दुरुह यात्रामा रवि : कहाँसम्म पुग्लान् ? – Nepal Press

दुरुह यात्रामा रवि : कहाँसम्म पुग्लान् ?

काठमाडौं । निर्धारित समय १ बजेभन्दा एक मिनेट पनि ढिला नगरी रवि लामिछाने कार्यक्रमस्थल राष्ट्रिय सभागृह आइपुगे । १ बजेर १० मिनेटमा उनले माइक समाइसकेका थिए । समयको महत्त्व पटक्कै नबुझ्ने र कार्यकर्तालाई घण्टौँ कुराइदिने नेपालका नेताहरूसँग पहिलो फरकपना यही देखाए उनले ।

आजको ‘घोषणा सभा’ मा अरू पनि फरक अभ्यासहरू गरिए । कुनै अतिथि र सभापतिबिना कार्यक्रम सञ्चालन भयो । आसन ग्रहण, स्वागत मन्तव्य, धन्यवाद ज्ञापन इत्यादि केहीको लेठो गरिएन । मञ्चमा केवल रवि देखिए । उनले मात्रै बोले । पार्टीका अरू कुनै व्यक्तिको नामसमेत भनिएन ।

४७ वर्षीय रविले देशको राष्ट्रिय झण्डा ओढेर (सायद बालेन्द्र साहको सिको गर्दै) करिब ४७ मिनेट बुलन्द भाषण गरे । भाषणको मात्रै मूल्यांकन गर्दा उनलाई डिस्टिङ्सन मार्क दिन सकिन्छ । कुनै उम्दा नेताको भन्दा कम्ती गहकिला थिएनन् उनले हानेका पञ्चलाइनहरु (भलै एक ठाउँमा जनता भन्नुपर्नेमा ‘दर्शक’ भनिदिए ) । तर, राम्रो भाषणले मात्रै सफल नेता भइँदैन । भाषणसँगै उनले आफूलाई कामबाट पनि प्रमाणित गर्नुपर्ने चुनौती छ । कर्म क्षेत्रमा रविले आफूलाई कसरी प्रस्तुत गर्छन् आगामी दिनहरूमा देखिनेछ ।

०००

राजनीतिमा आउने निर्णय लिइसकेपछि रविसँग तीन विकल्प थिए । पहिलो, स्वतन्त्रको पक्षमा उर्लेको लहरलाई क्यास गर्दै आगामी संसदीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिने । दोस्रो, कुनै स्थापित पार्टीमा प्रवेश गरेर आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने । तेस्रो, आफैँ नयाँ पार्टी निर्माणको जोखिम उठाउने ।

स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जिते भने पनि उनले कुनै पासा पल्टाउन सक्ने थिएनन् । किनकि सांसद भनेको काठमाडौंको मेयरजस्तो शक्तिशाली पद होइन । आफ्नो निर्वाचन क्षेत्रमा एकाध बाटो पिच गराउने वा संसदभित्र ठूलो स्वरमा गर्जिनेबाहेक एउटा स्वतन्त्र सांसदले के नै लछारपाटो लाउन सक्छ र ?  यदि अर्को कुनै पार्टीमा प्रवेश गरेको भए त्यसमा पनि उनलाई ठूलो अवसर मिल्नेवाला थिएन । स्थापित र ठूला पार्टीले उनलाई निर्णायक भूमिका दिने थिएनन् । आफ्ना भिजन–एजेन्डाहरू उनले आफैँसँग राख्नुपर्थ्यो । साना पार्टीमा गएर जाँदा उनी राष्ट्रिय राजनीतिको मूलधारबाट बाहिर रहने थिए ।

उनले तेस्रो विकल्प रोजे । यसमा चुनौतीहरू अनगिन्ती छन् र अवसर पनि। उनले सबै कुरा शून्यबाट सुरु गर्नुपर्ने हुन्छ । चुनाव आउन मुस्किलले ६ महिना बाँकी छ । यहीबीचमा पार्टीको देशव्यापी सञ्जाल बनाएर पार्टीलाई चुनावमा होम्नुपर्ने छ । पार्टीको दस्ताबेज लेख्नेदेखि संगठन निर्माणसम्मका कामहरूमा उनी आफैँ सक्रिय हुनुपर्छ । यतिका पार्टीहरूको बीचमा छुट्टै अस्तित्व निर्माण गरेर जनताको नजरमा पर्न पक्कै सजिलो छैन । तर, यदि चुनावसम्ममा जनताकाे मन जित्ने भिजन र एजेन्डा प्रस्तुत गर्न सके भने असीमित सम्भावनाकाे ढाेका खुल्न सक्छ ।

०००

आजको भाषणमा रवि देशका मुख्य राजनीतिक एजेन्डाहरूमा प्रवेश गरेनन् । सायद त्यसको गृहकार्य गरिनसकेको पनि हुन सक्छ । उनको पार्टीले बोक्ने विचार–सिद्धान्तका कुराहरू यथाशक्य छिटो लिखित दस्ताबेजकै रूपमा सार्वजनिक गरिनु अपेक्षित छ । किनभने कुनै पनि राजनीतिक पार्टी विचारको जगमा निर्माण हुने हो । विचारविहीन पार्टी भनेको एउटा दिशाहीन भिड मात्र हुन्छ ।

खासगरि, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका एजेन्डाहरूमा रविले कुन धारमा आफूलाई उभ्याउँछन् भन्ने कौतूहल धेरैलाई छ । देशको आर्थिक समृद्धिका लागि उनीसँग के नयाँ भिजन प्रस्तुत गर्छन् भन्ने जिज्ञासा छ । रविले आउँदो चुनावसम्म आफूले चाहेको देशको नक्सा जनतालाई देखाउने बताएका छन् । त्यो नक्सा नदेखाउँदासम्म जनताले उनको पार्टीका प्रति धारणा बनाउन कठिन हुन्छ ।

नयाँ पार्टी निर्माणको निर्णय लिनुभन्दा अघि विभिन्न दलहरूसँग संवादमा थिए रवि । उनी कांग्रेस–एमालेदेखि राप्रपासम्म नेगोसिएसन गरिरहेका थिए । यो आफैँमा सिद्धान्तहीनता र अवसरवादीता हो । यदि उनी गणतन्त्रवादी हुन् भने राप्रपासँग केका निम्ति नेगोसिएसन गरे ? यदि राजतन्त्रवादी हुन् भने कांग्रेससँग किन बार्गेनिङ गरे ?

बुझिएअनुसार रवि राजसंस्थाप्रति सदाशयता राख्छन्, तर गणतन्त्रवादी भनेर चिनिन चाहन्छन् । संघीयताप्रति आलोचनात्मक दृष्टिकोण राख्छन्, तर संघीयताको विरोधमा उभिने साेचाइ उनकाे छैन । धर्मनिरपेक्षता नेपालका लागि अनावश्यक ठान्छन् । तर, हिन्दूराज्यको खुलेर वकालत गर्न सक्दैनन् । यही सैद्धान्तिक अन्याेलबाट बाहिर निस्केर प्रष्टताका साथ आफूलाई प्रस्तुत गर्नु नै उनको पहिलो चुनौती देखिएको छ । जुन गल्ती रवीन्द्र मिश्रले लामो समय गरे, त्यो उनले दोहोर्‍याउनु हुँदैन ।

०००

रवि लामिछानेले आफ्नो पार्टीका फरक विशेषता भन्दै सात वटा बुँदा उल्लेख गरेका छन् । ती बुँदाहरूको चिरफार गरौंः

पहिलो बुँदामा पार्टीको आन्तरिक चुनावबाट छनोट भएको व्यक्तिले मात्रै निर्वाचनमा उम्मेदवार बन्न पाउने अवधारणा अघि सारिएको छ । यो खासै नौलो होइन । अरू पार्टीले पनि पार्टीका विभिन्न कमिटीहरूबाट निर्वाचित (कतै सर्वसम्मत) भएर नै उम्मेदवार उठाउने गरेका छन् ।

तर, रविले यो पनि बताए कि कसैले यदि उनको पार्टीको समर्थनमा कुनै योग्य व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिन खोजेमा त्यो सुविधा पनि दिइने छ । एकातर्फ पार्टीभित्र निर्वाचित हुनुपर्ने, अर्कोतर्फ पार्टीबाटै स्वतन्त्र हैसियतमा पनि चुनाव लड्न पाइने कुरा द्विविधायुक्त देखियो । सायद यसबारे आगामी दिनमा प्रस्ट्याउलान् ।

पार्टीको दोस्रो विशेषतामा उनले पार्टीका सबै कमिटीमा ५० प्रतिशतभन्दा बढी ‘युवा’ रहने बताएका छन् । यो कर्णप्रिय तर अनुचित कुरा हो । कुनै पनि पार्टीले युवाहरूलाई बढी स्थान दिन खोज्नु स्वागतयोग्य भए पनि उमेरका आधारमा कोटा नै तोक्नु चाहिँ उचित हुँदैन । उमेरले युवा हुँदैमा सक्षम हुने र निश्चित उमेर काट्नसाथ असक्षम हुने होइन । मुख्य कुरा क्षमताको हो । समर्पणको हो ।

लामिछानेले तेस्रो बुँदामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको वकालत गरेका छन् । यो पार्टीको विशेषताभन्दा पनि सैद्धान्तिक प्रश्न हो । बहुसंख्यक जनता प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख वा सरकार प्रमुखकै पक्षमा छन् । अरू दलहरूले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको कुरा गरेका छन् । त्यसैले यो नौलो अवधारणा होइन ।

रविले एकातर्फ आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न आएको बताएका छन् । जुनसुकै व्यवस्थामा पनि इमानदारिताका साथ काम गरेको खण्डमा राष्ट्र निर्माण गर्न सकिने उनकाे विश्वास छ । अर्कोतर्फ अहिलेको प्रणाली बदल्दै प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने मत राखेका छन् । सायद जनताकाे मतमार्फत भविष्यमा उल्लेखित पदमा पुग्ने महत्त्वाकाङ्क्षा उनमा हुन सक्छ ।

चौथो बुँदामा उनले राइट टु रिकल र राइट टु रिजेक्टको अवधारणा अघि सारेका छन् । पार्टीका तर्फबाट सार्वजनिक पदमा पुगेको व्यक्तिले राम्रो कार्यसम्पादन गर्न नसकेमा सदस्यहरूको मतबाट फिर्ता बोलाउने कुरा रविले गरका छन् । यो पनि नयाँ अवधारणा होइन । अहिले पनि सरकारमा गएका व्यक्तिहरूको काम कारबाही चित्त नबुझेमा पार्टीले फिर्ता बोलाउने अभ्यास भइरहेकै छ । यसमा सदस्यहरूको मतका आधारमा भने उनको मौलिक सोच हो ।

पाचौं बुँदा डिजिटल डेमोक्रेसीको कुरा गरिएको छ । पार्टीका सबै आन्तरिक गतिविधिहरू डिजिटल प्लेटफर्मबाट हुन सक्ने गरी संयन्त्र बनाउने रविको योजना छ । भविष्यमा सिंगै देशलाई डिजिटलाइजेसन गर्ने उनले बताएका छन् । यो अरू पार्टीहरूले पनि भन्दै आएका कुरा हुन् र असहमत हुनुपर्ने ठाउँ छैन ।

छैटौँमा रविले परिवारवादलाई पूर्ण निषेधको कुरा गरेका छन् । परिवारको सदस्य वा नातेदारलाई पार्टी वा सरकार (यदि पुगेमा) कतै पनि स्थान नदिने उनले बताएका छन् । यो पनि कर्णप्रिय तर अव्यवहारिक कुरा हो । पार्टीभित्र कसैको नातेदार वा परिवारको सदस्य हुँदैमा उसले अवसरबाट वञ्चित हुनु पनि अन्यायपूर्ण हुन्छ । किनकि उसले पनि पार्टीमा आफ्नो ठाउँबाट योगदान गरेको हुन सक्छ । कुनै योगदानबिना परिवारका सदस्य वा नातेदार भएकै आधारमा अवसर दिनु नहुनेमा चाहिँ उनी सचेत हुनपर्छ ।

परिवारवादलाई प्रश्रय नदिने बताउँदै गर्दा आफ्नो भाषणमा श्रीमती निकितालाई मात्रै धन्यवाद दिनु, शहिदगेटदेखि निर्वाचन आयोगसम्म पनि श्रीमतीलाई साथ लैजानुले पनि कतै न कतै परिवारवादकाे गन्ध आउँछ ।

साताैँ बुँदामा पार्टीमा कोही पनि कार्यकर्ता हुनु नपर्ने र सदस्य मात्रै हुने बताइएको छ । यो शाब्दिक भिन्नताको कुरा मात्रै हो । व्यवहारिक हिसाबले कुनै पनि पार्टीमा नेता र कार्यकर्ता हुन्छन् नै । सदस्यहरूको हैसियत कार्यकर्ताकै हुन्छ । तथापि, कार्यकर्ताभन्दा सदस्य भन्नु अलिक सम्मानजनक सुनिन्छ ।

यस्तै, रविले पार्टीको कुनै पनि भातृसंगठन नबनाउने घोषणा गरेका छन् । भातृ सङ्गठनहरू वास्तवमा अत्यावश्यक पनि होइनन् । जनताको विभिन्न तप्कामा पार्टीको संगठन विस्तार गर्ने गरी भातृ संगठन निर्माण गर्ने प्रचलन रहिआएको छ । यस्ता सङ्गठनहरू कहिले प्रभावकारी देखिएका छन् त कहिले समस्याजन्य पनि देखिएका छन् ।

०००

रविले एउटा सञ्चारकर्मीको रूपमा ठूलो लोकप्रियता हासिल गरे । त्यही लोकप्रियताको बलमा राजनीतिमा स्थापित हुन उनलाई सजिलो छ । उनको बनिबनाउ समर्थहरू पहिल्यै छन् ।

तर, रविले एउटा ठूलो जोखिम पनि लिएका छन् । सञ्चारकर्मीका रूपमा उनलाई केहीको कमी थिएन । ख्याति कमाएका थिए । जनताको माया पाएका थिए । आर्थिकरुपमा पनि फलिफाप नै थियो । तर, त्यसमा मात्रै उनले चित्त बुझाएनन् । देश निर्माणको हुटहुटीले उनलाई राजनीतिमा धकेलेको छ । ठूलो महत्त्वाकाङ्क्षाका साथ उनले आफ्नो मार्ग परिवर्तन गरेका छन् ।

उनका आगामी दिनहरू अत्यन्तै चुनौतीपूर्ण हुनेछन् । पहिलो परीक्षा आगामी संघीय र प्रदेशको चुनावमा दिनुपर्ने छ । उक्त चुनावमा कुनै परिणाम निकाल्न सकेनन् भने के गर्छन् ? आफैँले चुनाव हारे भने भने पाँच वर्ष धैर्यपूर्वक पार्टी निर्माणमा लाग्नुपर्ने हुन्छ । त्यो धैर्यता उनमा छ कि छैन ? त्यो समयले बताउने छ ।

रविले समानुपातिकमा जनताले आफ्नो पार्टीलाई मत हाल्ने आशा गरेका छन् । उनी पार्टी निर्माण गर्न उत्प्रेरित हुनुको मुख्य कारण पनि यही नै हो । दोस्रो संविधानसभा चुनावमा जसरी राप्रपा नेपालले समानुपातिकमा ह्वीम सिर्जना गरेको थियो, त्यसैगरि यो चुनावमा आफ्नो पार्टीको पक्षमा माहोल बन्ने उनले सोचेका छन् ।

तर, चुरो कुरा के हो भने त्यस्तो माहोल बनाउनका लागि उनले जनतालाई रिझाउने विशेष एजेन्डा र भिजन अघि सार्न सक्नुपर्छ । यो मात्रै होइन, ती भिजन कार्यान्वयनका लागि आफूसँग बलियो र दक्ष टिम पनि उनले देखाउन सक्नुपर्छ । तब मात्रै जनताले पत्याउँछन् । केवल रविको अनुहार हेरेर जनताले उनको पार्टीलाई भोट हाल्ने वाला छैनन् ।

रविलाई अरू परम्परागत पार्टीभन्दा फरक देखिने चुनौती छ । तर, फरक देखिने नाममा हरेक कुरामा नयाँ–नयाँ अभ्यास गर्न खोज्नु चाहिँ मुर्खता हुन सक्छ । केही आफ्नो मौलिकता र केही प्रचलित अभ्यासहरूलाई अन्तरघुलन गर्दै अगाडि बढ्नु नै श्रेयष्कर हुन्छ । फरक गर्ने भनेर टाउकोमा मोजा र खुट्टामा टोपी लगाएर हिँडेको राम्रो लाग्दैन ।

रविको पार्टीको नामलाई लिएर पनि सवाल उठेको छ । उनले आफ्नो पार्टीलाई ‘राष्ट्रिय स्वतन्त्र पार्टी नामाकरण गरेका छन् । यसमा कतै न कतै त्रुटि भएको छ । सैद्धान्तिक हिसाबले एउटा राजनीतिक दल कसरी ‘स्वतन्त्र’ कहलाउन सक्छ ? यसले स्वतन्त्र उठेका उम्मेदवार वा आफूलाई ‘स्वतन्त्र’ भन्ने मतदाताहरू मर्कामा पर्नेछन् । अब कसैले आफूलाई ‘स्वतन्त्र’ भनेर मात्रै नपुग्ने भयो, रवि लामिछानेवाला स्वतन्त्र कि साँच्चिकै स्वतन्त्र भन्ने प्रस्ट पार्दै हिँड्नुपर्ने झ्याउलो हुने छ ।

जेहोस देश निर्माणको पवित्र सोच राखेर एउटा अब्बल सञ्चारकर्मी राजनीतिको मैदानमा उत्रेको छ । सुरुमै उसलाई हतोत्साही गर्नु उचित हुँदैन । आखिर सही सोच र भिजन भयो भने यस्तै युवाहरूले नै हो देश बदल्ने । रविसँग साहस छ, ऊर्जा छ र सबैभन्दा ठूलो कुरा असल नियत छ । अब सही भिजन पनि अघि सारेर आफूलाई इमानदारितासाथ अगाडि बढाएको खण्डमा उनलाई सफल हुनबाट कसैले रोक्न सक्दैन । देशले उनीबाट धेरै आशा राखेको छ ।

प्रतिक्रिया

One thought on “दुरुह यात्रामा रवि : कहाँसम्म पुग्लान् ?

  1. धर्म र राजसंस्था वारेको स्पष्ट धारणाले राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य निर्धारण हुनेछ , चाडै त्यो धारणा आउनु पर्यो , हतार छ हामिलाई देश निर्माण भएको हेर्न । सोचेर है रवी सर आशा धेरै छ नेपाली जनतालाई ।

Leave a Reply

Your email address will not be published.