अस्पतालबाट मन्त्री विमलाको प्रष्टीकरण- हिसाब मिलाउन एकराजको घर गएकी हुँ – Nepal Press

अस्पतालबाट मन्त्री विमलाको प्रष्टीकरण- हिसाब मिलाउन एकराजको घर गएकी हुँ

रुपन्देही । प्रेमीको घरमा गएर हर्कत गरेकी लुम्बिनी सरकार स्वास्थ्य राज्यमन्त्री विमला वली अहिले प्रादेशिक अस्पतालमा उपचाररत् छिन् ।

उनले आफू कारोबार मिलाउन एकराज बस्नेतको घरमा गएको बताएकी छन् ।

मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकका अनुसार वली बस्नेतको घर पुग्दा योजनाबद्ध रुपमा आफूलाई फसाइएकोले गर्दा थप मानसिक तनाब भएर बेहोस भएको उनले बताएकी थिइन् । मंगलबार राति दाङबाट आएपछि उनी एक्कासी बेहोस भएको अवस्थामा उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको माओवादी नेताहरूको भनाइ छ ।

विकले आफू अस्पतालमा पुगेर वलीलाई भेटेको बताएका छन् । ‘लगेको पैसा फिर्ताका लागि धेरैपटक हिसाब मिलाउनको लागि आग्रह गरियो, कुनै सुनुवाइ भएन, सम्पर्कविहीन भएपछि गएर भेटेर नै मिलाउनको लागि गएको हुँ, त्यतिबेला नै योजनाबद्ध तरिकाले नै मलाई फसाउने काम गरियो । मैले मेरो सुरक्षा, स्वकीयसहितको टिम लगेर गएको थिएँ । हामीलाई च्यानल गेट बन्द गरियो ‘, विमलाको भनाइ उद्धृत गर्दै विकले भने ।

आफू संयमित हुँदाहुँदै पनि एकराजकै योजनामा एकराजको दाजु वीरेन्द्र बस्नेतले योजनाबद्धरूपमै तयारी गरेको, हाम्रो पनि पावर छ भन्दै पत्रकार, सुरक्षाकर्मी बोलाएर आफूलाई झन् गालीगलौज गरेको उनको दाबी छ । आफूलाई लगाएको आरोपमा आफूलाई बदनाम गर्न र नभएको १ करोड रुपैयाँ र सुन चोरीको आरोप लगाएको उनले बताएको विकले जानकारी दिए ।

आफूले सामान्य रुपमा हिसाबकिताब मिलाउनको लागि गरिएको आग्रहमा पनि आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्नका लागि गरिएको प्रक्रिया अस्पतालको बेडबाट बताएकी छन् । पैसा लिएर एकराजले कारोबार बिगारेको उनले बताएकी छन् । मन्त्री बनाएर मैले के पाएँ ? भनेर बारम्बार पीडा दिइरहेको उनले बताएको विकले बताए ।

माओवादी निकटका केही सांसद तथा नेताले उनलाई अस्पतालमा भेटेर कुराकानी गरेका छन् । विमला जोगाउन सरकार नै लागेको र यसमा अस्पताल प्रशासनसमेत मुछिएको टिप्पणी हुन थालेको छ । अस्पतालका कर्मचारी, डक्टर तथा मेसुले दिएका अलग अलग प्रतिक्रिया, भर्ना समय र उनको अवस्थाका बारेमा बाहिरिएका भनाइले उनलाई तेस्रो पक्षसँग भेट गर्न रोकिएको प्रष्ट हुन्छ ।

बाहिरी पत्रकारहरु जाँदा स्लाइन दिएर अस्पतालको १ नम्बर क्याबिनमा सुतेको अवस्थामा रहेकी उनी कुनै प्रतिक्रिया दिन नसक्ने बताएपनि वलीले आफूनिकटका पत्रकारलाई दाङ तुलसीपुरका एकराज बस्नेतले आफूसँग सापटी लगेको पैसा बारम्बार दिन अनुरोध गर्दा पनि नदिई सम्पर्कविहीन बनेपछि पैसाको कारोबार मिलाउन एकराजको घर पुगेको बताएकी छन् ।

उनलाई सहयोग गर्दै आएकी प्रदेशसभा सदस्य दामा शर्माले राज्यमन्त्री विमलाले आफूलाई विभिन्न तनावको कारण बेहोस भएकाले उपचारको लागि अस्पतालमा राखिएको बताइन् । उनको स्वास्थ्य अवस्था बुझ्न माओवादी संसदीय संसदीय दलका प्रमुख सचेतक बसन्त घर्तीमगर अस्पताल पुगेको र अवस्था सुधारात्मक रहेको बताए ।

अस्पतालमा भर्ना गरिएपनि कसैलाई भेट्न दिइएको छैन । अस्पतालका मेसु इन्द्र ढकालले मन्त्री वली बेहोस अवस्थामा अस्पताल आएको र क्याबिनमा भर्ना भएको बताएका छन् ।

विमला वली एकराजको घरमा गएर कुटपिट गरेको घटना छानबिन गर्न आज प्रदेश सरकारले समिति गठन गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर