रुस–युक्रेन युद्धमा अमेरिकाको भित्री उद्देश्य – Nepal Press

रुस–युक्रेन युद्धमा अमेरिकाको भित्री उद्देश्य

इराक युद्धपछिको अस्थिरता जस्तै रुस-युक्रेन युद्धले युक्रेन र आधा युरोपलाई वर्षौं अस्थिर बनाउने छ ।

युद्ध भनेकै अमानवीय हुन्छ र प्रायः युद्धमा दुवै पक्षको हार हुन्छ अर्थात जीत हात पार्नु भनेको प्रायः मृगतृष्णामात्रै हो । पुटिनले युक्रेनमाथि गरेको आक्रमण पनि जीत हासिल गर्ने उद्देश्यमात्र नभएर नेटो र अमेरिकाको दबाब सहन गर्न नसकेको र रसिया र सीमा क्षेत्रको सुरक्षामा देखापरेको खतराको कारणले हो भन्ने कुरा खुल्न थालेको छ ।

युद्ध यथार्थमा क्रूर हुन्छ । रसियाले युक्रेनमाथि गरेको आक्रमण पनि क्रूर थियो र अझै यथावत छ । युद्ध मानवताको आधारभूत सिद्धान्तविरुद्ध मात्र नभएर द्वैध सम्बन्धको विरोधी पनि हो । अमेरिका, नेटो र पश्चिमाहरुको चाहना रसियाका पुटिनलाई एक्ल्याउने मात्र नभएर समग्र एसियालाई कमजोर बनाएर, मध्यपूर्व आफूमा डिपेन्ड गराएर एक प्रकारको अघोषित उपनिवेश बनाएर इन्धनमाथिको व्यापारमा एकाधिकार गर्ने नियत हो यो । यसका लागि रसियाविरुद्ध पटक–पटक नाकाबन्दी गरे । युक्रेनलाई रसियाविरुद्ध लड्न हातहतियार उपलब्ध गराए । युक्रेनका राष्ट्रपतिलाई रसियाविरुद्ध उक्साएर सारा विश्वलाई रुसविरुद्ध उभिन मानसिक मोनापोली गरे ।

प्रायः सबैजसो पश्चिमा सञ्चारमाध्यमले रुसविरुद्ध बोले । संसारलाई रुसविरुद्ध मनोवैज्ञानिक प्रभाव पर्ने प्रयास गरे । तर, पुटिन एक्लिएनन् । उनी अहिले पनि एक्लै छैनन् । मैले यही माध्यमबाट रुस र युक्रेन युद्ध रुस र युक्रेनबीच प्रत्यक्ष देखिए पनि यो अमेरिकी चाल हो भनेर कैयौं तथ्य लेखिसकेको छु र मैले नेपालप्रेसमार्फत नै विश्व बजार असन्तुलित हुने कुरा युद्ध सुरु भएकै बेला लेखेको थिएँ । जुनबेला सारा विश्व रुसविरुद्ध वकालत गरिरहेका थिए । त्यति बेला नेपालका कैयाैं अर्थात सबैजसो मिडियाले रसियालाई मात्र गल्ती र राक्षसको तस्बिर देखाएर पश्चिमेली मिडियालाई साथ दिइरहेका थिए ।

हुन त पश्चिमतिरबाट हावा चलिरहेको बेला त्यसको विपरीत चल्न कठिन कुरा हो । त्यसैले नेपाली मिडियाले त्यो आँट किन गर्थे ? तर, यो अमेरिकी चाल त्यति बेलै प्रस्ट थियो । अहिले आएर भने केही पश्चिमी मिडियाहरु जसले अन्धाधुन्ध रुसको मात्र बदमासी देखाएर विरोध गरिरहेका थिए र रुसको विरुद्ध लड्न हातहतियार दिने मुलुकहरु पनि कोल्टे फेर्न थालेका छन् ।

जर्मनीबाट प्रकाशित हुने डि वयल्ट अर्थात द वर्ल्ड नामक दैनिक पत्रिकाको १५ जुनका दिन प्रकाशित अंकमा अहिले क्यानाडा, जापान, दक्षिण कोरिया र अस्ट्रेलियालगायतका मुलुकहरुले रुसविरुद्धको उनीहरुको मानसिकतामा कोल्टे फेरेको कुरा लेखेको छ । उसका अनुसार ‘हामीले युद्धको यथार्थ नबुझिकन महिनौं समाचार सम्प्रेषण गर्‍यौं ।’

प्रायः सबैजसो पश्चिमा सञ्चारमाध्यमले रुसविरुद्ध बोले । संसारलाई रुसविरुद्ध मनोवैज्ञानिक प्रभाव पर्ने प्रयास गरे । तर, पुटिन एक्लिएनन् । उनी अहिले पनि एक्लै छैनन् ।

चीन, ब्राजिल, भारत र दक्षिण अफ्रिका भने सुरुदेखि नै रुसलाई ‘मौनं सम्मती लक्ष्यणम्’ को भूमिका निभाइरहेका थिए । हुन पनि हो, यो युद्धले तेल–मट्टीतेलमात्र होइन खाद्यपदार्थ, मलजन्य पदार्थ र बिजुली, ग्यास र इन्धनको मूल्यवृद्धिले विश्व आक्रान्त भएको छ एकातिर भने अर्काेतिर अमेरिकाले युक्रेनलाई मात्र नभएर स्क्यान्डिनाभियन मुलुकहरुलाई रुसको हाउगुजी देखाउँदै हातहतियार बेचेर मुनाफा बढाइरहेको छ । साथै नाटोको सदस्यता लिन स्वीडेन र फिनल्याण्डलाई दबाब दिइरहेको छ ।

चीन, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका लागि मलजन्य पदार्थ र इन्धनको खाँचो रुसबाट टर्दै आएको थियो । त्यतिमात्र नभएर उपरोक्त मुलुकहरुले हातहतियार अमेरिका र रुसबाट पनि खरिद गर्दै आएका थिए । अमेरिकाको कान्छो भाइ मध्यपूर्वी राज्य इजरायलले समेत आधा आधा समर्थन र विरोध गर्न थालेको छ । यद्यपि युद्ध सुरु हुँदा बखत दुई लाखभन्दा बढी यहुदीहरु युक्रेनमा बसोबास गर्दै आएका थिए । यस्तै अमेरिकाको साखै भाइ मानिने साउदी अरब र संयुक्त अरब इमिरेट पनि अमेरिकाको चाहना तेलको उत्पादन बढाएर अमेरिका हुँदै युरोप र अन्य मुलुकमा सप्लाइ गराउने र रुसलाई एक्ल्याउने र अमेरिकाले मुनाफा कुम्ल्याउने ट्याकटिकलाई सहयोग नपु¥याई अहिले मौन बसेका छन् ।

अमेरिकाको अनुमानभन्दा बढी मौन युद्ध सुरु भएको सय दिन कटिसक्दा भ्लादिमिर पुटिनले विश्व रंगमञ्चमा एकपछि अर्काे समर्थन पाउन थालेको बुझिएको छ । नेटो र युरोपलाई आफ्नो कठपुतली बनाएर समग्र एसिया, दक्षिण अमेरिका र अफ्रिकालाई अझ कमजोर बनाइ आफूमा निहित बनाउने अमेरिकाको कलुषित मनसायअनुरुप युक्रेनलाई रुसविरुद्ध उक्साएर पुटिनलाइ डेभिलको संज्ञा दिलाउने उद्देश्यमा यो मौनताले एक हदसम्म धक्का लागेको छ ।

मैले माथि संकेत गरिसकेँ कि जुध्ने दुवै गोरुको सिङ भाँचिन्छ । तर, यो एकपछि अर्काे हुँदै आएको मौनताले एक हदसम्म को सही छ वा को गलत छ भन्ने कुरा विश्व समुदायले बुझ्न थालेको संकेत मिलेको छ । हामीले यो वा त्यो जे र जस्तोसुकै तर्क गरे पनि यसले वा उसले ‘मौनं सम्मती’ गरे पनि युक्रेन युद्ध एउटा ड्रामा अर्थात मानवीय क्षति गराएर देखाइएको नाटककै रुपमा सदा रहनेछ र अन्तमा इराक युद्धपछिको अस्थिरता जस्तै युक्रेन र आधा युरोपलाई वर्षौं अस्थिर बनाउने छ र मानवीयता, न्याय र स्वतन्त्रताको जीत हुने छैन ।


प्रतिक्रिया

2 thoughts on “रुस–युक्रेन युद्धमा अमेरिकाको भित्री उद्देश्य

  1. What a shame article? Ukraine did not go to Russia for war. Smaller nations like Nepal should be able to retain its sovereignty from Bigger stronger countries like India. Russia is the aggressor and Russia/ Putin should be held responsible for countless dearth in Ukraine war.

  2. युक्रेन युद्ध नितान्त हतियार बिक्री र अमेरिकी स्वार्थ हो युरोपियनहरू पछुताउने छन अमेरिका अन्य देशका लागि ब्वासो हो समयमै सचेत भए सम्पूर्ण जगतका जनताले सुख पाउलान् नत्र आन्द्रा भुडी झिकेपछि थाहा पाउनेछन् जसको ज्वलन्त उदाहरण आज विश्व बजारलाई लिदा हुन्छ चेतना र बुझाई आआफ्नो हो ।

Leave a Reply to Darshan Nepali Cancel reply

Your email address will not be published. Required fields are marked *