मेयर बालेन्द्रले पत्रकारमाथि दुर्व्यवहार गरेकै हुन् ? – Nepal Press

मेयर बालेन्द्रले पत्रकारमाथि दुर्व्यवहार गरेकै हुन् ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । नेपाल पत्रकार महासंघले विज्ञप्ति नै जारी गरेर साहको हर्कतले प्रेस स्वतन्त्रतामा आँच पुगेको दाबी गरेको छ ।

काठमाडौंको टेकुस्थित फोहोर प्रशोधन केन्द्रमा रिपोर्टिङका लागि पुगेका हिमालय टेलिभिजनका सञ्चारकर्मीलाई बालेनले रोक लगाएका थिए ।

त्यस क्रममा पत्रकार र क्यामराम्यानमाथि दुर्व्यवहार गरिएको र खिचिएका फुटेजहरू डिलिट गर्न लगाइएको दाबी हिमालय टेलिभिजनले गरेको छ । बालेन र उनको सचिवालयले भने यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

घटना विवरणअनुसार हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामराम्यान अभिष्ट लामा दिउसो दुई बजेतिर टेकुस्थित वातावरण तथा कृषि विभागमा पुगेका थिए ।

त्यहाँ रहेको बायो प्लान्टमा कसरी काठमाडौंको फोहोरलाई ऊर्जामा परिणत गरिँदै छ भनेर रिपोर्टिङ गर्न गएको मिश्रले बताएका छन् । वातावरण विभागमा गएर प्रमुख सरिता राईसँग कुराकानी गरेका थिए । त्यसपश्चात् उनीहरू केही बेर त्यहाँका इन्जिनियरको पर्खाइमा बस्दा बालेन साह अनुगमनका क्रममा सहयोगीसहित विभागभित्र प्रवेश गरे ।

मेयर साहलाई देखेपछि पत्रकार मिश्र उत्साहित हुँदै उनको ‘बाइट’ खिच्न दौडिए भने पछिपछि अभिष्टले क्यामराले खिच्न थाले । आफ्नो अगाडि अचानक बुम तेर्सिएको देखेपछि बालेन केही झस्किएका थिए ।
उनले सोधे, ‘अरे के हो ? कसको अनुमति लिएर आएको ?’

आफूहरू रिपोर्टिङका लागि आएको प्रिन्सले बताएपछि बालेन्द्रले उनीहरूलाई भिडियो नखिच्न आग्रह गरे । उनले सहयोगीलाई ‘फुटेज’ चेक गर्न भनेको भिडियोमा देखिन्छ । हिमालय टेलिभिजनले सार्वजनिक गरेको भिडियोमा बालेनले पत्रकार प्रिन्सलाई ‘तिमी’ सम्बोधन गरेका छन् ।

‘तिम्रो क्यामरा नै हिमालय टेलिभिजन भएपछि के हुन्छ ?’ भिडियोमा बालेनले भनेका छन् ।

त्यसपछि पत्रकारले भन्छन्, ‘त्यो त भयो । तर मसँग पर्सनल त तपाईँको रिलेसन राम्रो हुनुपरो नि ।’
बालेन जवाफ दिन्छन्, ‘तिमीसँग पर्सनल केही छैन । सबै मेरो लागि बराबर हो ।’

त्यसपछि बालेनले फुटेज हेर्न सहयोगीलाई अह्राउँछन् । बालेनको आदेशपछि सहयोगीले आफूलाई कब्जामा लिएर क्यामराको फुटेज डिलिट गर्न लगाएको र त्यहाँबाट बाहिर निकालेको दाबी क्यामराम्यान अभिष्टको छ ।

यस विषयमा बालेनले कुनै प्रतिक्रिया दिएका छैनन् । उनी निकट स्रोतले चाहिँ पत्रकारहरूमाथि कुनै दुर्व्यवहार नगरिएको बतायो ।

‘मेयरज्यूको व्यस्तताका कारण उहाँहरूसँग बोल्न अस्वीकार गर्नुभएको हो । क्यामरा बन्द गर्न र फुटेज खिचिएको भए हटाउन पनि आग्रह गरिएको हो । तर, जबरजस्ती फुटेज डिलिट गरिएको छैन,’ स्रोतले भन्यो ।

पत्रकारले आफूले व्यक्तिगत प्रयोजनका लागि भिडियो खिचेको बताएपछि बालेनले क्यामरा बन्द गर्न अनुरोध गरेको पनि स्रोतको दाबी छ । तर, टेलिभिजनले चाहिँ हिमालयन टेलिभिजनको रिपोर्टर र क्यामरा पर्सन भएकैले बालेन्द्रले बन्देज लगाएको दाबी गरेको छ ।

पत्रकारहरूसँगै हिमालय टेलिभिजनको गाडी पनि विभाग परिसरबाट बाहिर निकालिएको थियो । त्यसपछि टेलिभिजनको अर्को टिम आएर पत्रकारमाथि मेयरले दुर्व्यवहार गरेको भन्दै भारतीय टेलिभिजनको शैलीमा लाइभ रिपोर्टिङ सुरु गर्‍यो । टेलिभिजनकर्मीले फेरि गेटभित्र छिर्ने प्रयास गरिन् तर सकिनन् ।

यसो भन्छन् प्रिन्स मिश्र

बायो प्लान्टमा कसरी फोहोर प्रशोधन गरिन्छ भनेर रिपोर्टिङका लागि गएका थियौँ । मेयर बालेन्द्रसँग भेट हुने अपेक्षा थिएन । तर, संयोगले उहाँ पनि आउनुभएपछि बाइट राख्न प्रयास गरेका हौँ ।

उहाँ फोहोर व्यवस्थापनको अनुगमनमा आउनुभएको थियो । हामीले कुराकानी गर्न खोज्नासाथ यसो हाम्रो क्यामरातिर हेर्नुभयो । बुम देख्नासाथै हिमालयन टिभी होइन रु भन्नुभयो । त्यसपछि एग्रेसिभ तरिकाले कसले छिर्न दियो ? भनेर प्रश्न गर्नुभयो । मैले अनुमति लिएर आएको बताएँ । उहाँले यिनीहरूलाई निकालिहाल्नुस् भनेर आदेश दिनुभयो । त्यसपछि उहाँको साथीले हामीलाई चेपी हाल्नुभयो । क्यामरा डाउन गर्न लगाउनुभयो । हामीलाई बाहिर निकालियो र गेट लगाइयो ।

पत्रकार महासंघ अध्यक्ष भन्छन् : निन्दनीय घटना

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सार्वजनिक ठाउँमा रिपोर्टिङ गर्न रोक लगाइनु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।

‘कुनै पनि तर्क र सिद्धान्तका आधारमा समाचारकर्मीलाई समाचार संकलनमा रोक लगाउने र श्रव्यदृष्य डिलिट गर्न लगाउनु प्रेस स्वतन्त्रको ठाडो उल्लंघन हो,’ उनले भनेका छन्, ‘यो निन्दनीय घटना हो ।’

उनले यस्तो हर्कत गर्नेलाई राज्यले पनि एक्सन लिनुपर्ने भन्दै राज्यको ध्यानाकर्षण गराउने बताए ।


प्रतिक्रिया

2 thoughts on “मेयर बालेन्द्रले पत्रकारमाथि दुर्व्यवहार गरेकै हुन् ?

  1. कसरी हुन्छ बालेन्द्र शाहलाई फसाउने प्रपञ्च। झन हरेक कुराको पारदर्शिता हुनुपर्छ भन्ने मानसिकता भएको ब्यक्ति बाट यस्तो हर्कत भयोहोला भनेर कसरी पत्याउने। अलि होस पुर्याएर लेख ए पत्रुकार ज्यु।

  2. बालेन आफै त अनुगमन गर्न गयेको छ। उसले आफ्नो तरिकाले अनुगमन गर्न गयेको छ। तिमिहरुलाई चाइ जहाँ भेट्यो तेहि क्यामेरा तेर्साउनु पर्छ भन्ने छ र? काम गर्ने आ आफ्नो तरिका हुन्छ। मेयर काम जहाँ भेट्यो तेहि पत्रकारहरुलाइ इन्न्टरभ्यु दिदै हिडने हो कि आफ्नो काम पनि गर्ने हो।

Leave a Reply to जीवन खड्का Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर