बालेनले बालेको झिल्को – Nepal Press

बालेनले बालेको झिल्को

काठमाडौं । नेपालले हालै मात्र एउटा चुनावको मैझारो गरेको छ भने यसै वर्ष अरु दुई चुनाव पर्खाइमा छन् । स्थानीय चुनाव सकिएपछि संघीय र प्रदेश चुनावको घोषणा नहुँदै माहोल तात्न थालिसकेको छ ।

हालै सम्पन्न स्थानीय चुनावको नतिजाले राजनीतिक दलहरूलाई निकै ठूलो झ्टका दियो । सबैको चासोको क्षेत्र काठमाडौं महानगरपालिकामा ठूला र शक्तिशाली दलहरूलाई पन्छाउँदै स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले बाजी मारे । जनकपुरमा मनोज साह, धनगढीमा गोपाल हमाल, बर्दिबासमा प्रह्लाद क्षेत्री र तारादेवी, धरानमा हर्क साङपाङले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जिते । गणितीयरूपमा यो संख्या धेरै ठूलो होइन, तर अर्थपूर्ण हो । जनताले राजनीतिक दलहरूको विकल्प खोजिरहेका छन् भन्ने सन्देश स्थानीय चुनावको नतिजाले दिएको छ ।

स्वतन्त्र उम्मेदवारको जितमा जसरी सबैतिर खुसीयाली मनाइएको छ र जुनरूपमा उनीहरूलाई समर्थन जनाइएको छ, त्यो सम्पूर्ण राजनीतिक दलहरूको लागि खतराको घण्टी हो भन्दा फरक नपर्ला । त्यसमाथि पनि सारा संसारले नेपाललाई चियाउनको लागि प्रयोग गर्ने आँखीझ्यालरूपी काठमाडौं, राजनैतीक दलहरूको ‘हेड क्वाटर’ रूपी काठमाडौं र चुनावको ‘इपिसेन्टर’ काठमाडौंमा स्वन्तन्त्र उम्मेदवार बालेन्द्र साहले हात पारेको सफलता आफैंमा अभूतपूर्व छ । बालेन्द्र साह स्वतन्त्र उम्मेदवारको ‘ब्राण्ड एम्बासडर’ कै रूपमा स्थापित बनेका छन् ।

मुलधारका पार्टीबाट आजित बनेका जनताले अब एजेण्डा र भिजन भएका उम्मेदवारलाई पालो दिनुपर्छ भन्ने मानसिकता बनाइसकेका छन् भन्ने भाष्य निर्माण गर्नका लागि बालेन्द्रले मुख्य भूमिका निर्वाह गरेका छन् । देशमा परिवर्तन र विकास ल्याउनको लागि राजनीतिक पार्टीमा आबद्द हुनुपर्छ, आबद्द भएर मात्र पुग्दैन, नेतृत्वको चाकडी गर्नुपर्छ, चाकडीले मात्र पुग्दैन नेतृत्वको कृपाले टिकट पाउन पर्छ, टिकटले मात्र पुग्दैन चुनावमा करोडौं खर्च गर्नुपर्छ भन्ने मान्यतालाई बालेन्द्रहरूले भताभुङ्ग बनाइदिए । त्यसकै प्रभावस्वरूप अहिले परिवर्तनका आकांक्षी युवाहरू जुर्मुराउन थालेका छन् ।

बालेन्द्रहरूको जितले एकातिर वैकल्पिक शक्तिको खोजी गरिरहेको वर्गका मतलाई संस्थागत गरिदिएको छ भने अर्कातिर चुनावलाई सुलभ बनाइदिएर युवा वर्गमा आँट भरिदिएको छ, लहर पैदा गरिदिएको छ । आगामी संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरू नयाँ ‘बालेन्द्र’ को रूपमा स्थापित हुन सक्लान् वा नसक्लान् त्यो समयले बताउनेछ ।

हुन त बालेन्द्रको जितलाई राजनीतिक पार्टीहरूले अपवादको संज्ञा दिइरहेका छन् । कोही-कोही नेताहरू त आफ्नो पार्टीको जस्तै धारणा बोकेकाले स्वन्तन्त्र उम्मेदवारहरूको जित सफल भएको हो भन्दै स्वतन्त्र उम्मेदवारको जितको क्रेडिट पनि आफैंले लिनसमेत पछि परेका छैनन् ।

बालेन्द्रहरूको जितलाई राजनीतिक पार्टीहरूले सुध्रिने मौकाको रूपमा लिनुपर्ने राजनीतिक विश्लेषक डा. उद्दव प्याकुरेल बताउँछन् ।

‘बालेन्द्रहरूको जित भनेको राजनीतीक पार्टीहरूलाई आममानिसहरूले गरेको ‘क्रस-चेक’को रूपमा लिन सकिन्छ । यो भनेको पार्टीहरूलाई सुध्रने मौका हो,’ उनले भने । देशको समग्र अवस्था हेर्दा बालेन्द्रहरूको जितलाई अपवादकै रूपमा लिन सकिने भए तापनि यस्ता अपवादहरू पछि गएर लहरको रूपमा स्थापित हुन सक्ने सम्भावनालाई भने नकार्न नसकिने प्याकुरेलको भनाइ छ । संघीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गरेमा स्थानिय जनप्रतिनिधिको भन्दा बढी काम गर्न सजिलो हुने समेत उनले बताए ।

हालको अवस्थामा स्वतन्त्र उम्मेदवारहरूको जितलाई दलीय व्यवस्था प्रतिको वितृष्णा वा असफलताको प्रतिकको रूपमा भने व्याख्या गर्न नहुने उनको भनाइ छ ।

उनले भने, ‘अहिले कहीँ कतै स्वतन्त्र उम्मेदवारको जितलाई दलीय व्यवस्थाको असफलताको रूपमा व्याख्या गरिएको देखिन्छ तर त्यस्तो होइन,’ उनले भने, ‘यो लोकतन्त्रको उच्चतम अभ्यास हो । स्थानीय चुनावमा देशभरबाट स्वतन्त्र उठेर जित हासिल गरेका उम्मेदवारहरू साह्रै कम छन् ।’

पार्टीले टिकट नदिएपछि बागी भन्दै स्वतन्त्र उम्मेदवारी दिने प्रवृत्ति छ । त्यसैले को वास्तविक स्वतन्त्र हो वा होइन भन्ने मतदाताले नै छुट्याउनुपर्ने हुन्छ । अहिलेका सचेत मतदाताहरूले पक्कै पनि यति छनोट गर्ने सामर्थ्य राख्छन् ।

प्याकुरेल भन्छन्, ‘नेपालीहरू कुनै न कुनै रूपमा पार्टीमा आबद्द हुने परिपाटी पनि व्याप्त छ, यसले गर्दा पनि दलीय व्यवस्था असफल भयो भन्न सकिन्न ।’

हालको अवस्था हेर्दा बालेन्द्रहरूको जित अपवाद नै भए पनि धेरै युवाहरूको लागि परिवर्तनको बिगुल फुक्ने आँटको रूपमा देखापरेको छ । जसको ज्वलन्त उदाहरण हुन्, लामो सञ्चारकर्मलाई पूर्णबिराम लगाउँदै संघीय चुनावमा उम्मेदवारी दिन लागेका रवि लामिछाने, सञ्चारकर्मी हरिशरण लामिछाने, अभियन्ता सुमन सायमी, अर्का अभियन्ता पुकार बम, पुर्वडीआईजी रमेश खरेललगायत ।

उनीहरूको पृष्‍ठभूमि र लोकप्रियतालाई मध्यनजर गर्दा उनीहरू नितान्त बालेन्द्रहरूको जितले हौसिएका मात्र हुन् भनेर ठोकुवा गर्न कदापी जायज हुँदैन, तर बालेन्द्रहरूको जितले उनीहरूलाई एउटा ढाडस भने पक्कै मिलेको छ । समानुपातिक प्रणाली सहितको बहुदलीय प्रणालीको कारण वर्तमान अवस्थामा कुनै पनि राजनीतिक पार्टीहरूले बहुमत ल्याउन सक्ने अवस्था नरहेकाले मुलधारका पार्टीहरू हाल सत्ताका लागि एक अर्कासँग बार्गेनिङ गर्नमै व्यस्त देखिन्छन् ।

यता आममानिसहरू भने आफ्ना मुलभूत आवश्यकताको परिपूर्ति गर्ने प्रत्याभूत गराउन सक्ने उम्मेदवारको खोजी गरिरहेका देखिन्छन् । बालेन्द्रहरूको जितले त्यही कुराको छनक दिन्छ । बालेन्द्रहरूको जित हाल नेपाली राजनीतिमा सानो चिङ्गारीको रूपमा देखा परेको सत्य हो । तर, चिङ्गारीबाट नै विशाल डढेलोको सुरूवात हुन सक्छ भन्ने राजनीतिक पार्टी र तिनका नेतृत्वले बुझ्न अत्यावश्यक छ ।

बालेन्द्रहरूको झिल्कीले सुरूवातमा आम मानिसहरूलाई केही असर पार्दैन । पारे पनि सकरात्मक असर पार्न सक्ने प्रबल सम्भावना देखिन्छ । नकारात्मक नै असर पारे पनि पछि पार्ला, तर त्यो झिल्को डढेलो बन्यो भने त्यसले सबैभन्दा पहिला सखाप पार्ने राजनतिक दलहरूलाई नै हो ।

बालेन्द्रहरूको जितले एकातिर वैकल्पिक शक्तिको खोजी गरिरहेको वर्गका मतलाई संस्थागत गरिदिएको छ भने अर्कातिर चुनावलाई सुलभ बनाइदिएर युवा वर्गमा आँट भरिदिएको छ, लहर पैदा गरिदिएको छ । आगामी संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरू नयाँ ‘बालेन्द्र’ को रूपमा स्थापित हुन सक्लान् वा नसक्लान् त्यो समयले बताउनेछ । तर, हाल जुर्मुराएका युवा जमातको जोश, जाँगर र आँटको सम्मान गर्दै राजनीतिक दलहरूले गतिलो पाठ सिक्नुपर्ने आजको गहनतम आवश्यकताको रूपमा देखापरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर