सबै पार्टीले प्रस्ताव गरेका छन्, अप्सनहरू खुल्ला राखेको छुः रवि लामिछाने – Nepal Press
अन्तरवार्ता

सबै पार्टीले प्रस्ताव गरेका छन्, अप्सनहरू खुल्ला राखेको छुः रवि लामिछाने

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने अन्ततः राजनीतिमा होमिएका छन् । आगामी प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने योजनासहित उनले बिहीबार ग्यालेक्सी टेलिभिजनबाट बिदा लिए ।

लामिछानेले राजनीतिमा आउने घोषणा गरे पनि धेरै प्रश्न अनुत्तरित राखेका छन् । पार्टीबाट वा स्वतन्त्र उम्मेदवारी दिने भन्ने स्पष्ट भएको छैन । निर्वाचन क्षेत्र पनि भनेका छैनन् । काठमाडौंमा बालेन्द्र साहले स्वतन्त्रबाट चुनाव जितेपछि रविले पनि हौसिएर उम्मेदवारी दिन लागेकोसमेत चर्चा छ ।

यद्यपि, रविले आफू राजनीतिमा आउने पहिल्यैदेखिको योजना रहेको बताए । अहिले उठेका सबै जिज्ञासाको जवाफ आफूले आगामी ७ गते दिने उनको भनाइ छ ।

रविसँग गरिएको संक्षिप्त कुराकानीः

अब के नयाँ पार्टी नै गठन गर्न लाग्नुभएको हो ?

त्यसको तयारी गरिसकेको छैन । कसरी अगाडि बढ्ने भनेर बताउन ७ गतेसम्ममा तयार हुन्छु । अहिले केही पनि फाइनलाइज गरेको छैन । सबै विकल्प खुल्ला छन् । कुनमा जाने भन्ने तय गर्न बाँकी छ ।

कुनमा जाने भन्नाले तपाईं कुनै पार्टीमा प्रवेश गर्ने तयारीमा हुनुहुन्छ ?

स्वतन्त्र चुनाव लड्ने, भएका राजनीतिक दलमध्ये एउटामा लाग्ने वा आफैले दल निर्माण गर्ने सबै अप्सनमा हामी काम गरिरहेका छौं । तर टुंगोमा पुगेको छैन । ७ गतेसम्म पर्खिन आग्रह गर्छु ।

तपाईंसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कुराकानी भएको हो ?

मेरो सबैजनासँग कुराकानी भएको छ । जस्तै को–कोसँग ? मेरो मतलब, उहाँसँग मात्रै नभएर सबै राजनीतिक दलसँग कुरा भएको छ । कांग्रेसको कसैसँग, एमालेको कसैसँग, राप्रपाको पनि कसैसँग भएको होला ।

लिङदेनले चाहिँ राप्रपामा आउनुपर्यो भन्ने गम्भीर प्रस्ताव गर्नुभएको छ रे नि ?

अरुले पनि प्रस्ताव गर्नुभएको छ । खासमा सबैले गर्नुभएको छ ।

भन्नाले कांग्रेस–एमालेले पनि प्रस्ताव गरेका छन् ?

कुन तहको भन्ने हो, तर प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले सबैबाट कुनै न कुनै प्रस्ताव आएको छ ।

बलियो सम्भावना चाहिँ के छ, स्वतन्त्र लड्ने कि पार्टीबाट ?

हामी निर्णयको चरणमा पुग्दैछौं । अहिले भन्ने समय आइसकेको छैन ।

आगामी चुनावलाई लिएर स्वतन्त्र उम्मेदवारहरु पनि संगठित हुन लागेको चर्चा सुनिन्छ, त्यसमा तपाईं पनि संलग्न हुनुहुन्छ ?

म अहिलेसम्म त्यसमा छैन । त्यो मैले पनि सुनेको छु । म अवश्य सल्लाह गर्छु । आउनुस न मिलेर जाउँ भन्ने त भइहाल्छ । सिरियस लेभलमा मलाई कसैले भनेको छैन ।

सञ्चारकर्मीका रुपमा यत्रो लोकप्रियता पाउनुभो । जनताले माया गरेका छन् । यो पेशालाई चटक्कै छोडेर राजनीतिमा आउने निर्णय लिन कत्तिको गाह्रो भयो ?

यो अब समयले गर्दा पनि …. डिसिजन लिन गाह्रो त भइहाल्छ । आफ्नो लामो समयको सपना यही थियो । बीच बाटोमा आइसकेपछि सपना अलिकति एक्सपान्डेड भएको त हो नि । सजिलो त भएन निर्णय लिन । बनिबनाउ चिजहरु एकैचोटि छोड्न सजिलो थिएन । परिस्थितिले बनाएको हो ।

परिस्थिति भन्नाले कुन कुराले तपाईंलाई राजनीतिमा आउन बढी प्रेरित गर्यो ?

देशमा देखिएको जति पनि वितृष्णा छ, मेरो जुन तहका नागरिकसँग दिनदिनै भेटघाट हुन्छ । त्यो तहका नागरिकको समस्या कहिले पनि एड्रेस भएको देखिनँ । ५–६ वर्ष मैले जनताको जुन समस्या देखेँ, त्यो समस्यासँग राजनीतिको मुल धारको कुनै कनेक्सन नै पाइनँ । जनताको समस्या समाधान हुने अवस्था नदेखेपछि कति समस्या मात्रै सुनाउने र मान्छेहरुको पीडा मात्रै देखाएर बस्ने ? आफूले पनि नीतिगत तहमा योगदान दिन सकिन्छ कि ? भन्ने लागेको हो ।

राजनीतिमा लाग्ने तपाईंको पुरानै योजना थियो कि अपर्झट लिनुभएको निर्णय हो ?

मेरो अलिक अगाडिको माइन्डसेट हो । पोलिटिक्समा नै जोडिन्छु होला कुनै न कुनै रुपमा भन्ने थियो, तर कुन ढंगको भन्ने चाहिँ थिएन । अलि अगाडिदेखि मेरो माइन्डमा कहीँ न कहीँ थियो ।

बालेन साहले स्वतन्त्र जितेपछि तपाईं पनि हौसिनुभएको भन्दैछन् नि कतिपयले ?

त्यस्तो होइन । तपाईंले मेरो २०१० देखिकै डिटेलहरु हेर्नुभयो भने थाहा पाउनुहुन्छ । १२ वर्षदेखि यसको बारेमा सोचिरहेको छु ।

तपाईंले राजनीति गर्ने वा भोट माग्ने मुख्य एजेन्डा चाहिँ के हुन्छ ?

त्यो पनि मैले अहिले बताउन सक्ने अवस्था छैन । अहिलेलाई यत्ति हो कि सञ्चारकर्मबाट मैले विश्राम लिएँ । पोलिटिक्समा आउँदैछु । योभन्दा अर्को चिज मसँग केही पनि छैन ।

यदि चुनावमा सोचेजस्तो रिजल्ट आएन भने फेरि पुरानो पेशामा फर्किनुहुन्छ वा राजनीतिलाई नै निरन्तरता दिनुहुन्छ ?

त्यो पनि सोच्न पाएको छैन मैले अहिले । त्यस्तो पार्टिकुलर केही छैन । गर्ने चिज धेरै छन् नि यो दुनियाँमा ।

तपाईं काठमाडौंको क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने हो ?

देशैभरिबाट कुराहरु आइरहेको छ । मैले देशभरिका नागरिकको समस्यामा काम गरिरहेकाले यही क्षेत्र भन्ने छैन । ७ गतेसम्ममा टुंगो लाग्छ । म भोटर भएको निर्वाचन क्षेत्र चाहिँ ३ हो । काठमाडौंमै हुर्केको हुनाले अलिकति झुकाव त काठमाडौंमा हुने नै भयो ।


प्रतिक्रिया

2 thoughts on “सबै पार्टीले प्रस्ताव गरेका छन्, अप्सनहरू खुल्ला राखेको छुः रवि लामिछाने

  1. ##रबि दाइ,बालेन#हर्क,हमाल इत्यादि सब एक भएर पार्टी निर्माण तिर लागौ एउटा लौरो भन्दा 10 वटा लौरो बलियो###so we havev hope to you will be do that….##best of luck daaii💕💕🇳🇵🇳🇵🇳🇵🙏🙏

Leave a Reply to Dawa Sherpa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर