बारका पूर्वअध्यक्ष दाहालमाथि ८ करोड घुस लिएर ३२ करोड रूपैयाँ हुण्डी गर्न सघाएको आरोप – Nepal Press

बारका पूर्वअध्यक्ष दाहालमाथि ८ करोड घुस लिएर ३२ करोड रूपैयाँ हुण्डी गर्न सघाएको आरोप

वरिष्ठ अधिवक्ता हरिहर दाहाल र अधिवक्ता युवराज भण्डारीविरुद्ध कानून व्यवसायीकै उजुरी

काठमाडौं । जिल्ला अदालतका न्यायाधीश र अधिवक्ता रुद्र पोखरेलबीच भएको घुससम्बन्धी अडिओ सार्वजनिक भएलगत्तै वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष हरिहर दाहालको नाम हुण्डी प्रकरणमा मुछिएको छ ।

वरिष्ठ अधिवक्ता दाहाल र अधिवक्ता युवराज भण्डारीमाथि छानबिन गर्न माग गर्दै कानून व्यवसायी प्रेमसिंह धामीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दिएको निवेदन आफैंले सार्वजनिक गर्दै न्यायपरिषदको समेत ध्यानाकर्षण गराएका छन् ।

ललितपुर जिल्लाको एउटा जग्गा कारोबारमा भएको ३२ करोड रूपैया हुण्डीबाट भारतलगायतका देशमा गएको र यसमा वरिष्ठ अधिवक्ता दाहाल नै संलग्न रहेको भन्दै धामीले अख्तियारमा निवेदन दिएका थिए ।

३ रोपनी ७ आना जग्गाको हकमा २०७४ पुस १७ गते अल्कानन्द सेन गुप्ताको वारेस अमृतकुमार केसीले ललितपुर जिल्ला अदालतमा विनेदनसहित २ करोड ३ लाख ४ हजार ८३६ रूपैयाँ नगद नै जम्मा गरेको र उक्त रकम वरिष्ठ अधिवक्ता दाहाल र अधिवक्ता भण्डारीको संयुक्त अफिसबाट नगद नै जम्मा भएको देखिएको धामीको दाबी छ ।

उक्त जग्गा दिने अल्कानन्द सेन गुप्ता, लिपिसेन गुप्ता, उर्मीसेन गुप्ता र लिने भाइराजा अवाले, कृष्ण अवाल, राम अवाले, श्यामकाजी अवाले, केदार अवालेसमेत भएको राजीनामा लिखतमा उल्लेखित ३२ करोड रूपैयाँको प्रकरणमा वरिष्ठ अधिवक्ता मुछिएका हुन् ।

उक्त ३२ करोड रकम जुनसुकै बैंकको गुड फर पेमेन्ट चेक पेस गरी जग्गा राजीनामा गरी लिनुपर्नेमा ललितपुर मालपोत कार्याल्यका कर्मचारीसँग मिलेमतो गरी डोरमार्फत जग्गा राजीनामा गरेको अख्तियारमा धामीले दिएको निवेदनमा उल्लेख छ ।

उक्त राजीनामापछि ३२ करोड रकम स्टान्डर्ड चार्टर्ड बैंकको चेकबाट जग्गाधनीबाहेकका व्यक्तिको नाममा जारी भएको विनेदनमा उल्लेख छ ।

राजीनामाको लिखत पारित गरी लिखतमा उल्लेख भएको ३२ करोड रूपैयाँ हुण्डीबाट भारतलगायतका अन्य देशमा पठाइएको दाबी गर्दै धामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत उजुरी दिएको जनाएका छन् ।

विभागले मालपोत कार्यालयलाई २०७८ साउन २५ गते पत्राचार गरेको र अहिलेसम्म विचाराधीन रहेको छ । जग्गा पास गर्दा राष्ट्र वैंकको नीति उल्लंघन भएको र असम्बन्धित व्यक्तिको नाममा चेक काटेर पैसा हुण्डी गरी बाहिर पठाइएको कानून व्यवसायी धामीले बताएका छन् ।

उनले रकम हुण्डी गरी पठाउने कार्यमा वरिष्ठ अधिवक्ता दाहाल नै संलग्न रहेको भन्दै उनीमाथि छानबिनको माग गरेका छन् ।

धामीले बिहीबार उजुरी सार्वजनिक गर्दै आफूले उल्लेख गरेको व्यहोरा साँचो रहेको भ्न्दै जग्गा मिलाई दिएबापत वरिष्ठ अधिवक्ता दाहाल र अधिवक्ता भण्डारीले कमिसनबापत दुवै पक्षका ८ करोड रूपैया प्राप्त भएको दाबी गरेका छन् ।

८ करोड रूपैयाँ मुद्दाका दुवै पक्षबाट पाएबापत ३२ करोड रूपैयाँ हुण्डीमार्फत विदेश पठाउन सघाएको आरोप उनको छ । यो कुराको खुलासा गर्दा आफूमाथि षड्यन्त्र रचिएको भन्दै उनले कानून व्यवसायीले हुण्डीलगायतका गैरकानूनी कार्य गर्न मिल्ने कि नमिल्ने भनी प्रश्न गरेका छन् । उनले हुण्डी कारोबारमा वरिष्ठ अधिवक्ता संलग्‍न भएका सबै प्रमाणहरू आफूसँग सुरक्षित रहेको दाबीसमेत गरेका छन् ।


प्रतिक्रिया

One thought on “बारका पूर्वअध्यक्ष दाहालमाथि ८ करोड घुस लिएर ३२ करोड रूपैयाँ हुण्डी गर्न सघाएको आरोप

Leave a Reply

Your email address will not be published. Required fields are marked *