कांग्रेसद्वारा सूर्यविनायक नगरपालिकाको ध्यानाकर्षण : चर्को करको दर घटाइयोस् – Nepal Press

कांग्रेसद्वारा सूर्यविनायक नगरपालिकाको ध्यानाकर्षण : चर्को करको दर घटाइयोस्

भक्तपुर । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले चर्को करको दर घटाउन सूर्यविनायक नगरपालिकाको ध्यानाकर्षण गरेको छ ।

नगर प्रमुख वासुदेव थापालाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै कांग्रेस नगर समितिले शुल्क समायोजन गरी व्यवहारिक बनाउनसमेत माग गरेको छ ।

ध्यानाकर्षणपत्रमा महंगो फोहर संकलन शुल्क तत्काल घटाउन पनि माग गरिएको छ । कांग्रेस सूर्यविनायकले फोहर व्यवस्थापन व्यवस्थित गर्न माग गर्दै नगरपालिकालाई प्लास्टिक झोला मुक्त बनाउन ध्यानाकर्षण गरेको छ ।

विकास योजना कार्यान्वयन गर्दा ‘अधिकतम सहमति, न्यूनत्तम क्षति’को नीति अपनाउन नगरपालिकाको ध्यानाकर्षण गरिएको छ ।

कांग्रेसले सूर्यविनायक नगरपालिकाको नगरसभालाई मध्यनजर गर्दै उक्त ध्यानाकर्षणपत्र बुझाएको हो । सूर्यविनायकको नगरसभामा बिहीबार दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।

कांग्रेसको ध्यानाकर्षणपत्र बुझ्दै मेयर थापाले नगरसभाकामा ध्यानाकर्षणपत्रमा उल्लेख बुँदाबुँदामा छलफल गर्ने जानकारी दिए ।
उनले अघिल्लोपटक आफू मेयर भएर पनि नगरमा क्रियाशील राजनीतिक दलहरुसँग छलफल र सहकार्य गर्न नपाएकामा यसपटक त्यस्तो हुन दिने बताए ।

मेयर थापाले सूर्यविनायकको विकासमा सबै सँगै जानुपर्नेमा जोड दिएको कांग्रेस सूर्यविनायकका सभापति ढुंगेलले जानकारी दिए ।

ढुंगेल वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट सूर्यविनायक नपाका मेयर उम्मेदवारसमेत हुन् । एमालेबाट मेयर थापामा निर्वाचित हुँदा ढुंगेलले दाेस्राे स्थानमा चित्त बुझाउनुपरेकाे थियाे ।

कांग्रेस सूर्यविनायकका सचिव विश्वराम थापाले आफूहरुको ध्यानाकर्षणपत्रमा मेयर थापा सकारात्मक रहेको बताए । सूर्यविनायक नगरपालिकामा कांग्रेस प्रमुख प्रतिपक्ष रहेको र सोहीअनुसार नगरवासीको समस्या र मागलाई सम्बोधन गराउन नगरपालिकालाई दबाबस्वरुप ध्यानाकर्षणपत्र दिइएको उनको भनाइ छ ।

हेर्नुस् कांग्रेस सूर्यविनायकले बुझाएको ध्यानाकर्षणपत्र:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर