राजनीतिक गठबन्धन र यसको औचित्य – Nepal Press

राजनीतिक गठबन्धन र यसको औचित्य

प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न नसक्नेहरुको सबैभन्दा प्रिय बनेको छ, गठबन्धन ।

पछिल्लो समय गठबन्धन शब्दको प्रयोग ह्वात्तै बढेको छ । एकभन्दा बढी राजनैतिक दलको सहकार्यलाई नै गठबन्धन भनिएको हुनुपर्दछ । सहकार्य र सहमति आफैमा सकारात्मक शब्द भए तापनि गठबन्धनको उद्देश्य भने फरक–फरक पाइन्छ । गठजोड र गठबन्धनको परिभाषा अहिले आएर अनुकूलतामा प्रयोग हुन थालेपछि यसको औचित्यमाथि नै प्रश्नचिन्ह खडा भएको छ । फरक विचारधारा बोकेको राजनैतिक शक्ति वा विचारकका बीचमा जब गठजोड अर्थात गठबन्धन हुन्छ तब गठबन्धनको औचित्यमाथि प्रश्नचिन्ह खडा हुन्छ । यही सन्दर्भमा फरक विचार बोकेका समूह अथवा राजनैतिक दल जब गठबन्धनका नाममा एकताको नाटक मञ्चन हुन्छ, त्यहाँ केवल स्वार्थ, शक्ति र सत्ता केन्द्रितमात्र हुन्छ, अनुकूलतामात्र हावी हुन्छ ।

नेपालको सन्दर्भमा गठबन्धनको नारा पनि यही स्वार्थ केन्द्रित रणनीति आर्कषित भएको पाइन्छ । जताबाट पनि अनुकूल र जित्न गरिने गठबन्धनले समाज र जनतालाई न्याय दिन सक्दैन, त्यो पटक–पटक पुष्टि भएको छ र हुने पनि यही नै हो । यति सत्य भइरहँदा पनि गठबन्धनका नाममा गरिने तिकडमका लागि प्रेरित भइरहने भनेको सीमित नेतालाई शक्ति र सत्तामा पुर्‍याउने भर्‍याङ शिवाय केही होइन । विचारमा एकरुपता, विचारमा प्रस्टता र समाज तथा जनतालाई दीर्घकालीन सकारात्मक पक्षको उठानका लागी गठबन्धन आफैमा सुन्दर पक्ष हो । तर, नेपालको राजनैतिक दलहरुको गठबन्धनको नारा योसँग कदापि मेल खाँदैन । नितान्त फरक विचार, दृष्टिकोण, कार्यदिशा र संघर्षको चरणमा पूर्ण रुपमा मेल नखाने शक्तिहरुले गठबन्धनको नाममा गर्ने हत्कण्डा भनेको जनतालाई मूर्ख बनाउने दुश्चक्र शिवाय केही होइन । चुनावमा प्राविधिक जित हासिल गर्ने र शासन सत्तामा रहिरहने चक्र नै अहिले गठबन्धनको मुख्य उद्देश्य हो ।

चुनावमा प्राविधिक जित हासिल गर्ने र शासन सत्तामा रहिरहने चक्र नै अहिले गठबन्धनको मुख्य उद्देश्य हो ।

जब विचारमा समानता हुँदैन, रणनीति हुन्छ, समाज र देशलाई हेर्ने दृष्टिकोणमा असमानताको खाडल हुन्छ, त्यस्तो राजनैतिक दलको कार्यनीतिक गठबन्धनले देश र जनतलाई धोका शिवाय केही दिँदैन । नेपालको सन्दर्भमा भएको गठबन्धन यही हो । यसले सीमित नेता र कार्यकर्तालाई लाभबाहेक जनहितमा केही गर्न सक्दैन किनभने विचारको कार्यान्वयन समानतामा हुन्छ । जब फरक हुन्छ, विचार र दर्शनको कार्यनीतिमा विरोधाभास उत्पन्न हुन्छ । त्यसपछि त्यसले पूर्णता पाउन सक्दैन ।

अहिलेका राजनैतिक दलहरुलाई नियाल्ने हो भने गठबन्धनमा आवद्ध राजनैतिक शक्तिहरुको समाज र परिवर्र्तनलाई हेर्न दृष्टिकोणमा व्यापक असमानता पाउन सकिन्छ । नेकपा माओवादी कम्युनिष्ट विचारधारालाई अवलम्बन गर्दछ । माक्र्सवाद, लेनिनवादलाई आफ्नो प्रणेता मान्दछ । भोलिको विश्व र नेपाललाई हेर्ने दृष्टिकोणमा साम्यवादको परिकल्पना गर्दछ । नेपाली कांग्रेस प्रजातन्त्रमा विश्वास गर्दछ । लोकतन्त्रलाई मूलमन्त्र ठान्दछ । पूँजीवादी अर्थ व्यवस्थालाई प्रश्रय दिन्छ । जुन माओवादीले सबैभन्दा वर्ग शत्रु देख्दछ । यी दुईको मुख्य राजनैतिक अभिष्ट भनेको गठबन्धन गरेर शक्ति र सत्तामा पुगेर राज्यसत्ताको दोहन गर्ने हो । जब गठबन्धनबाट जित हुन्छ । सरकारमा बसेर आफ्नो योजना लागू गर्न सक्छ । एउटा राजनैतिक शक्ति आफ्नो विचारको पृष्ठपोषण गर्न लाग्दछ भने अर्को शक्ति आफ्नो पृष्ठपोषण गर्न । विचार र दृष्टिकोण नै अलग भइसेकपछि चुनावी घोषणापत्र र प्रतिबद्धता त कागजी हात्तीमात्र । नेपालको सन्दर्भमा भएको यति हो ।

गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादी । विचार, दृष्टिकोणमा समान भए तापनि पद र शक्तिका लागि नेकपा एमालेबाट विभाजित घटक । जुन छर्लङ्ग देखिएको तथ्य हो । विचारमा समान हुँदा पनि फुट भनेको शक्तिको भोक शिवाय केही होइन । नेकपा एकीकृत समाजवादी त्यही शक्ति हो, जो कम्युनिष्ट भएर पनि यथास्थितिवादी शक्ति नेपाली कांग्रेससँग सहकार्य गरेर एमाले, त्यसमाथि पनि केपी शर्मा ओलीलाई देखाइदिन चाहन्छ । यही शक्तिहरुको गठजोड हो, गठबन्धन । यस्तो गठबन्धनले के देश र जनतालाई हित गर्ला ? समाज परिवर्तनमा भूमिका खेल्ला ? जनवाद र साम्यवादको रेखा कोर्ला ? किमार्थ सम्भव छैन । यति धेरै प्रस्ट हुँदाहुँदै नेताको पछाडि लागेर गठबन्धनको नारामा नारिनु भनेको मूर्खता शिवाय केही होइन । यही मूर्खतामा नै हामीले हाम्रो भविष्य खोजिरहेका छौं ।

शासन सत्ता र सरकार चलाउनुमात्र ठूलो कुरो होइन, शासन सत्तामा पुगेपछि देश र जनतामा परिवर्तन भयो कि भएन भन्ने मुख्य कुरो हो । यो विषयमा कुनै पनि राजनैतिक दल र नेतृत्व गम्भीर देखिएनन् ।

प्रजातन्त्रको स्थापनापछि देशमा धेरै शासकले शासन गरे । दशकौं बित्दा पनि विश्वको प्रविधिले घिसार्नु शिवाय नेपालमा उल्लेखनीय विकास हुन सकेन । यसको निर्मम समीक्षा हुनु आवश्यक छ । परिवर्तन अवश्यभावी छ । यो निरन्तरको प्रक्रिया हो । तर, यसको गति भने द्रूत हुन सकेन । यसको एउटै अर्थ हो, देशमा दूरगामी नेतृत्व भएन । शासन सत्ता र सरकार चलाउनुमात्र ठूलो कुरो होइन, शासन सत्तामा पुगेपछि देश र जनतामा परिवर्तन भयो कि भएन भन्ने मुख्य कुरो हो । यो विषयमा कुनै पनि राजनैतिक दल र नेतृत्व गम्भीर देखिएनन् । केही देखिए । तर, अन्य राजनैतिक दल र नेतृत्वको जालझेल र कुदृष्टिलाई चिर्न सकेनन् र पतन भएर गए ।

जितका लागि गठबन्धन । तर, त्यो जितको मुख्य उद्देश्य के हुनुपर्दथ्यो ? त्यो उद्देश्य पूरा भयो कि भएन ? आम जनता र समाज के चाहन्छन् त्यो सोच्ने यी जितकारीको ल्याकत नै छैन किनभने सबैको अभिष्ट एउटै हो, शासनसत्ता सम्हाल्ने र शक्ति देखाउने र त्यसैको नाममा लुट मच्चाउने । जितलाई नै समृद्ध देख्नेहरुको सोचले गठबन्धनलाई प्रश्रय दिइरह्यो । त्यसैको प्रहसन विगतमा पनि भए र अब पनि निरन्तर हुनेछ । नेपालको सन्दर्भमा सबैभन्दा घातक पक्ष भनेको गठबन्धन नै हो । जसले समृद्ध नेपाल निर्माणमा अवरोध गरेको छ । प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न नसक्नेहरुको सबैभन्दा प्रिय बनेको छ, गठबन्धन ।

जुनसुकै विचारधाराले पनि भन्छ, हरेक वस्तुको उपादेयता पनि निश्चित समयका लागि मात्र हुन्छ । न कि सधैँका लागि । जुन गएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजयले पनि पुष्टि गरेको छ । गठबन्धनका नारा र नेताको अभिष्ट पनि अब लामो समय रहन सक्दैन किनभने यो सांसारिक नियम नै हो । गठबन्धनका नाममा जितेर पुनः शक्तिमा पुग्ने आशाले अब थेग्न सक्दैन । जनताको समृद्ध र देशको परिवर्तन नै अबको लक्ष्य हो । योभन्दा बाहिर गएर कोही अगाडि बढ्छ भने त्यो मिथ्यामात्र हुनेछ । आफनै बलबुता र विचारले नै देशलाई समृद्ध र विकसित बनाउन भूमिका खेल्छ । नत्र अबको दिनमा हजारौं हर्कराज राई जन्मनेछन् । जसले नेपाललाई समृद्ध बनाउने सपना देखेका छन् ।

प्रतिक्रिया

One thought on “राजनीतिक गठबन्धन र यसको औचित्य

Leave a Reply

Your email address will not be published.