राप्रपाका प्रवेशको चर्चा नकार्दै रवीन्द्र मिश्रले भने- म एक्लै कतै जोडिएर रुपान्तरण सम्भव छैन – Nepal Press

राप्रपाका प्रवेशको चर्चा नकार्दै रवीन्द्र मिश्रले भने- म एक्लै कतै जोडिएर रुपान्तरण सम्भव छैन

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राप्रपा प्रवेश गर्न लागेको चर्चा झूटो भएको बताएका छन् । यद्यपि, सशक्त शक्ति निर्माण हुने किसिमको कुनै पनि एकीकरण वा ध्रुवीकरणमा आफ्नो चासो रहेको उनको भनाइ छ ।

देशलाई शिरमा राख्ने र नेपाली समाजको भावनालाई नेतृत्व गर्ने ‘मडरेट कन्जर्भेटिभ’ पार्टीको यो देशमा सख्त अभाव रहेको मिश्रले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छने, ‘देशको एउटा प्रमुख पार्टीको ‘विकृत वामपन्थीकरण’ भएपछि नेपाली राजनीतिमा त्यो ‘स्पेस’ पूरै खाली छ ।’

जतिसुकै विकसित भए पनि हरेक देशमा अर्थ-राजनीतिकरूपमा ‘कल्याणकारी एजेण्डा’ बोकेका तर राजनीतिक-सामाजिकरूपमा ‘मडरेट कन्जर्भेटिभ स्पेस’ लाई सशक्तरूपमा प्रतिनिधित्व गर्ने पार्टी हुने मिश्र बताँछन् । तर, नेपालमा अहिले त्यस्तो पार्टी नरहेको उनको भनाइ छ ।

‘त्यसैले, समाज र राजनीतिलाई सन्तुलनमा राख्न र यो देशलाई बढ्दो भूराजनीतिक भुमरीबाट जोगाउन ‘राष्ट्रियता’ को जगमा एउटा रूपान्तरणकारी शक्ति निर्माणका लागि म पहिलेदेखि नै एकीकरण/ध्रुवीकरणको पक्षमा भएको मैले लुकाएको छैन,’ उनले लेखेका छन् ।

मिश्र थप्छन्, ‘म एक्लै कतै जोडिएर त्यो सम्भव छैन तर सशक्त शक्ति निर्माण हुने किसिमको कुनै पनि सम्मिलन/एकीकरण/ध्रुवीकरणमा भने मेरो चासो कायमै रहने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर