीकार गरे । विनुको नियत नै गलत रहेको र परिवारलाई फसाउन खोजेको उनले दाबी गरेका छन् । आफ्नोबारे समाचार प्रकाशित गरे मानहानीमा जाने भन्दै उनले धम्कीपूर्ण भाषासमेत प्रयोग गरे ।)

प्रतिक्रिया

16 thoughts on “…. त्यसपछि मैले इजलासमै विष खाइदिएँ (भिडिओसहित)

  1. यो बिषयमा उनलाई हरेक तरहले दुख भएको देखियो निष्पक्ष छानवीन कमिटी गठन गरि यथार्थ के हो दोषीलाई कारबाही गर्नुपर्नेछ, उनलाई रामेछाप किन लगियो के उदेश्यका लागि लगेको उनले भने बमोजिम टिचिङ्ग अस्पताल महाराजगन्ज ,कालीमाटी प्रहरी काठमाडौं जिल्ला रामेछाप प्रहरी कार्यालय , तामाकोसी अस्पताल का डाक्टर उसले भनेका सासू ससुरा काका ससुरा सासु नन्दा वकिल लगायत लाई सुक्ष्म रूपमा अनुसंधान गरि यथार्थ के हो पत्ता लगाइ कारबाही होस् ।

  2. यो बिषयमा उनलाई हरेक तरहले दुख भएको देखियो निष्पक्ष छानवीन कमिटी गठन गरि यथार्थ के हो दोषीलाई कारबाही गर्नुपर्नेछ, उनलाई रामेछाप किन लगियो के उदेश्यका लागि लगेको उनले भने बमोजिम टिचिङ्ग अस्पताल महाराजगन्ज ,कालीमाटी प्रहरी काठमाडौं जिल्ला रामेछाप प्रहरी कार्यालय , तामाकोसी अस्पताल का डाक्टर वकिल संजयराज अधिकारी अदालतका न्यायाधीश बद्री प्रसाद वली उनले भनेका नाता सम्बन्धका प्रदिप कठायत ससुरा काका ससुरा सासु नन्दा वकिल साथी सुदर्शन थापा लगायत लाई सुक्ष्म रूपमा अनुसंधान गरि यथार्थ के हो पत्ता लगाइ
    को दोषी हो कारबाही होस् ,नत्र न्याय मरेको देश हो भन्न सकिन्छ ।

  3. ekdamai dukhad..hamro samaj ko sacho chitran ..prasta jaach hos..harek tawar bata sosan..kanun ,prasasan , surakshya sabai mathi prasana..manche ko manabta mathi prasna..

  4. यो अति हो । खोइ न्याय । मान्छे लाई पशु मानेका छन । डाक्टर को नाम तु मेडिया मा आओस । लाइसेन्स खारेज होस । वलि डिएस्पि लाई कार्बाही होस सन्जय को बार को लाइसेन्स खारेज होस लगायत काका ससुरो को लिङ्ग छेदन होस ।

  5. Yekdami dhukha lagyo
    Hamro yesto Nayalaya Ch
    Shochu hos bholi arule kashri Naya pauch.
    Hami shbai milera waha lai Naya dilunu parch Ra Pradip KO purai family laie Kada bhanda Kada shjaya hunuparch.

  6. सिडियो घटना शक्ति हो भने यिनलाई साथमा लिएर यस घटनासँग सम्बन्धित कठा एक परिवार गाउँपालिका सजीव अोकिल, न्यायाधीश doctor लगायतका व्यक्तिहरुलाई तुरुन्त कानुनी कठघरामा ल्याएर बिनुलाइन्याय दिन जरुरी छ।

  7. गज्जव जव लाग्यो प्रदिप भन्नेको डीएसपी भन्ने मामाको बयान र हर्कत त्यसपछि के एन्ड के कलेजमा पढने उसको बैनीको एबोर्सन गर्न खुवाइयो औषधीको हर्कत यस्ताहरू चाँहि बलात्कारीहरूले पनि भेटदैनन किन जस्तो लाग्यो त्यो डीएसपी मामाले यस्तो गर्छ भने कति केस यसरी मिलायो होला यस्तोलाई पुलिस बन्नु भन्दा पनि एउटा गुण्डा ग्याङमा लागेर लुटपाट गरे हुने अर्को बद्री अधिकारी बिचरा न्याय मुर्ती रे यस्ताहरू त देशमा छन देशको यो हालत के नहोस बिचरा!!!

  8. यो हाम्रो समाजको चरित्र चित्रण त हो नै तथापी अरु सबै गलत हुदाॅ त सजाय दिने सम्मानिय अदालत पुर्ण रुपमा जवाफदेही ढंगबाट प्रस्तुत भई नियमन गर्नु नै उपयुक्त हुन्छ नत्र यो देशबाट न्याय नै हराउने खतरा आइलाग्न के बेर !!!!!

  9. पैसा भाको पहुँच भाको मान्छेले जे गरे पनि हुन्छ भन्ने समाजलाई देशमा संविधान छ कानुन छ है भन्ने आभास दिलाउन जरुरी त छ तर त्यो अधिकार त्यही बेक्तिलाई मात्रै छ जो अपराधी आफै हुन अब यस्तो अवस्था मा विनु यादव जस्ता कयौ घटना मा मारिएका छन् किनिएका छन् तर कोही चिनिएका छैनन् त्यसैले साथ सपोर्ट सबैको हुनु पर्छ यस्ता दलाल हरुलाई घुँडा टेकाउन पर्छ चाहे जे गरेर भय पनि

  10. दोशी उपर कारवाही गरि न्याय को लागि पहल गरोयोस्🙏

  11. कतिपय मौखिक जायरीलाई पनि अनुसन्धान गर्दै जाने हो भने सत्यतथ्य पक्कै पत्ता लाग्छ र पहिला मायाप्रेमको जालमा पारेर मान्छेले मान्छेको शोषण गर्नु भनेको एक प्रकारको मानव बेचबिखच र मानव ओसारपसार कै दर्जाको अपराध हो । प्रदिप सही भएको भए प्रेसले सम्पर्क गर्दा सरल र सभ्य भाषा प्रयोग गरेर प्रेसको जिज्ञासा र अनुसन्धानलाई सहज बनाउँथ्यो यहीबाट देखियो प्रदीप शोषक रहेछ भनेर यस्तालाई कडा भन्दा कडा कारवाही होस् ।

Leave a Reply

Your email address will not be published.