निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा निकै कम बजेट : मन्त्री आले – Nepal Press

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा निकै कम बजेट : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेमगरले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको बजेट विनियोजन निकै कम रहेको बताएका छन् ।

प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि प्रारम्भिक लागत १ खर्ब २० अर्ब अनुमान गरिएको छ,’ उनले भने, ‘तर आव २०७९÷८० का लागि विनियोजन बजेटमा यसमा जम्मा २६ करोड विनियोजन भएको छ । जुन निकै न्यून बजेट हो, अर्थमन्त्रालयले थप बजेट गर्नेछ भन्ने विश्वास छ ।’

विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले डिजाइन कार्य गरिरहेको र योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा निर्माण मोडालिटी सम्बन्धी सिफारिस समिति बनेको मन्त्री आलेले बताए ।

यस्तै आठ हजार पचास हेक्टर जग्गा अधिकरण गर्नुका साथै नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत तीन अर्ब लगानी गरिसकेको पनि उनले संसद्लाई जानकारी दिए ।

यस्तै विमानस्थललाई राजधानी काठमाडौंसँग जोड्नका लागि निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणका लागि सरकारले दुई खर्ब खर्च गरिसकेको पनि मन्त्री आलेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर