शान्ति समाज र राप्रपाले गर्‍याे स्वास्थ्य राज्यमन्त्री बर्खास्तीको माग – Nepal Press

शान्ति समाज र राप्रपाले गर्‍याे स्वास्थ्य राज्यमन्त्री बर्खास्तीको माग

रुपन्देही । मानव अधिकार तथा शान्ति समाजले लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई बर्खास्तीको माग गरेको छ ।

शान्ति समाजका अध्यक्ष गोविन्द खनालले कानुन कार्यान्वयन गर्ने निकायमा बसेको व्यक्ति आफ्नो सुरक्षाकर्मीसहित सर्वसाधारणको घरमा पुगेर अराजक गतिविधिमा उत्रिएका विषय बाहिर आएकाले तत्काल बर्खास्ती गरेर छानविन गर्नुपर्ने बताएका छन् ।

‘उहाँ आफै कानुन कार्यान्वयन गर्ने निकायमा हुनुहुन्छ, उहाँको नाम जोडिएको व्यक्तिको घरमा पुगेर त्यो खालको हर्कत गरेको विषय बाहिर आउँदा नैतिक रुपमाले मन्त्री पदमा बस्न मिल्दैन, कानुनको शासन भएको देशमा यस्ता गैरजिम्मेवार व्यक्तिलाई तत्काल बर्खास्ती गरेर छानबिन गरिनुपर्दछ, कुनैपनि कारणले ती महिला र बच्चाले पिटाई खानु, अभद्र व्यवहार मन्त्रीबाटै पाउनु उचित होइन‘– खनालले भनेका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेश कमिटीले पनि स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई मन्त्री पदबाट बर्खास्त गरेर कानूनको दायरामा ल्याउन माग गरेको छ।

प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले विज्ञप्ति जारी गर्दै राज्यमन्त्री विमला खत्री वलीले सर्वसाधारणको घरमा पुगेर महिला र बालबालिकामाथि गरेको दुर्व्यवहारप्रति राप्रपा लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनलाई तत्काल बर्खास्ती गरी छानविनको माग गरिएको छ ।

विज्ञप्तीमा सरकारको मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट आचरणहीन व्यवहार गर्दासमेत मुख्यमन्त्री तथा प्रदेश सरकारको मौनता र स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल बर्खास्त गरी कार्वाही गर्नुको साटो अपराधीलाई ढाकछोप गर्ने प्रयास लज्जाको विषय बनेको उल्लेख गर्दै तत्काल मन्त्री पदबाट बर्खास्त गरी कानुनी कार्वाहीको दायरामा ल्याउन सरकारसँग माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर