सिसडोलमा कमजोरी भएको स्वीकार्दै झाँक्रीले भनिन्- बञ्चरेमा दोहोरिन्न – Nepal Press

सिसडोलमा कमजोरी भएको स्वीकार्दै झाँक्रीले भनिन्- बञ्चरेमा दोहोरिन्न

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिसडोलबासीले काठमाडौंको फोहोरका कारण दुर्दशा भोग्नुपरेको स्वीकारेकी छन् ।

प्रतिधिनिसभामा चलिरहेको विनियोजन विधेयकमाथिको छलफलका क्रममा आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् ।

‘मुलपानीबाट सिसडोल गयौँ जहाँ दुई वर्षको लागि ल्याण्डफिल्ड साइट बनाइएको थियो । १७ वर्ष फोहोर खसाइराख्यौं,’ मन्त्री झाँक्रीले भनिन्,‘बञ्चरेडाँडामा स्थायी सेनिटरी रिकोभरी ल्याण्डफिल्ड साइट बनाउने काम सुरू गरिएको थियो । काम सुस्त थियो, काम हुने अवस्था थिएन् ।’

यसमा सरकार पक्षकै कमजोरी बढी रहेको उनले दोहोर्‍याइन् । ‘स्थानीयले अवरोध गरेका थिए । स्थानीयसँग प्रत्येक खेप सम्झौता गरेको तर कार्यान्वयन भएको थिएन्,’ उनले भनिन् ।

यसपटकको सम्झौता अनुसार असार मसान्तमा बञ्चरेडाँडाको काम सम्पन्न हुने मन्त्री झाँक्रीले बताइन् । उनले भनिन्, ‘हामीले सम्झौता गर्‍यौं, क्याबिनेटमा छलफल गर्‍यौं । अब असारमसान्तसम्म काम सम्पन्न हुन्छ ।’

१७ वर्ष सिसडोलमा फोहोर खसाल्दै गर्दा त्यहाँका स्थानीयले कहालीलाग्दो अवस्था भोग्नुपरेको उनले बताइन् ।

‘स्थानीयका समस्या, त्यहाँको जनजीवन, त्यहाँको कहालीलाग्दो अवस्था, दुर्दशाहरू सिर्जना भए,’ उनले भनिन्, ‘त्यसलाई सम्बोधन गर्नका लागि अहिले हामीले व्यवस्थित प्रयासहरू गरेका छौं ।’

सिसडोलमा तत्काल अस्पताल बनाउने विषयमा काम भइरहेको मन्त्री झाँक्रीले बताइन् । ‘स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार १० बेडको अस्पताल यथाशीघ्र बनाउनका लागि एक महिनाभित्रै प्राविधिक अध्ययन प्रतिवेदन ल्याउनका लागि टोली बनाएका छौं ’, झाँक्रीले भनिन् ।

त्यसका लागि स्वास्थ्य मन्त्रालय, महानगरको स्वास्थ्य विभाग, सहरी विकास मन्त्रालय, धुनिवेशी र ककनीका प्रतिनिधि राखेर प्राविधिक समिति बनेको उनले सदनलाई जानकारी दिइन् ।

सरकारले सिसडोलको दु:खान्त कथाको तत्काल अन्त्य चाहेको मन्त्री झाँक्रीले बताइन् ।

‘आजसम्म त्यहाँ डाक्टर रहेनन्, अस्पताल रहेन्, सिटामोल रहेन् । तर, पुलिस र गोली रह्यो भन्ने कथाको पनि अन्त्य गर्न चाहन्छौं,’ उनले भनिन्,‘सिसडोलको कथालाई पुनरवृत्ति नहुनेगरी बञ्चरेमा फोहोर विसर्जनको प्रयास सुरू गरेका छौं ।’

बञ्चरेडाँडामा ल्याण्डफिल्ड साइट निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताइन् । यस्तै सेल १ मा सञ्चालनमा ल्याइसकेको बताउँदै उनले भनिन्,‘वैज्ञानिक विसर्जन भइरहेको दृश्य पनि काहीँकतै देखिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर