नेकपा एसले निर्णय गरेर कार्यान्वयन नभएको ‘मन्त्री प्रकरण’ बारे भएन छलफल – Nepal Press

नेकपा एसले निर्णय गरेर कार्यान्वयन नभएको ‘मन्त्री प्रकरण’ बारे भएन छलफल

कैलाली । एक साता अघि नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठकले सरकारमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । तर, त्यो कार्यान्वयन हुन सकेन । आजको स्थायी कमिटी बैठकमा पनि यो विषयले प्रवेश पाउन सकेन ।

आज सबैभन्दा पहिले अध्यक्ष माधवकुमार नेपालले चुनावी समीक्षा प्रतिवेदन पेस गरेका थिए । त्यसपछि त्यही प्रतिवेदनमा केन्द्रित रहेर सम्मानित नेता भलनाथ खनाल बोले । आजको बैठकमा सात प्रदेशबाट इन्चार्ज र अध्यक्षहरूले पनि निर्वाचनबारे जानकारी गराएका थिए ।

यसअघि मन्त्री पठाउने र फिर्ता बोलाउने सचिवालयको निर्णयमा भने आज कुनै छलफल भएन । समय अभावका कारण उक्त विषयमा छलफल नभएको नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले बताए । उक्त विषयमा भोलि छलफल हुने उनको भनाइ छ ।

‘सचिवालयले गरेको निर्णय पारित गर्नु पर्छ भोलि त्यो पारित हुन्छ’, उनले भने ‘स्थायी कमिटीको बैठकले पनि पारित गरेपछि सरकारमा नयाँ मन्त्रीहरू फेरिन सक्छन् ।’

भवानी खापुङ स्वास्थ्य तथा जनसङ्ख्या, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा र हीरा केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनाउने भन्दै सचिवालयले निर्णय गरेको थियो ।

यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ मन्त्री थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्री नर्फेने बताएपछि नेकपा एकीकृत समाजवादीको निर्णय कार्यान्वयन हुन सकेको थिए । भोलि सचिवालयको निर्णय स्थायी कमिटीले पनि पारित गरे पछि मन्त्रीहरू फेरिन सक्ने आंकलन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर