खडेरीले बाली सुक्न थालेपछि सल्यानका किसान चिन्तित – Nepal Press

खडेरीले बाली सुक्न थालेपछि सल्यानका किसान चिन्तित

सल्यान । जिल्लामा लामो समयसम्म परेको खडेरीका कारण वर्षेबाली सुक्न थालेको छ । खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित भएका छन् ।

खडेरीका कारण कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी बारीमै सुक्न थालेको छ । पानी नपरेका कारण खोलानाला सुक्न थालेका छन् । धानको ब्याडमा समेत पानी हाल्न समस्या भएको किसानले बताएका छन् ।

मकै गोडमेल तथा धान रोप्ने समयमा खडेरी परेपछि उत्पादन घटने चिन्ता हुन थालेको बनगाड कुपिण्डे नगरपालिकाका नवीन पुनले बताए । ‘मकैँ गोडमेल गर्ने बेला भएको छ, पानी नपर्दा सुक्न थालेको छ, बोट सुक्ने डरले कतिपयले गोडमेल नै गर्न छोडिसके’, उनले भने, ‘दिनभरको घामले बोट सुक्न थालेका छन् । ’

छत्रेश्वरी गाउँपालिकाका गणेश नेपाली पनि खडेरीले धानको बेर्ना सुक्न थालेको बताउँछन् । ‘रोपाइँ गर्ने बेला भइसक्यो, पानी पर्ला र बेलैमा खेती लगाउन पाइएला भनेको पानी पर्ने छाँटकाँट छैन’, उनले भने। खोलाका मुहानतिर खेत भएका केहीले रोपाई गरे पनि अन्यले आकासे पानी पर्खेर बसेको उनको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार करिब सात हजार हेक्टरमा धानखेती हुँदै आएको छ । करिब १९ हजार हेक्टरमा मकै र ६०० हेक्टरमा कोदोखेती गरिँदै आएको छ । समयमा पानी नपर्दा खाद्यान्न उत्पादनमा कमी आउने देखिएको छ ।
रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *