रविको पार्टीले स्वतन्त्र अभियानमा किचलो, साहुले आयोगमा उजुरी दिँदा सायमी तटस्थ (भिडिओ) – Nepal Press

रविको पार्टीले स्वतन्त्र अभियानमा किचलो, साहुले आयोगमा उजुरी दिँदा सायमी तटस्थ (भिडिओ)

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । ‘स्वतन्त्र उम्मेदवारी अभियान’ नामको लेटरहेड प्रयोग गर्दै डम्बर साहुले आज निवेदन दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निवेदन दिइएको विषयमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । देशैभर स्थानीय तहमा उम्मेदवारी दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वास्तविक स्वतन्त्र व्यक्ति/समूहलाई उक्त नामले गम्भीर आघात पुगेको साहुले बताएका छन् ।

‘कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचत हुन पाउने गरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्योल उत्पन्न भएको छ,’ निवेदनमा भनिएको छ ।

साहुले धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको आरोप लगाएका छन् । पार्टीको नामबाट स्वतन्त्र शब्द हटाएर अन्य शब्द प्रयोग गर्न उनको अनुरोध छ ।

‘स्वतन्त्र उम्मेदवार अभियान, अभियान्ता र देशैभरिमा स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरुको हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा समर्थन-सहकार्य नरहेको समेत जानकारी गराउँछु,’ उनले भनेका छन् ।

सायमी भन्छन्- आयोगले निर्णय लिने कुरा हो

स्वतन्त्र अभियानका नाममा साहुले आयोगमा उजुरी दिँदा यस अभियानको वास्तविक नेतृत्व गरिरहेका सुमन सायमीले भने अनभिज्ञता प्रकट गरे । उनले पार्टी गठन गर्दा आफूले चाहेको नाम छनोट गर्न पाउने अधिकार हुने भन्दै यसलाई ठूलो इस्यू नबनाउने बताए ।

उनले भने, ‘साहुजीसँग मेरो कुरा भएको थियो । मैले यसलाई ठूलो इस्यू नबनाउँ भनेको थिएँ । निर्वाचन आयोगमा उजुरी दिएको विषयमा मलाई जानकारी छैन ।’

यदि कुनै दृष्टिकोणबाट प्रस्तावित नाम अपयुक्त नभए त्यसलाई अस्वीकार गर्ने आयोगसँग अधिकार रहने सायमीको भनाइ छ ।
उनले भने, ‘यो आयोगको अधिकारक्षेत्रको कुरा हो, हामीले कुनै दबाब दिइरहनुपर्छ जस्तो लाग्दैन ।’

स्वतन्त्र नाममा पार्टी खोल्दा स्वतन्त्र उम्मेदवारहरूलाई अप्ठेरो पर्दैन ? भन्ने प्रश्नमा सायमीले भने, ‘मलाई त्यस्तो लाग्दैन । जनताले हामीलाई हाम्रो कर्मका आधारमा मूल्यांकन गर्ने हुन् । स्वतन्त्र भनेर मात्रै जनताले भोट हाल्छन् जस्तो लाग्दैन । मलाई व्यक्तिगतरुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा कुनै आपत्ति छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर