रविलाई कांग्रेसको प्रस्ताव : काठमाडौं २ बाट सांसद उठाउने, जितेपछि मन्त्री – Nepal Press

रविलाई कांग्रेसको प्रस्ताव : काठमाडौं २ बाट सांसद उठाउने, जितेपछि मन्त्री

काठमाडौं । सक्रिय पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभागृहबाट आफ्नो एजेण्डा र योजनाबारे औपचारिक घोषणा गर्दैछन् । उनले काठमाडौंबाट प्रतिनिधिसभा चुनाव लड्ने निश्चित भए पनि कसरी लड्ने भन्ने निधो भइसकेको छैन ।

अहिले क्रियाशील पार्टीमा लाग्ने, नयाँ पार्टी खोल्ने वा स्वतन्त्र निर्वाचन लड्ने तीन विकल्प रविसँग छन् । निकटस्थहरुसँग रविले असार ७ गतेको कार्यक्रमबाटै आफ्नो राजनीतिक यात्राको प्रारुप सार्वजनिक गर्ने बताउँदै आएका छन् । यसबीचमा उनले विभिन्न दलका नेता, पेशाकर्मी, सामाजिक अभियन्तालगायतसँग छलफल गरिरहेका छन् ।

रविले आफूलाई धेरै पार्टीहरुले अफर गरिरहेको बताएका छन् । खासगरी नेपाली कांग्रेस र राप्रपाका नेताहरुसँग उनी सघन संवादमा रहेको बुझिएको छ ।

कांग्रेसको यस्तो प्रस्ताव

नेपाली कांग्रेसका केही नेताहरुले रविसँग विभिन्न चरणमा छलफल गरेका छन् । रविले वचन नदिए पनि कांग्रेसले उनलाई ‘सांसद हुँदै मन्त्री बनाउनेसम्म’ को प्रस्ताव गरेको स्रोतले बतायो ।

विश्वस्त स्रोतका अनुसार कांग्रेसले रविको सार्वजनिक व्यक्तित्व र लोकतन्त्रप्रतिको प्रतिबद्धताका आधारमा यस्तो प्रस्ताव गरेको हो । ‘सार्वजनिक जीवनमा महत्वपूर्ण काम गरेका र समाजमा छवि निर्माण गरेका व्यक्तित्वहरुलाई मूलधारको पार्टीले महत्व दिनुपर्छ । त्यसैले कांग्रेसको शीर्ष तहमै छलफल गरेर हामीले उहाँसँग प्रारम्भिक छलफल गरेका छौं’, एक कांग्रेस नेताले भने ।

ती नेताका अनुसार रविलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने प्रस्ताव गरिएको छ । त्यस्तै निर्वाचनपछि बन्ने सरकारमै उपयुक्त भूमिका दिनेबारे पनि छलफल भएको छ । रविले ‘काम गर्ने भूमिका’ खोजेको निष्कर्षसहित मन्त्री नै बनाउनेसम्मको प्रतिबद्धता जनाउन कांग्रेसका केही शीर्ष नेता सकारात्मक देखिन्छन् ।

‘काठमाडौंको २ नम्बर क्षेत्रमा सांसदको उम्मेदवार बनाउने र जितेपछि मन्त्री बनाउने प्रस्ताव कांग्रेसका केही नेताहरुले राख्नुभएको छ । अहिले नै उहाँले कुनै प्रतिक्रिया दिनुभएको छैन’, रवि निकट स्रोतले भन्यो ।

काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो । यसपटक नेपाल रौतहटबाट निर्वाचन लड्ने सम्भावना छ । विगतमा सो क्षेत्रमा कांग्रेसबाट दीपक कुइँकेल र प्रतिमा गौतमले प्रतिस्पर्धा गरेका थिए ।

रविको मतदाता नामावली भने काठमाडौं ३ मा रहेको छ । यही कारण उनी सोही क्षेत्रबाट निर्वाचन लड्न इच्छुक छन् ।

‘निर्वाचन क्षेत्र जहाँ पनि हुनसक्छ । डडेल्धुरा, काभ्रे, काठमाडौं जहाँ पनि । उहाँको इच्छा चैं काठमाडौं ३ हो’, रवि निकट स्रोतको भनाइ छ ।

कांग्रेसले भने पाँचदलीय गठबन्धनमै सहमति गराएर माधव नेपाललाई रौतहट छाड्ने गरी नेपालको क्षेत्रमा रविलाई उम्मेदवार बनाउँदा उपयुक्त हुने आँकलन गरेको छ ।

‘काठमाडौं २ धेरै कारणले उपयुक्त देखिन्छ । तर, मुख्य कुरा सहयात्राको हो । उहाँ तयार हुँदा अन्य विषयमा पनि कुरा हुनसक्छ’, कांग्रेस नेताको भनाइ छ ।

महानगरको परिणामले कांग्रेस सोच्न बाध्य

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी भए । जनतामाझ परिचित अनुहारले स्वतन्त्र वा अन्य पार्टीबाट निर्वाचन लडेमा काठमाडौंका सबै क्षेत्रमा पार्टीलाई असर पर्ने आँकलन कांग्रेस नेताहरुले गरेका छन् । यही कारण उनीहरु एउटा क्षेत्रमा रविलाई उम्मेदवार बनाएर भए पनि अन्य क्षेत्रमा समेत कांग्रेसको मत जोगाउने रणनीतिमा लागेका हुन् ।

‘कांग्रेसले वाम गठबन्धनविरुद्ध लड्दा पनि काठमाडौंमा चारवटा क्षेत्र जितेको हो । अहिले दसै क्षेत्रमा कांग्रेस बलियो छ । तर, कुनै एक क्षेत्रमा देखिने माहोलले सबैतिरको नतिजा नबिगारोस् भन्नेमा सचेत हुनैपर्छ’, रविसँग संवाद गरेका कांग्रेस नेता भन्छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको महत्व बुझेका व्यक्तिले लोकतान्त्रिक पार्टीप्रति नै आस्था राख्नु स्वाभाविक हुने ती नेताको भनाइ छ ।

के गर्लान् रविले ?

असार ७ गते नै सबै कुरा स्पष्ट पार्ने सार्वजनिक गरेका रविले आफ्नो आगामी यात्राको मोडालिटीबारे संकेतसम्म गरेका छैनन् । आफ्नो राजनीतिक अभियानमा स्वयंसेवकका रुपमा सहयोग गर्न चाहनेलाई आवेदन दिन उनले आह्वान गरेका छन् ।

स्थानीय निर्वाचन सकिएलगत्तै सक्रिय राजनीतिमा होमिने निर्णयका पछाडि आसन्न संसदीय निर्वाचन लड्ने रविको चाहना पनि मुख्य कारक हो । यद्यपि संसदमा पुग्नमात्रै राजनीतिमा आएको सन्देश दिन रवि चाहँदैनन् । त्यसैले निकटस्थहरुसँगको छलफलमा उनले आफू काम गरेर देखाउने ठाउँसम्म पुग्नुपर्ने बताउने गरेका छन् । ग्यालेक्सी टेलिभिजनबाट बिदाइ हुने क्रममा पनि उनले प्रश्न सोध्ने ठाउँमा नभएर उत्तर दिने ठाउँमा जान चाहेको बताएका थिए ।

‘उहाँका सामु स्वतन्त्र लड्ने, दल खोल्ने वा अहिले क्रियाशील दलमा आवद्ध हुने विकल्पहरु छन् । उहाँ पफर्मेन्स दिने ठाउँसम्मै पुग्न चाहनुहुन्छ । त्यसका लागि छलफल, परामर्श र योजना निर्माणको क्रम जारी छ’, रविको अभियानमा संलग्नले भने ।


प्रतिक्रिया

One thought on “रविलाई कांग्रेसको प्रस्ताव : काठमाडौं २ बाट सांसद उठाउने, जितेपछि मन्त्री

  1. Rabi jee lai Congress ma Yatro taam jham ko saath lyauna force kina garne waha ko puchhar samatera baitarni tarna khojne congress saathi haru ko bhanai ho yadi congress bhitra nai hamile rabi bhanda abbal ra sochna sakne ra soche nusar kam garna sakne yuba line ma chha ra garnu parne kam ma commission khane hoina garnu parne kamlai fund napug bhaya khojera lyaune or afnai sarboso yogdan garne chhemata samet bhayako Yuba Dherai chha hami haru ! congress bhitra Bhitra menofesto banna rabi aunu pani hundaina !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर